आकस्मिक कक्षको उपचारलाई प्रभावकारी बनाउन १६ महिने कोर्ष थपियो
धरान । आकस्मिक कक्षको उपचारलाई थप प्रभावकारी बनाउन तथा जनशक्तिको क्षमतालाई बृद्धि गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इर्मजेन्सी मेडिसिनमा फेलोसिप कार्यक्रमअन्र्तगत सोह्र महिने कोर्ष शुरु गरिएको छ । प्रतिष्ठानको जेनरल प्राक्टिस एण्ड इर्मेजेन्सी मेडिसिन विभागको पहलमा अष्ट्रेलियन कलेज अफ इर्मेजेन्सी मेडिसिनको सहयोगमा अक्टुवर महिनादेखि यो कोर्ष शुरु भएको हो ।
यो कोर्षले इर्मेजेन्सी मेडिसिनमा चिकित्सकहरुलाई तुरुन्त ज्यान जोगाउने ज्ञान र दक्षता वृद्धि गराउने विभागले जनाएको छ । साथै, प्रतिष्ठानको आकस्मिक कक्षमा लागु गरिएको ट्रियाज पद्दतीअनुसारको दक्ष जनशक्ति पनि तयार हुने विभागका प्रमुख डा.ज्ञानेन्द्र मल्लले जानकारी गराए । उनका अनुसार तीन बर्षे पोष्ट ग्रयाजुएटको अध्ययनलेसमेत इर्मेजेन्सी मेडिसिनका जनशक्तिको क्षमता अपुरो भएपछि थप १६ महिने कोर्ष तयार गर्नुपरेको हो । ‘समाजको अपेक्षा धेरै छ, त्यसअनुसार गुणस्तरीय उपचार दिनुपर्नेछ, तर तीन बर्षे पि.जि.ले पनि पुगेन, क्षमता र ज्ञानमा अभाव देखेर नै यो कोर्ष तयार गर्नुपरेको हो’–विभागका प्रमुख डाक्टर मल्लले भने ।
डाक्टर मल्लका अनुसार कोर्ष लिइरहेका जनशक्तिलाई अष्ट्रेलियाबाट डाक्टर रिड, डाक्टर वायरन र डाक्टर किमले तालिम दिइरहेका छन् । यो कोर्षमा हाल इर्मेजेन्सी मेडिसिनका डाक्टर रविन भण्डारी, डाक्टर रजनी पौडेल र डाक्टर सोनााई गिरीले तामिल लिइरहेका छन् । नेपालका ठुला अस्पतालहरुमा पनि यो कोर्ष अति नै आवश्यक भएको चिकित्सकहरुको भनाई छ । सोह्र महिने कोर्षमा एक बर्षसम्म इर्मेजेन्सी, ४ महिना क्रिटिकल एनेस्थेसिया र आइसियुको तालिम हुन्छ भने आवश्यक देखिएमा थप कुनै एक बिषयमा २ महिना इलेक्टिभ तालिममा पठाइन्छ । बीपी प्रतिष्ठानबाहेक पाटन अस्पतालमा पनि यो १६ महिने कोर्ष शुरु भएको छ ।
विभागका अनुसार धेरै प्रयास गर्दागर्दै पनि ज्ञान र दक्षताको अभावले इर्मेजेन्सीबाट धेरैजसो विरामी अन्यत्र रिफर गर्नुपर्ने, ज्यान जोगाउन नसकिने वा उपचारमासमेत ढिलाई हुने समस्या छ । तर, अब यो कोर्षपछि यी समस्या नरहने विभागको भनाई छ । विभागका प्रमुख डाक्टर मल्लले सन् २००६ मा अष्ट्रेलियामा यो कोर्ष पुरा गरेर फर्केका थिए । त्यसपछि उनकै पहलमा बीपीको आकस्मिक कक्षमा उपचार गर्न ट्रियाज पद्दती लागु गरिएको थियो । यस पद्दतीअनुसार विरामीको अवस्था र प्रकृति हेरेर श्रेणी विभाजन गरिन्छ र त्यसैअनुसार प्रथमिकता दिएर उपचार शुरु गरिन्छ । ‘यो कोर्ष नेपालमा पनि चाहिन्छ भनेर निरन्तर प्रयास गरिरहेको थिएँ,तर शुरु गर्न ६ बर्ष लाग्यो’–उनले भने–‘आकस्मिक कक्षको ट्रियाज पद्दतीलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार हुन्छ ।’
हाल प्रतिष्ठानको आकस्मिक कक्षमा ७० शैइया छ । तर, यहाँ दैनिक सयदेखि डेढ सयको हाराहारीमा गम्भीर प्रकृतिका विरामी उपचार गराउन आउछन् । ती मध्ये ५० प्रतिशत अति सिकिस्त विरामी हुने आकस्मिक प्रमुख डाक्टर मल्लले बताए । यहाँ हाल १० जना कन्सल्टेन्ट, ३ जना सिनियर रेजिडेन्ट, २२ जना, जुनियर रेजिडेन्ट र ३१ जना हाउस अफिसर कार्यरत छन् ।
Comments
Post a Comment