मधुमेह रोगबारे सचेत गराउन स्वास्थ्य परीक्षण


धरान । विश्वमा बढ्दो दरमा रहेको मधुमेह(चिनी रोग)बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले शुक्रबार धरानको भानुचौकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । विश्व मधुमेह दिवसको अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित पिएसआरएन र केएचडिसिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ३ सय ७ जनाको स्वास्थ्य परीक्षण गरिएको र ती मध्ये अधिकांश करिब ९० प्रतिशत २५ बर्ष माथि उमेरका रहेको आयोजकले जनाएको छ । शिविरमा उचाईअनुसारको तौल भए नभएको, ब्लड प्रेसर, पिसाब जाँच, रेन्डम ब्लड सुगरलगायत जाँच गरिएको पिएसआरएनका विमल खड्काले बताए । ‘यी जाँच गर्दा मृगौलाको अवस्था ठिक छ छैन, चिनी रोगले पो च्याप्दै लगेको छ कि, प्रेसर बोर्डर लाइनमा छ कि छैन जस्ता कुरा थाह पाइन्छ’–उनले भने ।

परीक्षण गरिएका ३ सय ७ जनामध्ये २० जनालाई चिनी रोग लागेको भेटिएको थियो भने १५ जनाको पिसाबमा प्रोटिनको मात्रा र ११ जनामा ग्लुकोजको मात्रा ‘एबनर्मल’ पाइएको आयोजकले जनाएको छ । यस्तै, परीक्षण गरिएका मध्ये ३५ जनामा उच्च रक्तचाप(ब्लड प्रेसर) थिए । उनीहरु सबैलाई अस्पतालमा गएर नियमित स्वास्थ्य परीक्षणका साथै शारीरिक कसरत गर्न सुझाव दिएको पिएसआरएनका अध्यक्ष राजेन्द्र बस्नेतले बताए । ‘चिनी रोगबाट बच्न छिटो छिटो हिड्ने, नाच्ने, पौडी खेल्ने, साइकल कुदाउने लगायत गतिविधि गर्नुपर्छ’–उनले भने–‘नियमितरुपमा दैनिक ३० मिनेटदेखि एक घण्टासम्म पसिना आउने गरि शारीरिक व्यायम गर्दा मात्रै ४० प्रतिशत रोग घटाउन सकिन्छ ।’

चिकित्सकहरुका अनुसार नियमित कसरतले चिनी रोग(मधुमेह) नियन्त्रण हुने मात्र नभई तौल, उच्च रक्तचाप र रगतमा चिल्लोपना(कोलेष्ट्रोल) घट्न पनि मद्दत पुग्छ । मधुमेह रोग भइहालेमा उपचार लामो र जटिल भएकोले विज्ञ चिकित्सकको निरन्तर सम्पर्कमा रहनुपर्छ । रगतमा सुगरको नियमित जाँच गर्ने, तौलको नियमित जाँच गर्ने, रक्तचापको नियमित जाँच गर्ने, बर्षमा एक पल्ट भएपनि आँखाको नानी फुलाएर आँखाको जाँच गर्ने, खुट्टाको नियमित जाँच गर्ने, पिसाब जाँच गर्नेलगायत परीक्षण गरेमा रोगबाट बच्त सकिने चिकित्सकहरुको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे