माघ पहिलो साता भोजपुरमा सुन्तला महोत्सव



धरान । पूर्वी पहाडी जिल्ला भोजपुरलाई सुन्तला क्षेत्रकोरुपमा पहिचान दिलाउने उद्देश्यले माघ पहिलो साता तीन दिने सुन्तला महोत्सव आयोजना गरिने भएको छ ।
छिनामखु सरोकार समाजको आयोजनामा माघ १, २ र ३ गते तिम्मा गाविसमा महोत्सव आयोजना हुन लागेको हो । तीन दिने महोत्सवमा जिल्लामा उत्पादन भएको सुन्तलाको प्रर्दशनीसँगै किसानहरुलाई चेतनामुलक विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिने समाजले जनाएको छ । ‘त्यसक्षेत्रमा उत्पादन भएको सुन्तलाको प्रर्दशनी त छदैछ, त्यसबाहेक प्रांगारिक मल कसरी बनाउने, बेर्ना कसरी सार्ने र रोग लागेमा के गर्ने भनेर सुन्तलाका विज्ञ र किसानबीच अन्र्तक्रिया पनि गराउछौं’–धरानमा आयोजित पत्रकार सम्मेलनमा समाजका महासचिव दिवस कोयुले भने–‘किसानहरुको समस्या समाधान गर्ने र सुन्तलालाई अधिकतम उपयोग गर्दै जुस, पफ्युम लगायत उत्पादन गर्ने बिषयमा पनि छलफल हुनेछ ।’


सुन्तला उत्पादनको लागि छिनामखु र तिम्मा गाविसको हावापानी उपयुक्त भएकोले महोत्सवले स्थानीयलाई सुन्तला खेती गर्न प्रोत्साहन गर्ने र आयआर्जन बृद्धिमा सघाउ पुर्याउने आयोजकको भनाई छ । साथै, २० बर्षभित्र भोजपुरलाई नमुना सुन्तला क्षेत्र बनाउने लक्ष्य लिएर महोत्सव आयोजना गर्न लागिएको महासचिव कोयुले बताए । उनका अनुसार माघ पहिलो सातासम्म सुन्तला बोटमा नै राखिदिन गाउँबासीलाई आग्रह गरिएको छ ।  महोत्सवले ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने अपेक्षा पनि लिएको आयोजकले जनाएको छ । महोत्सव आयोजनाले पैदल मार्गबाट पर्यटकहरुलाई सोलुखुम्बुस्थित सगरमाथातर्फ जाने रुटको खोजी गर्न पनि मद्दत पुर्याउन आयोजकको अपेक्षा छ ।
महोत्सव आयोजनास्थलमा करिब डेढ दशकअघिसम्म माघ १ गते ठुलो मेला लाग्ने गथ्र्यो । उक्त मेलालाई निरन्तरता दिने उद्देश्यले पनि त्यहाँ सुन्तला महोत्सव आयोजना गरिन लागेको समाजले जनाएको छ । महोत्सव आयोजना स्थल भोजपुरको तिम्मा गाविस ९ अवस्थित पिखुवा र हिखुवा खोला दोभानस्थित किरातेश्वर पशुपतिनाथ प्रांगण हो । यो तिम्मा, छिनामखु, सिद्धेश्वर, अन्नपुर्ण, नागी र खावा गाविसको बीच भागमा पर्छ । आयोजनास्थल भोजपुर सदरमुकादेखि करिब १० किलोमिटर पश्चिम र खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारदेखि ६४ किलोमिटर पूर्व मध्यपहाडी लोकमार्गमा पर्छ । यहाँ घुर्मी, जयरामघाट, हलेसी र दित्तेल हुदै एक दिनमा पुगिन्छ भने धरानदेखि हिले, लेगुवा र भोजपुर हुदै पनि एकै दिनमा पुग्न सकिन्छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे