साना योजनामा अल्झिदै धरान, अनुदान कटौतीले विकास निर्माणमा असर
धरान । जनसहभागीताको नमुना शहरले परिचित धरान नगरपालिकामा सडक, ढल तथा कल्भर्ट निर्माण जस्ता विकासे माग अत्यधिक छन् । यस्ता माग पुरा गर्न राजनीतिक दलबाट पनि दबाब आउनाले नगरको दीर्घकालीन लक्ष्यअनुसारको योजनालाई प्राथमिकतामा राखेर नगरपालिकाले बजेट बिनियोजन गर्न सकेको छैन ।
योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठका अनुसार धरानबासीको माग सबैभन्दा धेरै सडक, ढल तथा कल्र्भट निर्माणमा छ । जनताले ५० प्रतिशतसम्म सहभागीता गर्ने प्रस्तावसहित योजना माग गर्ने भएकोले नगरपालिकाले अस्विकार गर्ने अवस्था पनि छैन । जसको कारण कुल बजेटको करिब ८० प्रतिशत बजेट तिनै योजनाको लागि विनियोजन हुने गरेकोले नगरपालिकाले दीर्घकालीन योजनाहरु सञ्चालन गर्न नसकेको उनको भनाई छ । ‘नगरबासी आफ्नै घर, आँगनअघिको सडक, कल्भर्ट बनोस भन्ने चाहन्छन्, जनताको माग भएपछि राजनीतिक दलको चासो पनि त्यसैमा हुन्छ’–इञ्जिनियर श्रेष्ठले भने–‘त्यसैले ८० प्रतिशत बजेट त्यसैको लागि छुट्याउनुपर्छ, यसले नगरको दीर्घकालीन योजनामा बजेट नै छुट्याउन सकिदैन ।’ नगरपालिकाको दीर्घकालीन लक्ष्य अनुसारको शिक्षा, स्वास्थ्य, पर्यटनमा जस्ता क्षेत्रमा बजेट नछुट्याउने र नारामा मात्रै सिमित रहेमा धरान पछाडि पर्ने उनको भनाई छ ।

धरानमा साना ठुला गरि बर्षेनी सरदर २ सय वटा यस्ता विकासे योजना स्वीकृत भएको हुन्छ । ती योजनाहरु कम्तीमा ५० हजारदेखि माथिका हुन्छन् । चालु आर्थिक बर्षमा ७६ वटा नयाँ र ४२ वटा पुरानो(क्रमागत) गरि कुल १ सय १८ वटा योजना स्वीकृत भएको छ । यसको लागि कुल बजेटको १० करोड ९६ लाख ५४ रुपैया विनियोजन गरिएको छ । ‘कुल बजेटको झण्डै आधा रकम यी योजनाको लागि हो, तर सरकारी अनुदान घटेकोले समस्या थपिएको छ’–उनले भने–‘यो बर्ष पुरा हुने योजना अर्को बर्षलाई सार्नु परेको छ, त्यसले अर्को बर्षको बजेटलाई समेत असर पुग्छ ।’ यो बर्ष स्वीकृत भएर पनि कटौतीमा परेका योजनालाई अर्को बर्ष निरन्तरता दिनुपर्ने भएकोले नयाँ योजनालाई थप्न नसकिने उनले बताए ।
धरान नगरपालिकाले अपेक्षअनुसार आफ्नो आन्तरिक आम्दानी बढाउन सकेको छैन । यसको करिब ४ करोड आन्तरिक आम्दानी छ । सरकारबाट अनुदान घट्दै जाने, नगरपालिकाको आम्दानी पनि नबढ्ने तर विकासे योजना भने बढ्दै जाने कारण धरान पछाडि पर्ने योजना शाखा प्रमुख श्रेष्ठ बताउछन् । उनका अनुसार सडक, ढल निर्माणको योजना चक्र(सर्कल)को रुपमा हरेक बर्ष थपिदै जान्छ, केही बर्ष पनि मर्मत गर्नुपर्छ । ‘शतप्रतिशत बजेटबाट ६० प्रतिशत दीर्घकालीन योजना र ४० प्रतिशत वडास्तरीय विकासे योजनालाई छुट्याउनुपर्छ । नत्र यो चक्रबाट उम्कनै गाह्रो हुन्छ’–उनी भन्छन्–‘वडास्तरका योजनालाई पनि त्यस वडाको क्षेत्रफल, जनसंख्या र राजश्वलाई ध्यान दिदै कति प्रतिशत लैजाने भन्ने अवधारणा बनाउनुपर्छ, नत्र धरान पछाडि पर्छ ।’
Comments
Post a Comment