धरानमा प्रहरीले पूर्वाञ्चलस्तरीय सुधार गृह बनाइने

धरान । लागुऔषधको कुलतमा फसेका युवाहरुलाई उपचार एवं सुधार गर्न प्रहरीको सक्रियतामा धरानमा पूर्वाञ्चलस्तरीय लागुऔषध सुधार गृह निर्माण गरिने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको संयोजन र इलाका प्रहरी कार्यालय धरानले मंगलबार आयोजना गरेको अन्र्तक्रियामा सहभागी उद्योगी, व्यवसायी एवं समाजसेवीहरुले सुधार गृह निर्माणको योजना सकरात्मक भएको टिप्पणी गर्दै सहयोग गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।
सुधार गृह निर्माणको लागि आयोजित अन्र्तक्रिया कार्यक्रमबाट पूर्वमेयर मनोज कुमार मेन्याङ्बोको संयोजकत्वमा १५ सदस्यीय निर्माण कमिटि पनि गठन भएको छ । कमिटिमा सुनसरी उवा संघ सदस्य सचिव रहेका छन् भने आवश्यकता अनुसार सदस्यहरु बढाइनेछ । प्रहरीका अनुसार सुधार गृह निर्माणको लागि धरान नगरपालिकाले २३ नम्बर वडामा पर्ने पानवारीमा ७ कट्ठा जग्गा प्रहरीलाई उपलब्ध गराईसकेको छ । साथै, उक्त जग्गाको सधियार रहेका रामहरि हाडाले पनि भवन निर्माणको लागि थप एक कटठा जग्गा उपलब्ध गराउने वचन दिएको इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार गत तिहारमा इलाका प्रहरी कार्यालय र पूर्व प्रहरी कर्मचारी कल्याण समाजले देउसी खेलेर संकलन गरेको ५० हजार रुपैया भवन निर्माणको लागि उपलब्ध गराएको पनि जानकारी दिए । एक पटकमा सय जना दुव्र्यसनी युवाहरुलाई उपचार गराउन सक्ने गृह निर्माण गर्ने र भविष्यमा २ सयको क्षमता बनाउने पनि उनले बताए । अन्र्तक्रियामा प्रमुख अतिथिकोरुपमा उपस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी नवराज सिलवालले जनता प्रहरी साझेदारीको अवधारणामा सुधार गृह बनाउने योजना सुनाए । जनताको पनि लगानी हुदा सुधार गृहप्रति आफ्नोपनको भावना जाग्ने उनले आशा व्यक्त गरे । ‘युवा पुस्ता लागुऔषधको जालोमा फस्दै गइरहेको छ, ती युवालाई जोगाउन नसक्ने हो भने भोली समाज र देशमा सक्षम, स्वास्थ्य पुस्ताको खडेरी पर्छ’–सुधार गृह निर्माणको उद्देश्यबारे प्रष्ट्याउदै सिलवालले भने–‘पुलिस पब्लिक पार्टनरसिपअनुसार बनाउनुपर्छ । यसको लागि हजारौं, करोडौं सहयोग हुनुपर्छ भन्ने छैन, सय रुपैया दिनेले पनि मैले बनाएको हो भन्ने सोच्न सकुन भन्ने उद्देश्य छ ।’
डिआइजी सिलवालका अनुसार लागुऔषधबाट सबैभन्दा बढी आक्रान्त धरान, इटहरी, विराटनगर, दमक लगायत शहरसँगै पूर्वका सबै जिल्लालाई लागुऔषध दुव्र्यसन मुक्त शहर बनाउने परिकल्पनाले यो अभियान थालनी गरिएको हो । सुधार गृह निर्माणको प्रमुख जिम्मेवारी भने धरानस्थित कोशी अञ्चल प्रहरी कार्यालयलाई दिइएको उनले बताए । सुधार गृहले उपचारसँगै लागुऔषध न्युनीकरण एवं रोकथामको कार्यक्रम पनि सञ्चालन गर्ने उनको भनाई छ । शुरुमा अञ्चल प्रहरी कार्यालय परिसरमा नै सुधार गृह बनाउन तत्कालीन एसएसपी रमेश फुँयालको पालामा पहल भएको थियो । तर, त्यहाँ बनाउन नमिल्ने भएपछि उनी पछिका एसएसपी यादवराज खनालको पालामा अन्यत्र जग्गा खोज्न थालिएको थियो । यो अभियानले हालका एसएसपी ज्ञानबिक्रम शाहको पालामा भने मुर्तरुप पाउन लागेको छ ।
प्रहरीको यो अभियानलाई उद्योगी, व्यावसायी, नागरिक समाज तथा राजनीतिक दलहरुबाट पनि पुर्ण साथ मिलेको छ । पूर्वमेयर एवं नागरिक समाजका अध्यक्ष मनोजकुमार मेन्याङबोले सुधार केन्द्रहरु धेरै भएपनि प्रहरी आफैले सञ्चालन गर्दा प्रभावकारी हुने आशा व्यक्त गरे । ‘यहाँ धेरै सुधार गृहहरु छन्, तर ती सबै व्यवास्थापन, सेवा, आर्थिक हिसाबले प्रभावकारी नहोलान् तर प्रहरी आफैले सञ्चालन गरेपछि पक्कै पनि प्रभावकारी हुने विश्वास गर्न सकिन्छ । जग्गा उपलब्ध भएकोले आधा काम सकिएको छ, अब पूर्वाधार निर्माणको काम आधा मात्रै बाँकी छ’–उनले भने । सुनसरी उद्योग वाणिज्य संघका निमित्त अध्यक्ष कृष्णकुमार राईले लागुऔषधको कारण भारतीय शहर जोगवनीमा नेपालीको छवि बिग्रिएकोमा दुःख व्यक्त गर्दै सुधार गृह निर्माणमा संघले आर्थिक, भौतिकरुपमा सहयोग गर्ने बताए । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत गणेशप्रसाद खतिवडाले पनि बजेट विनियोजन गर्ने आश्वासन दिए । कार्यक्रममा पूर्वमेयर कुमारबहादुर कार्की, काठमाण्डौं धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, प्राध्यापक राजेन्द्र शर्मा, उवासंघका पूर्वअध्यक्ष अशोक ताम्राकारलगायतले पनि धारणा व्यक्त गरेका थिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे