चालकले मोवाइल चलाउदाको परिणाम भोग्दै दुई युवती


धरान । गएको बुधबार मध्याह्न पूर्व पश्चिम राजमार्गको सडक खण्डमा एउटा बस काकडभिट्टाबाट विराटनगर आउदै थियो । बसका खलासीले पनि ढोकामा ढ्याप ढ्याप पार्दै चलाकलाई पछाडी अर्को गाडी आएको संकेत दिइरहन्थ्यो । संकेत पाउनासाथ चालकले बसलाई तीब्र गतिमा हुइक्याउथ्यो । कालो चस्मा लगाएका चालकको गल्ती त्यतिमात्रै होइन, उनको हातमा मोवाइल थियो । बस चलाउदै गर्दा पनि उनी एक हातमा मोवाइल चलाइरहेका थिए ।
त्यही बसमा भर्खर कक्षा १२ उर्तीण गरेकी २० बर्षीय बहिनी सपना तामाङलाई विराटनगर उपचार गराउन ल्याउथै थिए, इम्बुङ ७ पाँचथरका अमर तामाङ । उनको साथमा श्रीमति अरुणा र १३ महिनाको बच्चा पनि थियो । चालकको हाउभाउलाई नियालीरहेका उनको मनमा डर पैदा हुन्थ्यो, केही भई पो हाल्छ कि । नभन्दै मोरङको भाउन्ने क्षेत्रमा बस आइपुग्दा उनलाई जे डर थियो, त्यही भइदियो । चालकको हातबाट मोवाइल खस्यो, मोवाइल टिप्न निहुरिदा बसले नियन्त्रण गुमायो र पल्टियो । घटनामा ७० बर्षीय एक वृद्धाको ज्यान गयो । बच्चा सकुशल रहे पनि अमर र उनकी श्रीमति घाइते भए । तर, चालकको लापरवाहीको कारण यी दुईले भन्दा ठुलो मुल्य बहिनी सम्झनाले चुकाउनु पर्यो ।
‘बस कम्पिटिशन गर्दै हुइकिएको थियो । ड्राइभरले मोवाइल खेलाइरहेको थियो, हातबाट खसेपछि टिप्न निहुरिदा गाडी पल्टियो’–आफ्नो घाउलाई बिर्सेर बहिनीको उपचारमा दौडधुप गरिरहेका अमरले भने–‘यो त ठुलो लापरवाही भयो, ड्राइभरले मोवाइल खेलाउनु हुदैन थियो । यस्तालाई कडा कारबाही गर्नुपर्छ ।’ उक्त दुर्घटनामा उनकी बहिनीको देब्रे हात पुरै गुमेको छ भने दाहिने कान पनि चुडिएको छ । उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी वार्डमा उपचार भइरहेको छ । घटनासँगै स्नातक तहको पढाई शुरु गर्ने सम्झनाको योजनामा पनि तत्कालको लागि पूर्णविराम लागेको छ । ‘घर फर्किएर डिप्लोमा पढ्न इलाम जाने तयारी थियो, तर अब धेरै समस्या हुने भयो’–दाजु अमरले भने । सोही दुर्घटनामा चाक्फारा गाविस फुङनाम ३, इलामकी ३१ बर्षीय सरस्वती श्रेष्ठ पनि गम्भीर घाइते छिन् । उनको पनि देब्रे हात गुमेको छ भने देब्रो आँखा र टाउकोमा ठुलो चोट छ । उनी वैदेशिक रोजगारीको लागि अन्र्तवार्ता दिन इटहरीस्थित एक मेनपावर कम्पनीमा आउदै थिइन् । घाइते उनको पनि बीपी प्रतिष्ठानको सर्जरी वार्डमा उपचार भइरहेको छ ।
सवारी चलाउदा मोवाइलमा कुराकानी गर्न नहुने ट्राफिक नियमभित्र पर्छ । तर, चालकहरुले यो सामान्य नियमलाई पालना नगर्दा सरस्वती र सम्झना झै निर्दोष यात्रुहरुले ठुलो मुल्य चुकाउनुपर्छ । ‘सवारीसाधान चलाउदा मोवाइलमा कुरा गर्न पाइदैन, त्यसो गरेको भेटिए लापरवाही गरेकोमा कारबाही हुन्छ’–जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक विजय श्रेष्ठले भने–‘३०, ४० जना मान्छेको ज्यान जोखिममा हुन्छ, चालकहरु आफैले बुझ्नुपर्ने हो ।’ उनका अनुसार मोटरसाइकल चालकले पनि हेल्मेटमा मोवाइल अल्झाएर कुरा गर्दै चलाउने गरको छन् भने निजी सवारीका चालकले पनि गाडी चलाउदै मोवाइलमा कुरा गर्ने गरेको भेटिएको ट । त्यस्तो भेटिए २ सय रुपैया जरिवाना तिराएर आइन्दा कुरा नगर्न सचेत गराउदै आएको उनले बताए । बस धनीहरुले चालक नियुक्ती गर्दा नाम, ठेगाना प्रष्टसँग जानकारी नलिने गरेकोले पनि दुर्घटनापछि चालक पत्ता लगाउन नसकिने समस्या रहेको श्रेष्ठले बताए । यो घटनाका दोषी चालक पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे