विरामीलाई बासी जाउलो


धरान । पाठेघरमा समस्या भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा भर्ना भएकी इटहरी ४ की सुनिता कार्कीले आइतबार बिहानै केही खाने इच्छा जताइन् । उनका श्रीमान् विनोद कार्कीले करिब साढे पाँच बजे गाइनो परिसरमा रहेको क्यान्टिनबाट जाउलो लिएर आए । सुनिताले जाउलो एक चम्चा मुखमा के राखेकी थिइन्, ह्वास्सै गन्हायो । उनले खानै सकिनन् ।
विनोदले सोचे, विरामीको मुख नमिठो भएर खान नसकेको होला । तर, उनीहरुसँगै रहेका अन्य विरामीका आफन्तले पनि जाउलो गन्हाएको भनेपछि क्यान्टिनले विरामीलाई बासी खाना दिने गरेको रहस्य खुल्यो । कार्कीसहित केही विरामीका आफन्तहरु पनि क्यान्टिनमा गुनासो गर्न पुगे । उल्टै गाली खाए । विरामीलाई बासी खाना बिक्री गरेको भन्दै अन्य विरामीका आफन्तहरुले आक्रोश पोख्न थालेपछि स्थिति तनावपुर्ण बन्यो । प्रहरी आएर बासी खाना बिक्री गर्ने क्यान्टिनका कर्मचारीलाई पक्राउ गरेर लगेपछि स्थिति साम्य भयो । तत्कालै क्यान्टिन पनि बन्द भयो ।

‘श्रीमतिले जाउलो खाने इच्छा गरेपछि किनेर लगेको थिएँ, तर बासी भएकोले खानै सकिनन् । यहाँ आएर किन बासी बिक्री गरेको भन्दा उल्टै हामीलाई नै जही गए पनि केही गर्छ सक्दैनस भन्दै धम्की दियो’–कार्कीले भने–‘अस्पतालमा विरामीलाई दिने खाना यस्तो बासी बिक्री हुदो रहेछ, अस्पताल प्रशासनले किन अनुगमन नगरेको हो ?’ जनकपुरबाट आएका कैलाशकुमार सिंहले पनि बिहानै लगेको जाउलो बासी नै भएको बताए । कखानेकुराबारे केही गुनासो पोख्दा क्यान्टिन सञ्चालक र कर्मचारीहरुले उल्टै धम्क्याउने गरेको उनीहरु बताउछन् । क्यान्टिन सञ्चालक र कुरुवाले विरामीका कुरुवा स्थानीय हुन् कि बाहिरबाट आएको हो भनेर सजिलै चिन्ने र त्यही अनुसारको व्यावहार गर्ने गरेको विरामीका आफन्तहरुको भनाई छ । तीन दिन अघि एक विरामीका कुरुवालाई क्यान्टिनमा गिलासको चियाले प्रहार गरेको कुरुवा देवेन्द्र लिम्बूले बताए । ‘ताजा दिनुपर्ने जाउलो त बासी बेच्छन्, भने यहाँको समोसा, पाउरोटी, चपहरु सबै बासी र ढुडी नै छन्, हामीले त्यस्तो बिक्री नगर्नुस् भन्दा पनि मानेनन्’–उनले भने ।


विरामीलाई सेवा दिने नाममा खोलिएको क्यान्टिनले ज्यादै महंगोमा खानेकुरा बिक्री गरिरहेको पनि सर्वसाधारणहरुको गुनासो छ । अस्पताल प्रशासनले ध्यान नदिदा विरामीले ताजा र सफा खाना नपाएको उनीहरुको आरोप छ । गाइनो वार्डबाट अन्य होटल धेरै टाढा भएकोले विरामीका आफन्त त्यही क्यान्टिनमा भर पर्नुपर्ने बाध्यता छ । क्यान्टिनका सञ्चालक पवन अग्रवालले भने जाउलो बासी नभएको दाबी गर्दै दाल, चामल मिसाएर पकाएकोले अमिलो भएको बताए । ‘बासी होइन, राती पनि चल्ने भएकोले पकाउनुपर्छ । कुरुवालाई हतार भएकोले बिहान त्यही बिक्री गरेको हुनसक्छ’–उनले भने ।
अस्पताल प्रशासनले भने क्यान्टिन सञ्चालक अग्रवाललाई ताजा खानेकुरा मात्रै बिक्री गर्न कडा निर्देशन दिर्दै अन्तिम पटक मौका दिएको जनाएको छ । ‘स्टोरेज गर्ने सामान नभएकोले यस्तो भयो भन्यो, अस्पताल निर्देशकले स्टोरेज गर्नेबाहेक विरामीलाई ताजा खुवाउनुपर्ने खानेकुरा ताजा मात्रै बिक्री गर्न कडा निर्देशन दिनुभएको छ, फेरि गुनासो आयो भने कारबाही प्रक्रियामा जान्छौं’–बीपी प्रतिष्ठानका प्रवक्ता डा.पशुपति चौधरीले भने । पक्राउ परेका क्यान्टिनका कर्मचारीबारे इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले भने बासी खानेकुरा बिक्री गर्दै कुरुवालाई गालीगलौज, दुव्र्यवहार पनि गरेकोले सार्वजनिक अपराध अन्र्तगत मुद्दा चलाउने बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे