घण्टाघरमा सुरक्षा सतर्कता अपनाइदै


धरान । घण्टाघरबाट खसेर एक नवविवाहित युवतीको मृत्यु भएपछि घण्टाघर चढ्ने पर्यटकलाई सुरक्षित बनाउन माथिल्लो तलामा बिशेष सुरक्षा प्रबन्ध गरिने भएको छ । माथिल्लो तलाबाट मानिस सजिलै झर्न नसकोस् भनेर सुरक्षाको लागि पक्की वाल माथि रेलिङ र जाली थप्ने काम भइरहेको छ ।
घण्टाघर व्यवस्थापन समितिका अनुसार सुरक्षाको काम सकिएपछि कार्तिक अन्तिम सातादेखि घण्टाघरमा चढ्न खुला गरिनेछ । अहिले माथिल्लो तलामा रहेको करिब पाँच फिट पक्की वालमाथि थप रेलिङ र जाली थप्ने काम भइरहेको छ । ‘कोही पनि सजिलै खस्न वा हाम्फाल्न नसकोस् भनेर रेलिङ र जाली लगाउदै गरेको हो, घण्टाघर चढ्ने पर्यटक सुरक्षित होऊ्न भन्ने उद्देश्य हो’–घण्टाघरका सुपरभाईजर केशव न्यौपानेले भने । सुपरभाईजर न्यौपानेका अनुसार मंगलबारदेखि फेन्सिङको काम भइरहेको हो ।

माथिल्लो तलामा रहेको ५ फिट अग्लो वालमा अब थप ३ फिट १० इञ्च अग्लो रेलिङ र जाली थपिनेछ । फेन्सिङको काम सकिएपछि विधिपुर्वक स्वास्ति शान्ति गरेर मात्रै घण्टाघरमा चढ्न खुला गरिने व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले जानकारी दिए । उनका अनुसार निर्माण कार्य सकिएपछि कार्तिक २१ गते १४ जना पण्डितहरुद्धारा स्वास्ति शान्ति जप गराइनेछ भने लगत्तै लिम्बू विजुवा ल्याएर स्वघा(जागित्रा मार्ने कर्म) गरिनेछ र मात्रै घण्टाघरमा चढ्न खुला गरिनेछ । ‘पण्डितहरुबाट जप गरेर स्वास्ति शान्ति गरिन्छ र एक या दुई दिनभित्रै दुःख नदिऊन् भनेर विजुवाबाट भड्केको आत्मालाई मार्ने काम(स्वघा) पनि गछौं’–उनले भने–‘त्यसपछि मात्रै घण्टाघरमा चढ्न खुला हुन्छ ।’ लिम्बू संस्कारमा विजुवाले स्वघा गरेर जागित्रा मारेपछि भड्केको आत्मा पनि मर्ने र दुःख नदिने विश्वास गरिन्छ ।


कार्तिक २ गते मध्याह्न मोरङको हरैचा ९ की २१ बर्षी हेमन्ती मगरको घण्टाघरको माथिल्लो तलाबाट खसरे मृत्यु भएको थियो । तीन दिनअघि मात्रै टोपबहादुर मगरसँग विवाह गरेकी हेमन्तीले घुम्ने इच्छा गरेपछि दुवै जना धरान आएका थिए । घटनालगत्तै घटनास्थलबाट नियन्त्रणमा लिएका व्यक्ति, मृतकका श्रीमान्को वयान र पोष्टमार्टम रिपोर्टलगायतको विश्लेषणबाट हेमन्तीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । अनुसन्धानको क्रममा घण्टाघर टावरको सबैभन्दा माथिल्लो तला(करिब ५२ फिट अग्लो)मा चढेर बजारलाई नियाल्ने क्रममा हेमन्तीले आफुलाई प्यास लागेको भन्दै श्रीमान्लाई पानी लिन तल पठाएपछि उनी हाम्फालेको खुलेको थियो ।
जनसहभागीतामा भानुचौकमा बनेको घण्टाघर ०६२ साल पुष २० गते उद्घाटन गरिएको थियो । घण्टाघर धरान घुम्न आउनेहरुको प्रमुख गन्तव्य हो । घटनापछि चढ्न निषेध गरिए पनि घण्टाघर परिसरमा रहेका बगैचामा भने प्रवेश निषेध गरिएको छैन । टावर चढ्न निषेध गरिएपछि आम्दानी भने आधा घटेको सुपरभाइजर न्यौपानेले बताए । ‘पहिला दैनिक २ हजार जति आम्दानी हुन्थ्यो, अहिले एक हजारको हाराहारीमा झरेको छ’–उनले भने–‘अझै पनि मान्छेहरु कसरी हाम्फालेको ? कहाँबाट झरेको ? आफै कि अरुले खसालेको भन्दै सोधी खोजी गर्नेहरु निक्कै आउछन् ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे