दुर्घटनाले चुडायो सपना


धरान । चाक्फारा गाविस फुङनाम ३, इलामकी ३१ बर्षीय सरस्वती श्रेष्ठ वैदेशिक रोजगारीमा जाने चाहना थियो । गएको बुधबार उनी एक मेनपावर कम्पनीमा अन्र्तवार्ता दिन सुनसरीको इटहरी आउदै थिइन् । मोरङको भाउन्नेमा भएको सडक दुर्घटनाले भने उनको सुनौलो भविष्यको योजनासँगै जिन्दगी पनि भताभुङ बनाइदियो ।
काकडभिटाबाट धरान आउदै गरेको यात्रुबाहक बसमा उनी दमकबाट चढेकी थिइन् । दुर्घटनामा उनी गम्भीर घाइते भइन् । अहिले उनी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन् । उनको देब्रे हात पुरै गुमेको छ । देब्रे आँखा र टाउकोको देब्रे पाटोमा पनि गम्भीर चोट लागेको छ । शरीरको आधा पाटो(देब्रोतिर) पट्टी बाँधेकोले घाउको अवस्था न विरामीलाई थाह छ न उनका आफन्तजनले नै देख्न पाएका छन् । गम्भीर हालतमा अस्पतालको बेडमा रहेकी उनी बेला बेला सुक्सुकाउछिन् । ‘म बच्छु कि मर्छु भनेर सोध्नुहुन्छ, देब्रे हात छैन, आँखा पनि रहेन भन्दा रुनुहुन्छ’–सरस्वतीकी बहिनी दमन्त श्रेष्ठले भनिन् ।
घाइते श्रेष्ठ करिब दुई बर्षअघि पनि कुवेत गएकी थिइन् । तर, त्यहाँ उनी ७ महिनाजति मात्रै टिकिन् । घरकी माइली छोरी उनी अविवाहित छिन् । बुधबार मध्याह्न बाह्र बजेतिर दुर्घटना भएपनि परिवारजनले भने राती मात्रै थाह पाएका थिए । बहिनी दमन्तका अनुसार डाक्टरहरुले उनको ज्यान बचाउनु नै सफलता भएको बताएका छन् । ‘डाक्टरहरुले ज्यान बचाउन सक्यौं, यही खुशीको कुरा हो भनेका छन्, पट्टी बाँधेकोले शरीर कस्तो छ देख्न पाएका छैनौं’–उनले भनिन् ।
.............

                                          टिमवर्कले बचाउन सफल: चिकित्सक 


दुर्घटनामा गम्भीर घाइते भएकी श्रेष्ठलाई दिउँसो करिब २ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको थियो । त्यसबेला उनको देब्रे हात छतविछत् भइसकेको थियो भने रक्तस्राव पनि भइरहेको थियो । हातमा माटो दलिएकोले इन्फेक्सन हुने र रक्तस्रावले प्रेसर कम भएर घाइते ‘सक’मा पुग्ने खतरा थियो । निधारदेखि मासु सोहोरिएर टाउकोमा थुप्रिएको थियो । चिकित्सकीय भाषामा यस्तो केसलाई पोलिट्रमा भनिन्छ ।
बीपी प्रतिष्ठानमा दुर्घटनामा गम्भीर घाइते भएकाहरु आइरहने भएपनि यस्तो घटना भने कमै आउने जेनरल प्राक्टिस एण्ड इर्मेजेन्सी मेडिसिन विभागका प्रमुख डा.ज्ञानेन्द्र मल्लले बताए । ‘आकस्मिक कक्षमा ल्याइपुर्याउदा अवस्था खतरापुर्ण थियो, घाइतेको आफन्त वा मान्छे भने कोही पनि थिएन’–प्रमुख डाक्टर मल्लले भने–‘तरपनि तत्कालै एक्स रे, सिटिस्कान गरायौं, आवश्यक सबै विभागलाई तयार पारेर ल्याएको एक घण्टामा सिधै अप्रेशनमा छिरायौं ।’ उनका अनुसार न्युरो सर्जरी, हाडजोर्नी, आँखा र जेनरल सर्जरीका चिकित्सकहरु एकै पटक आकस्मिक कक्षको अप्रेशन कक्षमा भेला भएर शल्यक्रिया गरिएकोले श्रेष्ठको ज्यान बचेको हो । प्रतिष्ठानस्थित प्रहरी, रेडक्रस सोसाइटीको ब्लड बैंक र अस्पताल प्रशासनले पनि ठुलो सहयोग भएको उनले बताए ।
‘विरामीको मान्छे नहुदा पनि एक्स रे, सिटिस्कान र अप्रेशन गर्न प्रशासनले सहयोग नदिएको भए,आवश्यक ब्लड तत्काल नदिएको भए, सबै विभागका डाक्टरहरु उपलब्ध नभएको भए उनको ज्यान बचाउन पनि गाह्रो थियो’–डाक्टर मल्लले भने–‘घटनास्थलमै जे जति क्षति हुनुथियो भइसकेको थियो, यहाँ टिमवर्कले गर्दा नै ज्यान जोगाउन सफल भयौं ।’ उनका अनुसार ३ बजे शुरु भएको अप्रेशन साढे चार घण्टामा सकिएको थियो । विगतमा यस्ता विरामी अन्यत्र रिफर हुदै आएपनि प्रतिष्ठानमा भर्खर डि.एम.गरेका न्युरो सर्जन डा.गुणराज पौडेल आएपछि धेरै राहत मिलेको डा. मल्लले बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे