हङकङमा संकलित रकमले विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री दिइने


धरान । ‘सबैको लागि शिक्षा’ को नारा दिएर गएको डिसेम्बर महिनामा हङकङमा आयोजित बि–बोइङ फर एजुकेशन एण्ड म्युजिकल नाइट्स कार्यक्रमबाट संकलित रकम धरानको विष्णुपादुका, पाँचकन्या क्षेत्र र बक्लौरी गाविसका गरिब विद्यार्थीहरुलाई सहयोग गरिने भएको छ । कार्यक्रमको आयोजक एवं धरानको अग्रणी बि बोइङ संस्था द पेश युनियनले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न प्राथमिक विद्यालय र बाल विकास केन्द्रका विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामग्री सहयोग गर्ने जानकारी दिएको हो ।
 कार्यक्रमबाट सम्पुर्ण खर्च कटाएर बचेको एक लाख रकमबाट धरानको विष्णुपादुकास्थित वाल्मिकी प्रावि, पत्राङबारीस्थित पाँचकन्या प्रावि, ठिंगाबारीस्थित जनता प्रावि र पानबारीस्थित रणदेवी प्राविका २ सय ६८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिने क्वाङ छाङले जानकारी दिए । यस्तै, ३ वटा प्राविमा सञ्चालित बालविकास केन्द्रका ५७ जना साना विद्यार्थीहरुलाई पनि ५ हजारको दरले खेल तथा शैक्षिक सामग्री दिइने उनले बताए । ‘फागुन ८ र १० गते ती स्कुलहरुमा पुगेर शैक्षिक, खेल सामग्री वितरण गर्नेछौं । यसअघि बक्लौरीको दुई वटा स्कुललाई एक लाखबाट १० हजार बराबरको शैक्षिक सामग्री पनि वितरण गरिसकेको छौं’–क्वाङले भने ।
उनका अनुसार बक्लौरी ९ स्थित १३ बालबालिका प्रावि र बक्लौरी ५ स्थित पञ्चायत निमाविलाई उक्त सहयोग गरिएको हो । आयोजकका अनुसार एक विद्यार्थी बराबर १० वटा कपी, ५ वटा पेन्सिल, २ वटा सार्पनर, २ वटा इरेजरलगायत शैक्षिक सामग्री वितरण गरिनेछ । गरिब, असहाय विद्यार्थीहरुलाई शिक्षामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम २७ डिसेम्बर २०१४ मा आयोजना भएको थियो । हाल हङकङमा बसोबास गरिरहेका पक्कु चाम्लिङ राई, पुष्प रिखी राई, दया मगर, सञ्जम लिम्बू र तुला लिम्बूले कार्यक्रम आयोजना गरेका थिए । यस्तै, कर्मा इभेन्ट्सको प्रस्तुती रहेको उक्त कार्यक्रममा द पेशका बि बोइहरु अनुप लिम्बू, हरि गौतम, सुमन तामाङ र सञ्जीत राईले आफ्नो बि बोइ नृत्य प्रस्तुत गरेका थिए ।
‘सामुदायिक विद्यालयका अधिकांश विद्यार्थीहरु निम्न आर्थिक अवस्थाकै कारण शिक्षाबाट बञ्चित छन्, त्यसैले थोरै भएपनि सहयोग पुर्याउन सबैको लागि शिक्षा नारा दिएर कार्यक्रम गर्यौं । धरानका बि बोइहरुलाई बोलाएर अन्र्तराष्ट्रिय मञ्च पनि दिलायौं’–मंगलबार पत्रकार सम्मेलनमा उपस्थित पक्कु चाम्लिङले भनिन्–‘राम्रो उद्देश्य बोकेकोले कार्यक्रम सफल भयो ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे