घण्टाघरमा लिम्बू विजुवाद्धारा स्वघा(फोटोफिचर)


धरान । घण्टाघरको माथिल्लो तलाबाट खसेर मृत्यु भएकी युवतीको भड्केको आत्मा पन्छाउन लिम्बू सँस्कार अनुसार स्वघा गरिएको छ । एक साताअघि हिन्दु धर्म सँस्कारअनुसार १४ जना पण्डितहरुद्धारा स्वास्ति शान्ति जप गराएको घण्टाघर व्यवस्थापन समितिले शनिबार राती स्वघा गरेको हो ।
नेपाली समाजमा असामयिक निधन भएकाको आत्मा भड्कने र त्यसले मानिसलाई दुःख दिने जनविश्वास छ । भड्केको आत्माले दुःख नदिओस् भनेर समावेशी तरिकाले हिन्दु सँस्कार विधि र जनजातिको लिम्बू सँस्कार विधि अनुसार पन्छाउने कार्य गरेको घण्टाघर व्यवस्थापन समितिले जनाएको छ । ‘कार्तिक २१ गते हिन्दु सँस्कार अनुसार १४ जना पण्डितहरुद्धारा विधि गर्यौं । जनजाति सँस्कारमा भड्केको आत्मालाई पन्छाउनुपर्ने विश्वास अनुसार लिम्बू सँस्कारअनुसार स्वघा गरेका हौं’–समितिका संयोजक मनोजकुमार मेन्याङ्बोले भने ।

लिम्बू सँस्कारमा शक्तिशाली विजुवाले स्वघा गरेपछि भड्केको आत्माले दुःख नदिने विश्वास गरिन्छ । स्वघा गर्न फावा खोलाबाट अमर मावो, विजय कङिलवा, आशबहादुर खजम(साम्बा) र तमोर खोलाबाट टेकबहादुर लिम्बू(साम्बा) विजुवालाई ल्याइएको समितिले जनाएको छ । कार्तिक २ गते मध्याह्न मोरङको हरैचा ९ की २१ बर्षी हेमन्ती मगरको घण्टाघरको माथिल्लो तला(करिब ५२ फिट उचाई)बाट खसरे मृत्यु भएको थियो । घटनालगत्तै घटनास्थलबाट नियन्त्रणमा लिएका व्यक्ति, मृतकका श्रीमान्को वयान र पोष्टमार्टम रिपोर्टलगायतको विश्लेषणबाट हेमन्तीले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो । उक्त घटनापछि घण्टाघर टावर चढ्न निषेध गरिएको छ ।

हेमन्तीले झै घण्टाघरको माथिल्लो तलाबाट सजिलै खस्न नसकोस भनेर समितिले सुरक्षाको लागि पक्की वाल माथि रेलिङ र जाली थपिरहेको छ । माथिल्लो तलामा रहेको करिब पाँच फिट पक्की वालमाथि रेलिङ र जाली थप्ने काम सकिएपछि टावर चढ्न खुला गरिने समितिको भनाई छ ।  माथिल्लो तलामा रहेको ५ फिट अग्लो वालमा अब थप ३ फिट १० इञ्च अग्लो रेलिङ र जाली थपिनेछ ।
जनसहभागीतामा भानुचौकमा बनेको घण्टाघर ०६२ साल पुष २० गते उद्घाटन गरिएको थियो । घण्टाघर धरान घुम्न आउनेहरुको प्रमुख गन्तव्य हो । घटनापछि टावर चढ्न निषेध गरिएकोले घण्टाघरको आम्दानी पनि घटेको छ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे