जानकी पथबाट सफा धरानः हाम्रो अभियानको शुरुवात(फोटोफिचर)
धरान । धरान नगरपालिकालाई वातावरण मैत्री नगरपालिका बनाउन सफा धरान: हाम्रो अभियान कार्यक्रम शुरुवात गरिएको छ । धरान १३ स्थित जानकी पथमा एक कार्यक्रम आयोजना गर्दै नगरपालिकाले वातावरणमैत्री स्थानीय शासन प्रारुप ०७० लाई कार्यान्वन गर्न अभियानको शुरुवात गरेको हो ।
उक्त अभियान शुरुवातको घोषणा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीले विरुवामा पानी हालेर गरेका थिए । जानकी पथ सामुदायिक टोल सुधार समितिले वातावरण सरसफाई तथा फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएकोले त्यही टोलबाट अभियानको शुरुवात गरेको नगरपालिकाले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रविराज पन्थले सबैले तोकिएको जिम्मेवारी पुरा गर्ने र कानुनको पालना गरेमा समाजमा शान्ति सुव्यवस्था, सुशासन र विकास हुने धारणा व्यक्त गरे । नगरपालिकाका सामाजिक विकाश शाखाका अधिकृत सुनिल नेपालका अनुसार अभियानलाई धरानका २३ वटै वडामा क्रमशः विस्तार गर्दै लगिनेछ । उनका अनुसार प्रारुपअन्र्तगत सरसफाई र स्वास्थ्य, नवीकरणीय उर्जा, हरियाली शहर र खानेपानी गरि वातावरणमैत्री स्थानीय शासनका आधारमुख ४ सुचक छन् । ‘यी नै सुचकहरुको आधारमा घरलाई स्टिकर दिइन्छ । सबै घरमा स्टिकर भएपछि टोल वातावरण मैत्री हुन्छ र वडाका सबै घरमा स्टिकर भएपछि वडा, सबै वडा भएपछि नगर वातावरणमैत्री हुन्छ’–अधिकृत नेपालले भने । सोही कार्यक्रममा नगरपालिको टोल सुधार समितिलाई फोहोर उठाउने ५ थान ह्विल ब्यारो पनि हस्तान्तरण गरेको छ ।
०७१ जेठ १० गते गठन भएको जानकी पथ सामुदायिक टोल सुधार समिति गठन भएको थियो । एक सय ६५ घर घुरी रहेको समितिले हरेक शनिबार टोल सरसफाई गर्छ भने घरबाट निस्कने फोहोर मैलालाई पनि उचित व्यवस्थापन गर्ने गरेको छ । नगरपालिकाको फोहोर उठाउने गाडी आएपछि टोलमा साइरन बज्छ, र सबैले घरबाट फोहोर निकलेर गाडीमा लगाउछन् । समितिले स्कुलमा डस्टबिन वितरण गरेर फोहोर मैला जथाभावी नफल्न पनि सचेतना गराउदै आएको छ । टोलमा कुकुरलाई बाहिर दिसा गराउन प्रतिबन्ध लगाइएको छ । त्यसरी गरे सम्बन्धित व्यक्तिले नै उठाएर लैजानुपर्ने नियम बनाइएको अध्यक्ष दिलिप श्रेष्ठले बताए ।
Comments
Post a Comment