इष्र्टन ओपन शुरु, पहिलो दिन सञ्जय लामा अग्रस्थानमा(फोटोफिचर)

प्रतियोगितामा पहिलो स्थानमा रहेका सञ्जय लामा ।
धरान । चार दिने सुर्य नेपाल इष्टर्न ओपन २०१४ को पहिलो दिन ५ अण्डर ६५ स्कोर गर्दै सञ्जय लामा पहिलो स्थानमा रहन सफल भएका छन् । निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा पहिलो दिन सञ्जयले फ्रन्ट नाईनमा ३ अण्डर ३२ स्कोर गरे । उनले तेस्रो, चौथो र सातौं होलमा बर्डी खेल्दै ३ स्ट्रोक जोगाए । ब्याक नाईनमा २ अण्डर ३३ स्कोर खेल्ने क्रममा उनले पार ४ को १८ औं होलमा इगल गरे ।
पहिलो दिनको खेल सोचेअनुरुप राम्रो भएको प्रतिक्रिया दिदै लामाले दोस्रो दिन प्रर्दशनलाई निरन्तता दिने बताए । फ्रन्ट नाइनको ५ औं होलमा पार खेलेका उनले एजबाटै वर्डीको मौका गुमाएका थिए भने १८ औं होलको इगल प्रहारलाई उत्कृष्ट  सट भएको बताए । ‘आज ड्राइभ, चिप र पट सबै राम्रो भयो, भोली पनि यही प्रर्दशनलाई निरन्तरता दिन कोसिस गर्नेछु’–उनले भने । यस्तै, सुर्यप्रसाद शर्मा ४ अण्डर ६६ स्कोर गर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइनमा २ अण्डर ३३ को कार्ड बनाए भने ब्याक नाईनमा ४ अण्डर ६६ कार्ड गरेका थिए । लेभल पार ७० स्कोर खेल्दै शिवराम श्रेष्ठ तेस्रो स्थानमा रहेका छन् । फ्रन्ट नाइनमा एक अण्डर ३४ खेलेका उनले ब्याक नाइनमा एक ओभर ३६ स्कोर खेले ।
धरानका गल्फर थामबहादुर राई एक ओभर ७१ स्कोर गर्दै चौथो स्थानमा छन् भने साविक विजेता रवि खड्का र दिपक मगर समान २ ओभर ७२ स्कोर गर्दै पाँचौं स्थानमा रहेका छन् । यसैगरि, सञ्जिव नेपाली र धनबहादुर थापाले समान ३ ओभर ७३ स्कोर बनाउदै सातौं स्थानमा रहेका छन् भने राम मगर, सविन सापकोटा, भुवन नगरकोटी, रमेश नगरकोटी, सुमन राई र प्रदिपकुमार लामा समान ४ ओभर ७४ स्कोर गर्दै संयुक्तरुपमा नवौं स्थानमा छन् । एमेच्योरतर्फ भने धरानका पुर्ण लिम्बू एक ओभर ७१ स्कोरसहित पहिलो दिन अग्रस्थानमा छन् भने ३ ओभर ७३ स्कोर खेल्दै शुक्रबहादुर राई दोस्रो स्थानमा छन् । नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनले आयोजना गरेको चार दिने प्रतियोगितामा ३१ जना व्यावसायिक र २४ जना एमेच्योर खेलाडी छन् । प्रतियोगिताको विजेताले ९५ हजार पाउनेछन् भने दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६० हजार र ३३ हजार पाउने आयोजकले जनाएको छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे