मौखिक उजुरी परेपछि ग्याँस डिलरमा छापा, प्रमाण नभेटिएको दाबी


धरान । खाना पकाउने एल.पी.ग्याँस बिक्रीमा उपभोक्तालाई ठगी गरेको मौखिक उजुरी परेपछि बिहिाबार प्रहरी–प्रशासनको संयुक्त टोलीले धरान ४ स्थित रिजालको ग्याँसको डिलरमा छापा मारेको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा इलाका प्रहरी र इलाका प्रशासन कार्यालयले धरानका व्यापारी राजेन्द्र शाहले सञ्चालन गरेको बाबा इन्टरप्राइजेजमा छापा मारेको हो । उजुरीकर्तासहित पुगेको प्रशासनको टोलीले बढी मुल्यमा बिक्री गरेको प्रमाणको अभाव भन्दै व्यापारी शाहलाई कारबाही भने गरेन । आइन्दा बढी मुल्यमा ग्याँस बिक्री नगर्ने, गरेको भेटिएमा कानुनी कारबाही गर्ने व्यहोराको कागजमा व्यापारीलाई सहीछाप गराएर सरकारी टोली फिरेको थियो ।
इलाका प्रशासन कार्यालय धरानकी अधिकृत ज्योत्सना भट्टले उजुरीकर्ताले एक हजार ६ सय ५० रुपैयामा ग्याँस किनेको दाबी गरेपनि उनको साथमा बिलभर्पाइ एवं प्रमाण भेटिएन । यस्तै, व्यापारी शाहबाट पनि बढी मुल्यमा बिक्री गरेको विल फेला नपरेको भट्टले बताइन् । ‘उजुरीकर्ताले १६ सय ५०मा किनेको भनेपनि दुवैबाट विल, प्रमाणहरु भेटिएन, त्यसैले आइन्दा धेरै मुल्यमा बिक्री नगर्ने र गरेको भेटिए कानुनी कारबाही गर्ने कागजात गराएर छोड्यौं’–अधिकृत भट्टले भनिन् ।

व्यापारीहरुले एक हजार ४ सय ५० रुपैयामा उपभोक्तालाई बेच्नुपर्ने ग्याँस एक हजार ८ सय रुपया मागेको भन्दै धरान १२ चतरालाइनका अनिल श्रेष्ठले सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोनबाट उजुरी गरेका थिए । उनको उजुरीलगत्तै प्रजिअ रविराज पन्थले इलाका प्रशासन कार्यालयलाई छापा मार्न निर्देशन दिएका थिए । उजुरीकर्ता श्रेष्ठका अनुसार यसअघि उनले व्यापारी शाहबाट तोकिएको भन्दा बढी १ हजार ६ सय ५० रुपैया मुल्य तिरेर ग्याँस लैजाने गरेका थिए । बिहिबार भने १ हजार ८ सय रुपैयामा मात्रै बिक्री गर्ने भनेपछि प्रजिअलाई फोन गरेर उजुरी गरेको श्रेष्ठले बताए । ‘पहिलादेखि नै १६ सय ५० रुपैयामा लैजाने गरेको थिएँ, आज भने १८ सय भन्यो र सिडिओलाई फोन गरे । मसँग विल चाहि छैन’–उजुरीकर्ता श्रेष्ठले भने ।
केही महिनायता व्यापारीहरुले कृत्रिम अभाव सृर्जना गरेर उपभोक्ताहरुलाई ठगी गर्दै आइरहेका छन् ।                                  उद्योगबाटै ग्याँस कम पठाएको भन्दै डिलरहरुले महिना दिनसम्म पनि उपभोक्तालाई ग्याँस वितरण गरेका छैनन् । डिलरबाट ग्याँस नपाए पनि खुद्रा पसल तथा किराना पसलहरुबाट भने २२ सय रुपैया तिर्दा तत्कालै ग्याँस पाउने उपभोक्ताहरुको गुनासो छ । ग्याँस डिलरले मिलेमतोमा खुद्रा पसलेमार्फत महंगोमा ग्याँस बिक्री गरिरहेको उनीहरुको भनाई छ । एउटा ग्याँस सिलिण्डर लिन घण्टौंसम्म पर्खन उपभोक्ता बाध्य छन् । यसअघि प्रहरी प्रशासनले अनुगमन गर्दा उपभोक्ताहरुबाट यस्ता गुनासोहरु पाएपनि कुनै व्यापारीलाई कारबाही भने भएको छैन ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे