पूर्वमा साइकल पर्यटन(फोटोफिचर)
हिजोआजका शहरी युवाहरु प्रायः मोटरसाइकलमा हुइकिन्छन् । हिडडुल गर्न त्यति रुचाउदैनन् । खानपिनमा पनि ख्याल गर्दैनन् । मदिराको चुस्कीसँगै फ्राई गरेको मासु, पोलेको सेकुवा खान रुचाउछन् । कम हिडडुल र चिल्लोपन बढी भएको खानेकुराले पेटसँगै शरीर मोटाउने, मुटु, प्रेसर, मधुमेहजस्ता रोगहरुले उनीहरुलाई चाडै गाँज्छ । मानिसहरु शहरी जीवनमा यति ब्यस्त रहन्छन् कि नजिकैको गाउँ, डाँडापाखामा वहने स्वच्छ हावामा जान पनि भ्याउदैनन् ।
एउटा भनाई छ, स्वथ्य नै धन हो । जति नै ब्यस्त जीवन भएपनि आफ्नो स्वास्थ्यको ख्याल गर्नैपर्छ । स्वास्थ्य रहने उपाय निकाल्दै धरानका केही युवाहरुले साइक्लिङ(माउण्टेन बाइकिङ) शुरुवात गरेका थिए । सिमित युवाहरुले शुरु गरेको साइक्लिङले अहिले व्यापकता पाएको छ । धरानबाट तराईका खेत खलियान, जंगल र डाँडाकाडातिर माउण्टेन बाइकमा तन्नेरी, पाकाहरु डुल्दै गरेको दृष्य अब सामान्य हुन थालेको छ । त्यतिमात्रै होइन, स्वास्थ्यप्रति सचेत हुदै शुरु भएको साइक्लिङले व्यावसायिकरुप लिएको छ । साइकलमार्फत ग्रामिण पर्यटनको प्रर्वद्धन एवं विकास हुनसक्छ भन्ने ज्ञान पनि फैलिदै गएको छ । धराने केही युवाहरु त साइक्लिङलाई साहसिक खेलको रुपमा विकास गर्न पनि कम्मर कसेर लागेका छन् । उनीहरु विभिन्न प्रतियोगिताहरुमा भाग लिन पनि पुग्छन् ।
राजधानीमा केन्द्रीत साइकल पर्यटनको अवधारणा पूर्वी शहर धरानमा छिरेको धेरै भएको छैन । करिब ६ बर्षअघिसम्म माउण्टेन बाइकमा डुल्नेलाई खिसि गर्ने चलन थियो । दाम सुन्दा मानिसहरु जिब्रो टोक्थे । यत्रो पैसा लगाएर पनि साइकल चढ्ने ? यस्तै भन्थे । तर, अहिले तिनै युवाहरु माउण्टेन बाइकमा गाउँघर, डाँडापाखातिर डुल्न लालयित छन् । साइक्लिङमा आर्कषण बढ्दै गएपछि धरानमा माउण्टेन बाइक पसल पनि खुल्ने क्रम शुरु भयो । तिनै पसलले ‘प्याकेज’ बनाएर इच्छुकहरुलाई गाउँघर, जंगल सफारी, पहाडी क्षेत्रतिर घुमाउन लैजान थालेका छन् । धरानमा ग्रिनह्विल्स धरान, इष्र्टन ट्रेल र राइडर्स एण्ड एमटिबि जोन बाइक शो रुमले माउण्टेन बाइक बेच्ने र प्याकेजमा घुमाउन पनि लैजान्छ । विस्तारै धरान बेस बनाएर पूर्वमा साइकल पर्यटनले पनि बामे सर्न थालिसकेको छ ।
विकास निर्माणले तीब्र गति लिदा पहाडी क्षेत्रमा जहीत्यही बाटोको ट्र्याक खुल्यो । ट्याक खुलेपछि पदमार्ग नासियो । पदमार्ग मासिए पनि भर्खर खुलेका ट्याकमा साइक्लिङको प्रचुर सम्भावना देख्छन् ग्रिनह्विल्स धरानका प्रमुख हेम लिम्बू । ‘जहीत्यही बाटो खुल्दैछ, त्यसले पदमार्ग नासिए पनि त्यस ठाउँमा साइक्लिङले ओगट्दैछ’–उनी भन्छन्–‘स्वस्थ्य रहन शुरुवात भएको साइकल अभियानले अहिले व्यावसायिकरुप लिइसकेको छ । साइक्लिङले ग्रामिण क्षेत्रमा पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउछ ।’ हिजोआज उनी सातामा २ वटा समुहलाई प्याकेजमा पठाइरहेका छन् । एउटा माउण्टेन बाइक भाडा दिएवापत दिनको पाँच सय रुपैया शुल्क लिन्छन् । युवाहरु साहसिक खेलको रुपमा लिएर अब्बल खेलाडी बन्ने धुनमा पनि छन् । जोखिमपुर्ण यात्रा गर्न रुचाउनेहरुलाई पनि साइक्लिङले आकर्षित गरेको छ ।
विगत ६ बर्षदेखि नियमित साइक्लिङ गर्ने शिक्षक दिपक राई साइकलमा गाउँघर डुल्दै सँस्कृति, भुगोल, प्रकृतिक सम्पदाको अध्ययन, अवलोकन गर्न पाउदाको आनन्द वयान गरिसाध्य नभएको बताउछन् । बाटोको ट्याक खुल्दै गएकोले विकट पहाडी क्षेत्रमा पनि साइक्लिङलाई सजिलो बनाएको छ । उनी धरान र यसका आसपासको पहाडी तथा तराई क्षेत्रमा सातामा ३ दिन साइक्लिङ गइरहन्छन् भने १० दिने यात्रामा सोलुखुम्बु पनि छिचोलिसकेका छन् ।
पूर्वमा साइक्लिङको लागि सबैभन्दा लामो तर सुन्दर प्याकेज टिएमजे एडभेन्चर रेञ्ज हो । तेह्रथुमको बसन्तपुरबाट शुरु हुने यो रुट तीनजुरे डाँडा, गुफापोखरी, मिल्के हुदै जलजलेसम्म पुगिन्छ । गुराँस फुल्ने समय माघदेखि बैशाखसम्म यो रुटमा साइक्लिङ गर्नु ज्यादै उपयुक्त हुन्छ । विभिन्न प्रजातिको गुराँसको झ्याम्म रुखसँगै प्राकृतिक सौन्दर्यले लठ्ठ बनाउछ । पन्ध्र दिनको यो प्याकेजमा जान दैनिकरुपमा ५ सय देखि २ हजारसम्मको साइकलको स्तर हेरिकन भाडा लाग्छ । गाइडलाई छुट्टै ५ सय तिर्नुपर्छ । एक जनाको २० देखि २२ हजार रुपैया खर्च हुन्छ । धनकुटा र सुनसरीको सिमानामा रहेको भेडेटारदेखि इलाम रुटको ५ दिने प्याकेज अर्को लामो साइक्लिङ प्याकेज हो । भेडेटारदेखि शुरु भएर राजारानी, पाँचथर हुदै इलाम यो रुटबाट अर्को पर्यटकीय जिल्ला इलाम पुगिन्छ । यसमा एक जनालाई १० हजार रुपैया खर्च लाग्छ ।
माथिका दुई प्याकेजभन्दा निक्कै रुचाइएको अर्को प्याकेज हो, दुई दिने कोशी टप्पु ट्रेल । धरानबाट जंगल सफारी गर्दै तराईको ग्रामिण जनजीवन अवलोकन गर्न सकिन्छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा ४ सय प्रजातिको चरा, जंगली भैसी अर्ना र गोही हेर्न सकिन्छ । गिद्ध रेष्टुरेष्टमा पनि छिर्न सकिन्छ । कोशीमा मजा लिन पाउनु, स्थानीय झामी र उराव जातिको सँस्कृति अवलोकन गर्न पाउनु अर्को अवसर हो । कोशी किनारमा टेन्ट टाँगेर एक रात बिताएपछि भोली पुनः त्यही बाटो हुदै धरान फर्किने । एक जनालाई तीन हजारले पर्याप्त पुग्छ ।
कोशी टप्पुपछि एक दिने धरान पानवारी एग्रो ट्रेल पनि खुब रुचाइएको प्याकेज हो । धरानमा भर्खर गाभिएको पाँचकन्या गाविसको पानवारी, चोक्टी पुगेर पुनः जंगफ सफारी गर्दै फर्कनु निक्कै रमाइलो अनुभव हुन्छ । गाउँले प्रकृति एवं वातावरणले शहरी युवाहरुलाई मोहित बनाउछ । अझ धान रोप्ने बेला र पाक्ने समयमा निक्कै रमाइलो हुन्छ । साइक्लिङको सबैभन्दा चल्तीको रुट यही हो । एक दिनको प्याकेज भएकोले अधिकांश यो रुटमा घुम्न जाने रुचाउछन् ।
भेडेटार–राजारानी ट्रेल साइक्लिङ गर्न उत्तम अर्को एक दिने प्याकेज हो । पर्यटकीयस्थल भेडेटारबाट शुरु भएर चर्चित ठाउँ नाम्जे, डाँडाबजार हुदै राजारानी पुगिन्छ । यी सबै ठाउँ महाभारत श्रृंखलामा रहेकोले यो महाभारत रेञ्जको रुट हो । सिएनएनले पुग्नै पर्ने भनेर घोषणा गरेको विश्वकै पर्यटकीय गन्तव्यमध्ये एक नाम्जे यही रुटमा पर्छ । डाँडाबजारको एसियाकै ठुलो मध्येको एक वरको रुख अवलोकन गर्न सकिन्छ भने राजारानी पोखरीमा फिसिङ र बोटिङको मजा पनि लुट्न सकिन्छ । यो ट्रेलमा एक जनालाई दुई हजार रुपैया पर्याप्त हुन्छ ।
प्रकृतिसँग नजिक हुन चाहनेहरुको लागि मनपर्ने ट्रेल हो जंगल सफारी । गाउँ–शहरबाट टाढा रहेर प्रकृति, चराचुरुङ्गीसँग रम्न चाहनेहरु यो प्याकेजमा जान्छन् । धरान १५ स्थित बाँझगरा सामुदायिक वनबाट यात्रा शुरु हुन्छ । कोशी राजमार्गको धरान–इटहरी सडकखण्ड पार गर्दै लांघाली वन, हिमाली वन, यलम्बर वन, हरियाली वन हुदै उदय सामुदायिक वन क्षेत्रमा पुगेर जंगल सफारी टुंगिन्छ । चारकोशे झाडी, चराचुरुङीको आवाजले छुट्टै आनन्द दिलाउछ । यात्राको क्रममा मृग, बदेल, जंगली कुखुराहरुसँग जम्काभेट पनि हुनसक्छ । यी बाहेक धरान घुम्न अर्वन राइड, साहसिक यात्रा गर्न रुचाउनेलाई याङसिला डाउन हिल ट्रेल, भेडेटारको भलैनी डाँडाबाट एक्सट्रीम डाउनहिलको प्याकेज पनि छ । यस्तै, पौराणिकस्थलहरु विष्णुपादुका मन्दिर क्षेत्रको ट्रेल, बराहक्षेत्रसम्मको ट्रेल, पाँचकन्याको शिवजट्टासम्मको ट्रेलमा पनि एक दिने प्यपाकेजमा साइक्लिङको मजा लिन सकिन्छ
हेम लिम्बू, प्रमुख ग्रिनह्विल्स धरान
: पूर्व माउण्टेन बाइकिङको प्रचुर सम्भावना छ । तर, यसले एक्सपोजर पाइराखेको छैन । राजधानीदेखि टाढाको क्षेत्र भएकोले यता विदेशी पर्यटकहरुको पहुच छैन । ट्राभल एजेन्सीहरु पनि राजधानीतिरै मात्र केन्द्रीत भए । पूर्व क्षेत्रको पर्यटकीय गन्तव्य,सम्भाव्यताहरुको प्रर्वद्धन नै छैन । धरानलाई बेस बनाएर साइक्लिङ र अन्य पर्यटनको विकास गर्न सकिन्छ । यसतर्फ पर्यटनको क्षेत्रमा काम गर्ने राजधानी केन्द्रीत एजेन्सी, पर्यटनकर्मीहरुले ध्यान दिनुपर्छ ।..........................
Comments
Post a Comment