राय,सुझाव लिन उच्चस्तरीय तलबमान आयोग बीपी प्रतिष्ठानमा


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं कर्मचारीहरुको मागबारे अध्ययन गर्न गठन भएको उच्चस्तरीय तलवमान आयोग प्रतिष्ठानको समस्या बुझन तथा आन्दोलनकारी कर्मचारीसँगै यहाँका नागरिक समाज, राजनीतिक दललगायत सरोकारवालाहरुबाट सुझाव लिन धरान आएको छ ।
आयोगका संयोजक एवं सभासद डा.शेखर कोइराला आइतबार प्रतिष्ठान आएर सबै पक्षसँग छुट्टा छुट्टै बैठक एवं छलफल गरेका थिए । उक्त छलफलमा आयोगका सदस्य सचिव एवं प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव पनि सहभागी थिए । कर्मचारीहरुको तलब बृद्धि, प्रोत्साहन भत्ता, ग्रेडको व्यवस्थालगायतको मागबारे सम्बन्धित पक्ष र सरोकारवालाहरुसँग छलफल गर्न र सुझाव लिन आएको आयोगले जनाएको छ । ‘यहाँको समस्या बुझ्न, बेसिक तलबलाई कसरी एडजस्त गर्ने र संस्थालाई पनि आत्मनिर्भर बनाउने भनेर छलफल,राय सुझाव लिन आएको हो’–प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका तलबमान आयोगका संयोजक कोइरालाले भने–‘कर्मचारीका मागप्रति हामी सकरात्मक छौं, तर सबै माग पुरा हुन्छ भन्ने पनि हुदैन । आयोग अध्ययन, छलफलकै क्रममा छ ।’
आइतबार बिहान प्रतिष्ठान आइपुगेका आयोगक संयोजक कोइराला र सदस्य सचिव श्रीवास्तवको टोलीले शुरुमा कर्मचारी कल्याण समाजसँग छलफल गरेको थियो । त्यसपछि नर्सिङ फ्याकल्टी, राजन कोइराला नेतृत्वको कर्मचारी समाज तदर्थ समिति र नागरिक समाज तथा राजनीतिक दलहरुसँग आयोगले छुट्टा छुट्टै छलफल गरेर समस्या समधानको लागि राय, सुझाव मागेको थियो । आयोग संयोजक कोइरालाले प्रतिष्ठानका सबै पक्ष, सरोकारवालाको धारणा, राय सुझाव लिएर फर्किएपछि कार्यदलसमेतको प्रतिवेदन अध्ययन गरेर मंसिर भित्रै आयोगकले प्रतिवेदन बुझाउने बताए । ‘मागहरु जायज छन्, तर ती मागहरु संस्थानले पुरा गर्न सक्छ कि सक्दैन भनेर पनि विचार गर्नुपर्छ । सरकारले बढाएको तलब खान २०, २२ करोड चाहिन्छ, त्यो सरकारले दिदैन भने सम्भव होला कि नहोला ?’–पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले भने–‘तरपनि हामी चाहन्छौं, यहाँ फेरि पनि आन्दोलन, बन्द नहोस्, जुनसुकै वहानामा विरामीले दुःख नपाउन्, सेवा नरोकियोस् । यसतर्फ सबैले ध्यान दिनुपर्छ ।’

पूर्वउपकुलपतिसमेत रहेका कोइरालाले आफ्नो कार्यकालमा गरेको अध्ययनबाट प्रतिष्ठान आउने ३० प्रतिशत भन्दा बढी विरामी पैसा तिर्न नसक्ने अवस्थाका हुने गरेको पत्ता लागेको उल्लेख गर्दै अब विरामी र विद्यार्थीलाई शुल्क बढाएर पैसा असुल गर्ने अवस्था पनि नभएको प्रष्ट्याए । प्रतिष्ठानका कर्मचारीहरुले सरकारले वृद्धि गरेको तलब पाउनुपर्ने, २५ प्रतिशत प्रोत्साहन भत्ता पाउनुपर्ने, सरकारले उपलब्ध गराए सरह ग्रेडको व्यवस्था लगायतको माग राख्दै आन्दोलन चर्काएपछि गत भदौ ३० गतेको कार्यकारिणी परिषद(सिनेट बैठक)ले कोइरालाको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय तलबमान आयोग गठन गरेको थियो । आयोगलाई सहयोग गर्न पछि थप अर्को कार्यदलसमेत गठन भएको थियो ।
छलफलपछि कर्मचारीहरुले आफुहरुको मागसँगै प्रतिष्ठानको समग्र समस्याबारेमा पनि आयोगको प्रतिवेदनले औल्याउने आशा व्यक्त गरेका छन् । कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले आफुहरुले मंसिर १५ भित्रमा काम पुरा गरिदिन आग्रह गरेको र समस्या समधान हुनेमा आशावादी रहेको बताए । यस्तै, कर्मचारी तदर्थ समितिका संयोजक राजन कोइरालाले कर्मचारीको मागप्रति आयोगका संयोजकले सकरात्मक धारणा व्यक्त गरेकोले पुरा हुने अपेक्षा व्यक्त गरे ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे