गल्फका नयाँ प्रतिभा शुक्रबहादुर


धरान । घर नजिकै गल्फ कोर्ष थियो । तर, धरान १९ जिमी मार्गका शुक्रबहादुर राई गल्फ खेलबारे चार बर्षअघिसम्म अनभिज्ञ थिए । उनको साथी तेजकुमार राई भने त्यही गल्फ कोर्षमा क्याडी ब्वाई थिए । उनै तेजबहादुरको पछि लागेर उनी एक दिन गल्फ कोर्ष छिरे, अनि साथीसँगै क्याडी ब्वाई बने । यो सन् २०१० को कुरा हो ।
चार बर्षअघि गल्फ खेलबारे अनभिज्ञ तिनै शुक्रबहादुर अहिले सम्भावना बोकेका प्रतिभाशाली जुनियर खेलाडीकोरुपमा उदाएका छन् । क्याडी ब्वाईबाट कोर्षमा पाइला टेकेका उनले छोटो अवधिमा नै उत्कृष्ट जुनियर खेलाडीकोरुपमा उभ्याइसकेका छन् । अढाई बर्ष यता उनी कोर्षमा अभ्यास गर्दै विभिन्न प्रतियोगिताहरुमा भाग लिन थालेका थिए । गएको कार्तिक अन्तिम साता निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा सम्पन्न चार दिने सुर्य नेपाल इष्टर्न ओपनको एमेच्योरतर्फको विजेता बनेर उनले गल्फमा आफ्नो दरिलो उपस्थिति जनाए । भर्खर १६ बर्षमा पाइला टेकिरहेका किसोरलाई यो प्रतियोगितामा विजेता हुनु त्यसै पनि गर्व गर्न लायक हो ।
यसअघि उनी काठमाण्डौंमा गाइकवार्ड फाउण्डेशनले आयोजना गरेको स्पर्धामा दोस्रो भएका थिए । हाल फाल्डो सिरिज गल्फ छनौटमा यु–१६ उमेर समुहतर्फ पहिलो हुदै उनी काठमाण्डौंमा राष्ट्रियस्तरको छनौट खेल्ने तयारीमा छन् । उनले यो सफलता भने सहजै प्राप्त गरेका भने होइनन् । ‘२०१० मा इष्र्टन ओपन हुदा साथीसँग क्याडी गर्न आएको थिएँ, त्यसपछि गल्फ खेलमा घुलमिल हुदै गए, लगाव पनि भयो’–शुक्रबहादुरले भने–‘क्याडी गर्दै सिक्न थाले, २०१२ देखि जुनियर टुर्नामेन्टहरुमा भाग पनि लिए ।’ उनका अनुसार कोर्षमा प्रत्येक बुधबार क्याडी ब्वाईहरुले अभ्यास गर्न पाउथे । उनी कोर्षमा छिरेदेखि नै धरानका व्यावसायीक खेलाडी देउराज पाख्रिनको रिजर्ब क्याडी ब्वाईकोरुपमा छन् ।
पाँच ह्याण्डीक्याप एमेच्योर खेलाडी उनी इष्टर्न ओपन विजेता बनेपछि प्रो–टर्न हुनको लागि छनौटमा सहभागी हुने अवसर पाएका छन् । तर, उनी तत्काल प्रो–टर्न हुन चाहदैनन् । अझै केही बर्ष एमेच्योरकै रुपमा खेल्ने र राम्रो एमेच्योर खेलाडी बनेर मात्रै प्रो–टर्न हुने उनको इच्छा छ । अचेल उनी निर्वाणाको ड्राइभिङ रेञ्जमा वल ब्वाईकोरुपमा कार्यरत छन् । त्यस कामले उनलाई गल्फ अभ्यास गर्ने अवसर पनि मिलेको छ । नेपालमा उनको मनपर्ने व्यावसायिक खेलाडी सविन सापकोटा हुन् भने विदेशीमा एडम स्कट हुन् । ‘सविन दाईको चिप र रोल साह्रै मनपर्छ । एडमको हाइट, वल कन्ट्याक्ट र हिटिङ राम्रो छ’–१६ बर्षे शुक्रबहादुरले भने ।
धराने व्यावसायिक गल्फर देउराज पाख्रिन शुक्रले खेललाई निरन्तता दिएमा भविष्य धेरै उज्वल रहेको बताउछन् । उनका अनुसार शुक्र धेरै मेहनती छन् । ‘उ धेरै मेहनती छ । उसको स्वीङ राम्रो छ र सिकाउदा छिटो सिक्ने क्षमता पनि छ’–पाख्रिनले भने–‘खेललाई निरन्तरता दियो भने उसको भविष्य राम्रो छ ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे