दुई दिने विमल कवित उत्सव आयोजना हुने


धरान। स्वर्गीय कवि विमल गुरुङको जन्मजयन्तीको सन्दर्भमा बर्षेनी आयोजना हुदै आएको कविता उत्सव यस पटक वृहतरुपमा दुई दिने कार्यक्रम गरेर मनाइने भएको छ । यसपाली कार्तिक २८ र २९ गते विमल कविता उत्सव धरान ०७१ नामको वृहत साहित्यिक कार्यक्रम गरेर ४३ औं जन्मजयन्ती तथा २४ औं कविता उत्सव मनाउन लागिएको हो ।
स्वर्गीय कवि विमल गुरुङ स्मृति पुस्तकालयले बुधबार विमलको जन्म दिन अवसर पारेर पत्रकार सम्मेलन गर्दै दुई दिने उत्सवबारे जानकारी दिएको हो । विगतका बर्षहरुमा भने विमलको जन्म दिन कार्तिक १९ गते प्रतियोगितात्मक कविता उत्सव आयोजना हुदै आएको थियो । ‘पहिला कविता प्रतियोगिता मात्रै गरेर जन्मजयन्ती मनाइने गरिन्थ्यो, यसपाली साहित्यिक माहौल बनाउन र नयाँ पन दिनको लागि दुई दिने उत्सवको तयारी गरिरहेका छौं’–पुस्तकालयका सदस्य चेवन राईले भने । उनका अनुसार अर्को बर्ष पुस्तकालय स्थापनाको रजत जयन्तीलाई भव्यरुपमा मनाइने भएकोले त्यसको तयारीस्वरुप पनि यो बर्ष दुई दिने उत्सव आयोजना गरिएको हो ।
पुस्तकालयले जनाएअनुसार उत्सवको पहिलो दिन कविता प्रतियोगिता आयोजना हुन्छ । प्रतियोगिताको लागि हालसम्म १ सय २१ वटा कविता प्राप्त भइसकेको छ । प्राप्त कवितामध्ये छनौट समितिले उत्कृष्ट १५ वटा छनौट गर्नेछ र कार्तिक २८ गते कविहरुद्धारा वाचन गराइन्छ । प्रथम हुनेले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार र चौथो हुनले नगद ३ हजार पुरस्कार पाउने पुस्तकालयका सचिव रेवतीरमण राईले बताए । ‘यो बर्षदेखि प्रतियोगिताको पुरस्कार राशी पनि बृद्धि गरिएको छ’–उनले भने–‘कवि विमलको साहित्यिक योगदान र पुस्तकालयको महत्वलाई झन् विस्तार गर्ने उद्देश्य पनि हो ।’ कविता प्रतियोगितासँगै साहित्यकार डा.गोपाल भण्डारीलाई अभिनन्दन गरिनेछ भने स्थानीय शेरु वान्तवालाई सम्मान र एक जना युवालाई युवा प्रतिभा पुरस्कार दिइनेछ । सोही दिन प्रतियोगिता पछि कवि विमल गुरुङको कवितामाथि प्राध्यापक केशव सिग्देलले विश्लेषण गर्नेछन् ।

उत्सवको दोस्रो दिन प्राज्ञिक स्वतन्त्रता शिर्षकमा बहस तथा छलफल हुनेछ । प्राज्ञमा चुनिएकाहरु कुनै न कुनै राजनीतिक दल बिषेश भएको सन्र्दभलाई बहसको केन्द्रविन्दु बनाइनेछ । यसपछि बदलिदो साहित्य शिर्षकमा साहित्यिक बहस हुनेछ । जसमा रङवादका प्रर्वतकमध्ये धर्मेन्द्रबिक्रम नेम्बाङ, स्वप्निल स्मृति, लीलावादबारे रत्नमणी नेपाल, सृर्जनशील अराजकताबारे राजन मुकारुङ, उपेन्द्र सुब्बा, उत्तरवर्ती सोचबारे राज माङलाक र भयवादबारे मुनराज शेर्माले बोल्नेछन् । ‘साँझमा स्थानीयबासीले बुद्धचोक साहित्य साँझ तथा सामापन समारोह आयोजना गर्नेछन्, जहाँ कविता वाचन र साँस्कृतिक कार्यक्रम हुन्छ’–पुस्तकालयका सदस्य चेवन राईले भने ।
किसोर अवस्थामा नै प्रगतिवादी एवं सशक्त कविताहरु सृर्जना गरेका कवि विमल १९ बर्षको अल्पायुमा दुर्घटनामा परि ०४८ बैशाखमा निधन भएको थियो । एक मात्र छोराको मृत्युपछि बुबा पुर्णबहादुर गुरुङ र आमा सरस्वतीले छोराको स्मृतिमा धरान १८ स्थित बुद्धचोकमा पुस्तकालय स्थापना गरेर साहित्यको सेवामा जीवन सर्मपण गरेका छन् । पुस्तकालयले बर्षेनी कविता उत्सव आयोजना गर्दै आएको छ । गुरुङ दम्पत्तिले गत बर्ष ५० लाखको अक्षयकोष पनि खडा गरिदिएका छन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे