ग्याँस लिन घण्टौं लाइनमा, सरकार मुकदर्शक


धरान । डिलरमा ग्याँस आएको खबर सुन्नसाथ मध्याह्न साढे बाह्र बजे धरान ७ की गृहणी दुर्गा ढकाल हत्तारिदै गंगालाल मार्गस्थित ग्याँस डिलरमा पुगिन् । तर, ग्याँस लिनेहरुको लाइन देखेर निराश भइन् । उनी पुग्दा ग्याँस लिनेहरुको लाम झण्डै २ सय मिटर पुगिसकेको थियो ।
करिब चार घण्टा लाइनमा बसेपछि मात्रै उनले बल्लतल्ल एउटा सिलिण्डर पाइन् । ‘एउटा सिलिण्डर लिन पनि चार घण्टा लाइनमा पर्खनु पर्यो, धेरै दुःख पाइयो’–सिलिण्डर लिएपछि उनले भनिन्–‘कति टाढाबाट सिलिण्डर बोकेर आउनुपर्छ, किन यस्तो हाहाकार भएको हो ?’ उनले ग्याँस सिलिण्डर सहजरुपमा पाउने व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरिन् ।
गृहणी ढकाल एक प्रतिनिधि पात्र मात्रै हुन् । ग्याँस नपाएर खाना पकाउन समस्या भोगिरहने थुप्रै गृहणीहरुको पीडा उनको जस्तै छ । एउटा सिलिण्डर डिलरमा बुझाए पनि महिना दिन बितिसक्दासमेत उपभोक्ताले ग्याँस पाएका छैनन् । ग्याँस नभएर दाउरा किनेर कतिपयले गुजारा चलाउनु परिरहेको बताएका छन् । सरकारले जनताको समस्या समाधान नगरेकोप्रति सर्वसाधारणहको आक्रोश बढ्दै गइरहेको छ । डिलरहरुले उपभोक्तालाई नदिई खुद्रा बिक्रेता एवं किराना पसलहरुलाई रातारात बिक्री गर्ने गरेको पनि उपभोक्ताहरुको आरोप छ । ती खुद्रा एवं किराना पसलहरुले तोकिएको मुल्यभन्दा अत्यधिक बढी २२ सय भन्दा बढी मुल्यमा बिक्री गरेर कालोबजारी गरिरहेको उपभोक्ताहरु बताउछन् ।

यसअघि उपभोक्ता मञ्च, प्रशासनसहितको टोलीले गरेको अनुगमनको क्रममा पनि २२ सय रुपैयासम्म बिक्रीवितरण भइरहेको पुष्टि भएको थियो । ‘डिलरले नै पसलेहरुलाई बेच्छन्, त्यहाँ धेरै पैसा दियो भने तुरुन्तै ग्याँस पाइहालिन्छ’–लाइनमा उभिएका एक व्यक्तिले भने–‘सरकारले किन जनताको दुःख देख्दैन ?’ ग्याँस डिलरहरु भने कालो बजारी नगरेको दाबी गर्दै खुद्रा पसलेहरुलाई पनि लाइनबाट नै वितरण गरिरहेको दाबी गर्छन् । धरान ८ स्थित कोशी ग्याँसको बिक्रेता रमेश शाक्य उद्योगबाट नै कम ग्याँस पठाएकोले समस्या भएको बताउछन् । ‘उद्योगबाट नै ग्याँस कम आइरहेको छ, आज १२ सय आए सहज हुन्थ्यो, ५ सय मात्रै आयो’–शाक्यले भने–‘खुद्रा पसलेलाई बचेको छैनौं, उनीहरुले पनि लाइनबाटै लैजान्छन् ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे