फाल्डो सिरिज गल्फको छनौट शुरु


धरान । प्रतिभाशाली जुनियर खेलाडी खोजी गर्ने उद्देश्यले मंगलबारदेखि दुई दिने फाल्डो सिरिज गल्फ टुर्नामेन्ट छनौट प्रतियोगिता धरानमा शुरु भएको छ । पार ७० को निर्वाणा कन्ट्री क्लब गल्फ रिसोर्टमा शुरु छनौट प्रतियोगिताको पहिलो दिन १८ होलको खेल सकिदा यु–२० तर्फ युवराज भुजेल र यु–१६ तर्फ आकाश राई अग्रस्थानमा छन् ।
स्ट्रोक प्लेको आधारमा जारी छनौटको पहिलो दिन यु–२० उमेर समुहतर्फ युवराज एक अण्डर ६९ स्कोरका साथ शीर्षस्थानमा छन् । उनले फ्रन्ट नाईनमा २ अण्डर ३३ र ब्याक नाईनमा एक ओभर ३६ स्कोर खेलेका थिए । सोही उमेर समुहमा उनी भन्दा ५ स्ट्रोकले पछि परेका शिवराज माझी ४ ओभर ७४ स्कोरका साथ दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाईनमा ३ ओभर ३८ र ब्याक नाईनमा १ ओभर ३६ स्कोर खेलेका थिए ।
यसैगरि, यु–१६ उमेर समुहतर्फ ७ ओभर ७७ स्कोर खेल्दै आकाश राई पहिलो दिन शीर्षस्थानमा छन् । उनले फ्रन्ट नाईन ३ ओभर ३८ र ब्याक नाईन ४ ओभर ३९ स्कोर खेलेका थिए । भर्खरै सुर्य नेपाल इष्र्टन ओपनको एमेच्योर च्याम्पियन शुक्रबहादुर राई भने आकाशसँग एक स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट र ब्याक नाईन दुवैमा समान ४ ओभर ३५ स्कोर खेले ।
नेपाल गल्फ एशोसिएशनको मुख्य आयोजना र सुनसरी गल्फ संघको स्थानीय व्यवस्थापनमा आयोजित छनौटमा कुल १३ जना जुनियर खेलाडीहरु सहभागी छन् । जसमा यु–२० उमेर समुहतर्फ ४ जना र यु–१६ उमेर समुहतर्फ ९ जना खेलाडीहरु छन् । छनौट प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी काठमाण्डौंको गोकर्ण गल्फ रिसोर्टमा हुने पुनः छनौट प्रतियोगितामा भाग लिने अवसर पाउनेछ । त्यहाँबाट पनि पहिलो र दोस्रो हुने खेलाडीले फाल्डो सिरिजअन्र्तगतको अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने धरानमा जारी प्रतियोगिताका मार्शल एवं व्यावसायिक खेलाडी देउराज पाख्रिनले जानकारी दिए । उनका अनुसार निक फाल्डो बेलायतका अन्र्तराष्ट्रिय गल्फर हुन् । यो फाल्डो सिरिज उनकै नाममा बर्षेनी आयोजना हुने गर्छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे