धरान एकेडेमीको लागि खेलाडी छनौट गरिदै


धरान । व्यावसायिक एवं क्षमतावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित धरान फुटबल क्लबले सञ्चालनमा ल्याएको धरान फुटबल एकेडेमीको लागि खेलाडी छनौट प्रक्रिया शुरु भएको छ । क्लबको युवा फुटबल परियोजनाअन्र्तगत दोस्रो ब्याज तयारीको लागि धरान १७ स्थित पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबारदेखि छनौट शुरु भएको हो ।
शनिबार भएको पहिलो चरणको छनौटमा ५० जना युवा खेलाडीहरु सहभागी थिए । ती मध्ये २६ जना मात्रै छनौट भएको संयोजक एवं क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए । उनका अनुसार सोमबार पुनः दोस्रो चरणको छनौट हुनेछ । ‘त्यसपछि पहिलो र दोस्रो चरणबाट छनौट भएका खेलाडीहरुमध्येबाट एकेडेमीको लागि आवश्यक खेलाडी छनौट हुन्छ’–संयोजक तामाङले भने । छनौटमा १६ बर्षदेखि २३ बर्षका किसोर एवं युवा खेलाडीले भाग लिन पाउने आयोजकले जनाएको छ । एकेडेमीमा कम्तिमा २२ देखि २५ जना खेलाडीहरुलाई छनौट गर्ने क्लबले जनाएको छ ।
छनौट भएका खेलाडीहरु दुई बर्षसम्म क्लबले प्रशिक्षण दिनेछ । त्यसबीचमा एकेडेमीबाट मात्रै ती खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । अन्य क्लबहरुले क्लबसँग अनुमति लिएर मात्र ती खेलाडीलाई खेलाउन सक्नेछन् । खेलाडीहरुलाई आवश्यक खेल सामग्री, डाइट र प्रशिक्षकको व्यवस्था क्लबले नै गर्नेछ । ‘एन्फाको मैदानसम्म खेलाडीलाई आउन समस्या हुन्छ भनेर माउण्टेन बाइक दिलाउन प्रायोजकको खोजी गर्दैछौं’–संयोजक तामाङले भने ।
क्लबले परियोजनाअन्तर्गतको पहिलो ब्याच आर्थिक बर्ष ०६९÷०७० र ०७०÷०७१ मा राखेर एकेडेमी सञ्चालन गरेको थियो । उक्त ब्याचका ६ जना खेलाडीहरु राजधानीको बि डिभिजन क्लबमा आवद्ध भएर लिग पनि खेलेका थिए । बि डिभिजन क्लब च्यासलबाट ४ जना र ब्रिगेड ब्वाइजमा २ जना खेलाडी अनुबन्धित हुन सफल भएका थिए । ‘परियोजना र एकेडेमी सञ्चालनको उद्देश्य नै व्यावसायिक खेलाडी बनाउने र राष्ट्रिय तथा ए डिभिजन क्लबमा अनुबन्धित गराउने हो’–परियोजनाका सदस्य एवं एन्फा सुनसरीका उपाध्यक्ष नविन राईले भने–‘यो एकेडेमीको खेलाडीले आगामी बुढासुब्बा गोल्डकपमा पनि खेल्नेछ, र अन्य प्रतियोगिताहरुमा पनि भाग लिनेछ ।’

एकेडेमीका खेलाडी प्रशिक्षण दिलाउन मुख्य प्रशिक्षककोरुपमा सागर घिमिरे र सहायक प्रशिक्षककोरुपमा अर्जुन राई नियुक्त भएका छन् । दुई बर्षे अवधिको एकेडेमी सञ्चालन गर्न करिब साढे ६ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । एकेडेमीको लागि धरान नगरपालिकाले यसअघि बर्षेनी ४ लाख रुपैया उपलब्ध गराउदै आएको थियो । यसपटक पनि नगरपालिकाबाट ४ लाख आउने र क्लबले अढाई लाख रुपैया व्यहोर्ने संयोजक एवं महासचिव तामाङले बताए ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे