धरानमा पर्यटन गुरुयोजना नारामा सिमित

धरान । ‘शिक्षा स्वास्थ्य पर्यटन व्यापारिक पूर्वाधार, बहुसाँस्कृतिक, आवसिय, समृद्ध शहर’ भन्दै धरान नगरपालिकाले पर्यटनलाई पनि विकासको एउटा आधार मानेको डेढ दशक भइसकेको छ । तर, सरकारी एवं सरोकारवाला निजी क्षेत्रले योजनावद्धरुपमा काम नगर्दा प्रचुर सम्भावना भएर पनि यहाँको पर्यटनले गति लिन सकेको छैन ।
नगरपालिकाले ०५५ सालदेखि नै पर्यटनलाई आफ्नो ‘भिजन’मा समेटेको थियो । तर, भिजन पुरा गर्ने पर्यटनको ठोस योजना, कार्यक्रम ल्याउन सकेन । पर्यटन सम्बद्ध निजी क्षेत्रले पनि पर्यटन विकासको नेतृत्व लिन सकेको छैन । तर, यी दुवै निकाय पर्यटन फष्टाउन नसक्नुमा भने एक अर्कालाई दोषी देखाउछन् । निजी र सरकारी निकायबीच समन्वय एवं सहकार्य गर्न गठन गरिएको धरान पर्यटन नगर समिति निष्क्रिय छ । नगरपालिकाले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको बिजयपुर क्षेत्रको गुरुयोजना बनाउने भनेपनि यो योजना बषौंदेखिको थाति छ ।

सभा समारोहमा पर्यटनको नारा निक्कै घन्किने धरानमा एउटा पर्यटन सुचना केन्द्रसम्म पनि सञ्चालनमा छैन । यहाँका होटल तथा लजहरु ‘डे बिजनेस’ भन्दा माथि उठ्न सकेको छैन भने ट्राभल एजेन्सीहरु हवाई टिकट बिक्रीमै सिमिति छन् । धरानको विजयपुरगढीस्थित पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिर दर्शन गर्न दैनिक सयौ श्रद्धालु भक्तजनहरु आउछन् । यस्तै धरान हुदै भेडेटार पनि पुग्छन् । तर, ती आन्तरिक पर्यटकहरुलाई धरानमा बस्ने, धरान क्षेत्र, आसपासमा घुम्ने वातावरण यहाँका पर्यटन व्यावसायीहरुले तयार गर्न सकेका छैनन् । त्यसको लागि उनीहरुसँग पनि ठोस योजना एवं कार्यक्रम छैन ।
‘धरानको आर्थिक विकासको आधार पर्यटन मात्रै हो भनेर यहाँको नेतृत्व वर्ग, सरोकारवाला निकायले बुझ्न नसकेर हो’–सेक्ष ट्राभलिङसम्बद्ध पर्यटनकर्मी वासुदेव वराल भन्छन्–‘पर्यटनमा लगानी सुरक्षित र उपयुक्त छ, यहाँबाट पनि आम्दानी हुन्छ भनेर जनस्तरमा पनि बुझाउन सकेका छैनौं ।’ उनका अनुसार सरकारी निकायले शहरको सुन्दरता बढाउन पार्क, भ्यु टावर जस्ता सार्वजनिक पूर्वाधार निर्माणमा लगानी बढाउनुपर्छ । ती ठाउँमा बाटो, पानी, विजुली जस्ता सुविधा पुर्याउनुपर्छ । ठुला बजेटमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ । तर, धरानमा यी दुवै काम हुनसकेको छैन । सरोकारवाला निकाय उद्योग वाणिज्य संघले पनि लगानी गर्न प्रोत्साहन गर्ने र राज्यबाट सुविधा दिलाउन पहल गर्नुपर्छ भने होटल एशोसिएशान, ट्राभल एजेन्सीले प्रर्वद्धनसँगै पर्यटकसम्म पहुँच विस्तार गर्नुपर्ने वरालको भनाई छ ।


पर्यटनमा नगरपालिकाको लगानी हेर्ने हो भने शुन्य छ । चालु आर्थिक बर्षमा २ लाख ३५ हजार रुपैया बजेट छुट्याइएको छ । त्यो पनि एक लाख रुपैया पिण्डेश्वर बाबाधाम, विष्णुपादुका र बराहक्षेत्र मेलाको लागि हो भने पर्यटन गोष्ठी गर्न ५० हजार, पर्यटन प्रर्वद्ध सामग्री उत्पादनमा ५० हजार र पर्यटकीय तथा साँस्कृतिक महोत्सवलाई ३५ हजार छुट्याइएको हो । पर्यटन पूर्वाधार शिर्षकमा बजेट नै छैन । विजयपुर क्षेत्रमा विराट क्षेत्र पर्यटन विकास समितिले लाखौंको लगानी गरेपनि ठोस उपलब्धी भने छैन । ‘मुख्य समस्या गुरुयोजना नहुदाकै हो, पर्यटन विकासको लागि कहाँ कहाँ के कस्तो संरचना बनाउने, कसरी बनाउने भन्ने ठोस योजना नै भएन’–नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने–‘पर्यटन बोर्डको निकायले पनि विजयपुरमा धेरै लगानी गरेको छ, तर योजना नहुदा नै लगानी धेरैतिर छरियो, त्यो गर्दा ठोस विकास र उपलब्धी पनि देखिएन ।’
पूर्वाधार लगानीले मात्रै पर्यटन विकास नहुने भन्दै खतिवडा अन्य सरोकारवाला निकायहरुमा पनि सामुहिक प्रयासको अभाव खट्किएको बताउछन् । यहाँका ट्राभल एजेन्सी, यातायात व्यवसायी, होटल व्यावसायी, उद्योग वाणिज्य संघबीच पर्यटन विकासबारे समन्वयको अभाव रहेको उनको भनाई छ । सुनसरी उद्योग वाणिज्य संघअन्र्तगतको पर्यटन उपसमितिका संयोजक महेन्द्र प्रधान भने जिविस, नगरपालिकाले पर्यटनलाई चासो नगरेको बताउछन् । नगरपालिकामा पर्यटन तथा सँस्कृति शाखाको माग गरिएपनि वेवास्ता भएको उनको भनाई छ । ‘हामीसँग भिजन छ, त्यसको लागि अल्पकालीन, दिर्घकालीन गुरुयोजना बनाऊ भनेर नगरपालिकालाई भन्यौं, एउटा पर्यटन तथा सँस्कृति शाखा बनाउ भन्यौं वास्तै गरेनन्’–होटल व्यावसायी महासंघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका प्रधानले भने–‘सरोकारवालाहरुलाई एक ठाउँमा ल्याएर घच्घच्याउने काम पनि त सरकारी निकायले गर्नुपर्छ ।’

धरान नगरपालिकाले ०५५ सालदेखि पर्यटनलाई भिजनकोरुपमा समेटेपनि यहाँ पर्यटनको चर्चा भने तीसको दशकदेखिनै हुनथालेको हो । जानकारहरुका अनुसार वि.स.२०३० सालमा गोविन्द मोक्तान प्रधानपञ्च हुदा धरानको गाइड बुक प्रकाशित भएको थियो । त्यसमा कहाँ कति होटल छन्, मठमन्दिर कति छन्, दोकान, स्कुल, सिनेमा घरलगायत सबैको जानकारी समेटिएको थियो । त्यसपछि पथिक कवि लक्ष्मीप्रसाद आचार्यले देशको माटो,देशको ढुंगा भाग १ र भाग २ मा सुनसरी जिल्लाभरिको पौराणिक, ऐतिहासिक मठमन्दिरबारे प्रमाणसहित प्रकाशित गरे । धरानको पिण्डेश्वर, विष्णुपादुका र बराहक्षेत्र मन्दिरमा मेला लाग्न शुरु भएको श्रेय उनैलाई जान्छ । पछि ०५५ सालमा नगरपालिकाले भिजनमा समेटेपछि धरानमा पर्यटन विकास एवं प्रर्वद्धनले गति लिएपनि जनप्रतिनिधिविहिन भएपछि भने सुस्ताउदै गएको हो । ‘नगरपालिकोल पर्यटनलाई भिजनमा समेटेपछि गति लियो, महोत्सव, सडक उत्सव मात्रै होइन, विभिन्न चोक चोकमा उत्सवहरु भए । तर, विस्तारै यो क्रम हराउदै गयो’–पर्यटनकर्मी वराल भन्छन्–‘अहिले हामी पर्यटनमा पथिक कविको श्रेयको मात्रै भाग खाइरहेका छौं ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे