बगरकोटमा तोम्बा, कानज्रिबो र सेकुवाको स्वाद(फोटोफिचर)



२०६० सालताका धरान शहरीकरणको उत्कर्समा थियो । खाली जमिनमा धमाधम प्लटिङ भइरहेको थियो । प्लटिङ भएको ठाउँमा पक्की घरहरु ठडिदै थियो । शहरीकरणसँगै भित्रिएको भीडभाड, कोलाहल एवं ब्यस्तताबाट मानिसहरु दिक्क हुन्थे । उनीहरु साँझ–बिहान धरान र तत्कालीन पाँचकन्या गाविसको सिमाना सेउती खोलाको बगरतिर टहलिन निस्कन्थे ।
धरान १५ स्थित शिक्षा सदन माविबाट सेउती खोलासम्म करिब डेढ किलोमिटर लामो एउटा सडक थियो, एभरेष्ट लाइन । जुन बाटो भएर केटाकेटी, युवायुवती, बुढापाकाहरु सेउती बगरसम्म टहलिन पुग्थे । सेउती खोलाको वरैसम्म त्यसबेला खेत थियो । त्यहाँ धान खेती हुन्थ्यो । सेउतीमा पुगेपछि बगेको पानीमा खेल्दै, वारी पारी गदै मानिसहरु रमाउथे । त्यतिबेला उत्तम श्रेष्ठले मात्रै सेउती खोला वर सानो होटल चलाएका थिए । त्यहाँ पाइने तोम्बा, बंगुरको कान,जिब्रो र सेकुवाको खुब चर्चा थियो ।


ठाउँको नामाकरण भइसकेको थिएन । सेउतीको बगर भएकोले अनौपचारिकरुपमा त्यहाँ आउने जानेले भने ‘बगरकोट’ भन्न थालिसकेका थिए । सेउतीमा टहलिन पुग्ने मध्ये एक थिए, सञ्चारकर्मी जसकुमार राई । उनले स्थानीय एक पत्रिकामा एउटा लेख छपाए, ‘काठमाण्डौंको नगरकोट, धरानको बगरकोट’ शिर्षकमा । पत्रिका छापिएकै दिन सेउती किनारमा ‘बगरकोट’ लेखिएको एउटा बोर्ड ठडियो । त्यो ठाउँको नाम औपचारिकरुपमा नै बगरकोट स्थापित भयो ।
‘मानव वस्ती वरैसम्म थिएन, बाटो पुगेकोले सेउती किनारसम्म केटोकटी, युवायुवतीहरु जान्थे, पानी खेल्थे वारीपारी गरेर रमाउथे’–त्यससमयलाई स्मरण गर्दै जसकुमार भन्छन्–‘भविष्यमा यो ठाउँमा फलैचा बन्ला, त्यहाँ बसेर वारीबाट पारि डाँडा र गाउँ हेर्न मिल्ला । केही रुखहरु थियो, सानो पार्क बन्ला भन्ने कल्पना गरेको थिएँ ।’

.................


एक दशक यता बगरकोट पहिलेको जस्तो छैन । अहिले सेउती खोलामाथि पक्की पुल बनेको छ । बगर अतिक्रमण भएर मानवबस्ती(सुकुम्बासी) बसेको छ । एभरेष्ट लाइन सडक दाँया–बाँया डेढ दर्जन होटल तथा सेकुवा कर्नर खुलेका छन् । बगरकोटको पहिलो उत्तम श्रेष्ठको सानो होटल पनि दुई तले पक्की बनिसकेको छ । धान फल्ने खेतमा पक्की घरहरु ठडिएको छ, यो क्रम अझै जारी छ । सञ्चारकर्मी राईले कल्पना गरेजस्तो बसेर पारी डाँडा हेर्न मिल्ने फलैचा बनेन, सानो पार्क पनि छैन । तर, बगरकोट पुग्ने मानिसहरुको संख्यामा कमी आएको छैन ।
अचेल बगरकोटको चर्चा धरान, काठमाण्डौंमा मात्रै छैन, विदेशमा पनि छ । यहाँको तोम्बा, बंगुरको कान,ज्रिबो र सेकुवाको स्वाद, बगरकोटले चर्चा पाउनुको मुख्य कारण हुन् । धरान आएका मानिसहरु साँझ बगरकोट नपुगि फर्किदैन । बगरकोटको नाम र स्वादबारे सुनेर विदेशबाट आएकाहरु पनि बगरकोट पुग्नै पर्ने ठान्छन् । धरानको अर्को पर्यायजस्तै बनेको छ अहिले बगरकोट । घुम्न आएका साथभाई हुन् वा आफन्त हुन्, रमाइलो गर्न लैजाने गन्तव्य बनेको छ बगरकोट । यहाँका होटलहरुमा क्याबिन छैन । खुलारुपमा बस्न मिल्ने पारिवारिक वातावरण भएकोले परिवारसहित पनि आउछन् ।
मध्याह्नसम्म बगरकोट चकमन्न हुन्छ । दिन ढल्दै गएपछि सडक दायाँ बायाँका होटलअघि पोलेको सेकुवाको धुवा र स्वाद फैलिन शुरु गर्छ । साँझ झमक्क परिसक्दा सेकुवा कर्नरहरु भरिभराउ हुन्छन् । अचेल तोम्बाको ठाउँमा बियर, रम,ह्विस्कीले लिन थालेको छ । तर, कान,जिब्रो र सेकुवाको स्वादलाई कुनै चिजले पनि विस्थापित गर्न सकेको छैन । तथापी, तोम्बाका पारखीहरुको पहिलो रोजाई पनि बगरकोट नै हो । यो भानुचौकदेखि धेरै टाढा पनि छैन । रिक्साले १० मिनेटभित्रै पुर्याइदिन्छ । मोटरसाइकल वा चार चक्के सवारी भए भानुचौकदेखि पूर्व देशीलाइन, माछाभौडी, सदन स्कुलबाट एभरेष्ट लाइन सडक हुदै एकैछिनमा बगरकोट पुगिन्छ ।
बगरकोटको पहिलो सेकुवा कर्नर सञ्चालक उत्तम श्रेष्ठका अनुसार फागुनदेखि असोजसम्म ग्राहकहरुको घुइचो लाग्छ । खोलामा पानी हुँदा घुम्न आउने र तोम्बा, कान जिब्रोको स्वाद चाखेर फर्कने गर्छन् । ‘बगरकोटको पहिचान नै तोम्बा र बंगुरको कानजिब्रो र सेकुवा हो । देश, विदेशमा बगरकोटबारे धेरै सुनेको र धरान आएपछि बगरकोट आउनैपर्छ भन्नेहरु पनि हुन्छन्’–श्रेष्ठ भन्छन् । यहाँ तोम्बाको सरदर ८० रुपैया पर्छ भने सेकुवा, पखेटा, कानजिब्रोको प्रतिप्लेट ८० देखि ९० रुपैया पर्छ ।
धरान कालो बँगुरको मासु राजधानीमा निकै स्वादिलो मानिन्छ । धरानको बगरकोटमा भने बँगुरको कान, जिब्रो र तोम्बा स्वादिलो मानिन्छ । कोदोलाई पकाएर सेलाएपछि मर्चा हालेर एउटा भाडा(ढ्वाङ)मा राखेर तोम्बा तयार गरिएको हुन्छ । कान,जिब्रोलाई पनि धेरै मेहनत गरेर तयार गरिएको हुन्छ । बजारबाट ल्याएर काट्ने, तातोपानीले पखालेर सफा गर्ने । ब्लेड लगाएर सेतो बनाउने, हाफ उसिन्ने, फेरि सफा गर्ने र पिस गर्ने । स्वाद निकाल्न मसला हालेर मोल्ने । त्यसलाई ग्राहकको अर्डरबमोजिम ड्राइ फ्राई, सेकेर वा ग्रेभी(चिल्ली) बनाएर दिने ।
यहाँका एउटा होटलले दिनमा सरदर १५ किलो बँगुरको कान,जिब्रो बिक्री गर्छन् । दैनिक ८० हजारदेखि एक लाखसम्मको कारोबार हुने व्यावसायीको अनुमान छ । मेन्याङबो सेकुवा कर्नरका सञ्चालक जीवन मेन्याङबो शान्त ठाउँ, उत्तरमा अवस्थित साँगुरी डाँडातिरबाट आउने स्वच्छ हावामा बसेर तोम्बा, सेकुवा खानुको आनन्दले गर्दा मानिसहरु बगरकोट आउने बताउछन् । यहाँ आउने ग्राहकहरुलाई खुला ठाउँमा टेबल र कुर्सी भए पुग्छ, उनीहरु गोप्यता वा आरामदायी कुर्सी खोज्दैछनन् । उनको होटलमा तोम्बा, सेकुवाबाहेक लिम्बू जातिको बिशेष परिकार याङ्वेन(लेकाली झ्याउ)बाट बनेको घरेलु ससेज पनि पाइन्छ । ग्राहकहरुले यसलाई निक्कै रुचाएका छन् ।
........................

दशकअघि सेउती खोलाको बगर धरानको प्रमुख गन्तव्यस्थल बन्ला भन्ने कसैले कल्पना गरेको थिएन । मेन्याङ्बो सेकुवा कर्नरका सञ्चालक रिस्क मोलेर स्याल कराउने ठाउँमा जग्गा किनेको बताउछन् । यहाँ व्यावसाय गर्दा हुन्छ भन्ने उनलाई लाग्यो । उनको अनुमान सही भयो, बगरकोटको चल्तीमा रहेको मध्ये एक उनको होटल पनि पर्छ ।
अचेल एक पछि अर्को होटल थपिएका छन् । होटल थपिएसँगै समस्या र चुनौती पनि थपिदै गएको छ । धरानमा खानेपानी अभाव प्रमुख समस्या छदैछ । बगरकाटेका होटलहरुमा पार्किङस्थलको अभाव छ । ग्राहकहरुको सवारी सडकमा नै पार्किङ हुन्छ । पाँचकन्या जोड्न सेउती खोलामा पुल बनिसकेकोले यातायात सुचारु भएपछि पार्किङ गर्न नपाउदा समस्या झन् बढ्ने स्वयम होटल सञ्चालकहरु देख्छन् । घर बनाउदा पनि प्राकृतिक दृष्य नछेकिनेबारे बिषेश ख्याल गर्नुपर्ने साइनो सेकुवा कर्नरका सञ्चालक भक्त राईको भनाई छ । तोम्बा, सेकुवासँगै रेष्टुरेष्ट आइटमहरु पनि यहाँका होटलहरुमा हुनुपर्ने उनको भनाई छ । राजधानीको सुन्धारामा ट्राभल एजेन्सी चलाएर बसेका उनी आफ्नै ठाउँमा सम्भावना देखेपछि चार महिनादेखि होटल व्यावसाय शुरु गरेका हुन् ।

बगरकोटमा पार्कको अभाव छ । मानिसहरु खोला र स्वच्छ हावामा रमाउन आउछन् । पार्क बनाउन सकिए पर्यटकीय गन्तव्य पनि बन्नेछ । एभरेष्ट वातावरण सामुदायिक महिला संघले सेउती किनारको करिब २२ कट्ठा जग्गा घेराबारा गरेर पार्क बनाउन जुटेको छ । पार्कको गुरुयोजना समेत बनिसकेको छ, तर बजेट अभावले योजना भने अघि बढ्नसकेको संघकी अध्यक्ष दिलकुमारी राई बताउछिन् । यहाँ शान्ति सुव्यवस्था कायम राख्न अस्थायी प्रहरी विटको पनि आवश्यकता छ ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे