गल्फ प्रतियोगिता गर्न बराह ज्वेलरी र गल्फ क्लबबीच १५ बर्षे सम्झौता


धरान । बराह ज्वेलरी इष्डट्रिज प्रालिका संस्थापक इन्द्र लामिछानेको स्मृतिमा बर्षेनी एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र प्रालिबीच १५ बर्षे सम्झौता भएको छ । इन्द्र बराह स्मृति एमेच्योर गल्फ प्रतियोगिता नाम दिइएको प्रतियोगिता सञ्चालनबारे दुवै पक्षबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रालिको तर्फबाट संस्थापक सदस्य एवं स्वर्गीय लामिछानेकी श्रीमति विष्णुमाया लामिछानेले हस्ताक्षर गरिन् भने क्लबका तर्फबाट अध्यक्ष पुर्ण लिम्बूले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रतियोगिता सञ्चालन गर्न प्रालिले प्रत्येक बर्ष क्लबलाई एक लाख रुपैया प्रायोजन रकम प्रदान गर्नेछ र रनिङ शिल्ड पनि हस्तान्तरण गर्नेछ ।

सम्झौताको समयअवधि १५ बर्षको भएता पनि दुवै पक्ष बसेर प्रत्येक ४ बर्षमा रकम थपघट एवं परिमार्जन गर्न सकिने बुँदा पनि राखिएको छ । ‘गल्फ खेलप्रति संस्थापक ज्युको लगाव र रुचि थियो, उहाँको त्यही भावनाको सम्मान गर्दै प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेका हौं । उहाँको सत्कर्म र खेलप्रतिको भावना हाम्रो लागि सधै प्रेरणा बनिरहनेछ’–सम्झौता हस्ताक्षर कार्यक्रममा प्रालिका शाखा प्रमुख मानबहादुर बिकले भने–‘सम्झौता १५ बर्षको लागि हो, तर बढ्दो महंगीलाई मध्यनजर गर्दै ४ बर्षमा पुरस्कार राशी बढाउन पनि सक्छौं, आयोजकले प्रायोजन गरिएको रकमको पुर्णरुपमा सदुपयोग गर्नेछ भन्ने आशा लिएका छौं ।’

प्रालिका संस्थापक लामिछाने गल्फ खेलप्रति असाध्यै रुचि राख्थे । उनी धरान गल्फ क्लबका संस्थापक कोषाध्यक्ष थिए भने सिंगल ह्याण्डीक्याप खेलाडी पनि थिए । प्रालि तथा व्यापारलाई धरानबाट काठमाण्डौं, पोखरा, युके र हङकङसम्म विस्तार गर्न सफल लामिछानेको ०६९ माघ १६ गते हङकङको मंकी हिलमा रहस्यमय निधन भएको थियो ।
 क्लबका अध्यक्ष पुर्ण लिम्बूले प्रालिसँगको सम्झौताले स्वर्गीय लामिछानेप्रति सम्मान हुने र गल्फ खेलको विकासमा पनि योगदान पुग्ने बताए । ‘इन्द्र लामिछाने ज्युको गल्फ खेल र यसको विकासप्रतिको मायालाई जीवीत राख्न साथै खेलको थप विकास गर्न यो सम्झौताले ठुलो योगदान पुर्याउछ’–अध्यक्ष लिम्बूले भने ।
.....................

                        पहिलो सँस्करण कार्तिक ३० गते प्रतियोगिता


बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिको प्रायोजनमा इन्द्र बराह स्मृति एमेच्योर गल्फ प्रतियोगिताको पहिलो सँस्करण यही कार्तिक ३० गते हुने भएको छ । सम्झौता पत्रमा हस्ताक्षरसँगै आयोजित पत्रकार सम्मेलनमा आयोजक धरान गल्फ क्लबले प्रतियोगिता निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुने जानकारी दिएको हो ।
क्लबका अनुसार प्रतियोगितामा धरान, काठमाण्डौं र पोखराका गरि करिब ४० जना खेलाडीहरु सहभागी हुनेछन् । यही बुधबारदेखि शनिबारसम्म सुर्य नेपाल इष्र्टन ओपन हुने र त्यही प्रतियोगितामा आएका पोखरा, राजधानीका एमेच्योर खेलाडीहरु यो प्रतियोगितामा पनि सहभागी हुने क्लबका अध्यक्ष लिम्बूले बताए । प्रतियोगितामा सहभागी हुन नेपाल गल्फ संघ काठमाण्डौं र हिमालयन गल्फ क्लब पोखरालाई पत्राचार गरिने पनि उनले बताए ।

प्रतियोगितामा कुल एक लाख ३१ ह्जार रुपैया खर्च हुने अनुमान गरिएको छ । प्रथम हुने खेलाडीले १२ हजार बराबरको ट्रफी र उपहार पाउनेछ भने दोस्रो हुनेले ६ हजार ५ सय र तेस्रो हुनेले ४ हजार ५ सय बराबारको ट्रफी र उपहार पाउनेछ । यस्तै, लेडिज प्रथम र लेडिज दोस्रो, ग्रस प्रथम र दोस्रो, लङ्गेष्ट ड्राइभ, नियरेष्ट टु द पिन, मोष्ट बर्डिज, बुगी प्राइज, राइजिङ प्लेयर जेन्स र गल्र्स, ५५ बर्ष माथिको सिनियर प्लेयरलगायतको पुरस्कार दिइने आयोजकले जनाएको छ । गल्फ खेलमा एमेच्योर प्रतियोगिताका विजेतालाई नगद पुरस्कार भने दिइदैन ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे