प्रेम कविताहरु ‘आफ्नै छाया पछ्याएर’ को विमोचन
यी दुई नयनका के कुरा गरौं, जसमा सारा संसार छजसले जे भने नि हेर, मायाको त्यो नजर नै दमदार छ...।
शनिबार १४, फेब्रुअरी अर्थात प्रणय दिवस । प्रेमी प्रेमीकाहरु सारा संसारलाई भुलेर मायाको सागरमा डुबुल्की मारिहेको बेला धरानका गजलकार श्रेष्ठ परिक्रमा भने साहित्यकारका माझमा तिनै प्रेमीप्रेमिकाको भावनालाई गजलमार्फत प्रस्तुत गरिरहेका थिए । शनिबार प्रणय दिवसको अवसर पारेर धरान १८ स्थित विमल स्मृति पुस्तकालयमा आयोजित प्रसिद्ध प्रेमका कविताहरुको संग्रह आफ्नै छाँया पछ्याएरको विमोचन समारोह प्रेममय बनेको थियो । विमोचन कार्यक्रममा गजलकार श्रेष्ठले मात्रै होइन, अधिकांश कवि, कवियित्रीहरुले प्रेमका कविता, गजलहरु नै सुनाए ।
धरान, इटहरीलगायत क्षेत्रमा विगत चार बर्षदेखि कला, साहित्य र संगीतको क्षेत्रमा कलरव नामक साहित्यक संस्था क्रियाशिल थियो । सोही कलरवका पाँच युवा साहित्यकारहरु मिलेर कलरव प्रकाशन गृह स्थापना गरेका छन् । त्यही गृहले आफ्नो पहिलो प्रकाशनकोरुपमा शनिबार प्रेमका कवितहरुको संग्रह धरानसहित विभिन्न चार स्थानमा एकै समयमा विमोचन गरेको थियो । गृहका सदस्य एवं कवि सुदिप पाख्रिनका अनुसार शनिबार एकै दिन धरान, इटहरी, हेटौडा र काठमाण्डौंको शिल्पी थिएटरमा संग्रहको विमोचन गरिएको हो । धरानमा भाषाविद् डा.टंक न्यौपानेले संग्रहको विमोचन गरेका थिए ।
संग्रहमा ५४ वटा नेपाली कविहरुका प्रेमका कविताहरु समावेश गरिएको छ भने भारतेली नेपाली कविताहरु र अनुदित विश्वप्रसिद्ध कविका कविताहरु पनि समावेश गरिएको छ । संग्रहको सम्पादन युवा कवि हेमन यात्रीले गरेका हुन् । संग्रहमा माधव घिमिरे, वैरागी काइला, तुलसी दिवस, अभि सुवेदी, सरुभक्त, बिक्रम सुब्बा, श्रवण मुकारुङ, मनु मञ्जिल, मोमिलाजस्तो चर्चित नेपाली कविहरुको प्रेम कविता समेटिएको छ भने गुलजार, जेब उन निस्सा, सुतिन्दर सिंह नुर, पाब्लो नेरुदाजस्ता विख्यात साहित्यकारहरुको पनि प्रेम कविता छन् । विमोचन समारोहमा विभिन्न कवि, कवयित्रीहरुले विमोचित संग्रहका कविता र आफ्नै प्रेमका कविता पनि वाचन गरेका थिए ।
राष्ट्रिय प्रकाशन गृहहरुले कविता विधालाई अपहेलना गरिरहेको कारण कलरवले कविता विधालाई प्राथमिकता दिदै प्रकाशन गृह स्थापना गरेको कवि एवं गृहका सदस्य राजेश विद्रोहीले बताए । उनका अनुसार गृहले साहित्यका अन्य विधालाई पनि प्रकाशन अवसर दिए पनि कविता प्राथमिकतामा रहनेछ । कलरवमा आवद्ध युवा कविहरु हेमन यात्री, सुदिप पाख्रिन, सञ्जिव राई, राजेश बिद्रोही र चेवन राई मिलेर गृह सञ्चालनमा ल्याएका हुन् । कविता विश्वमै सर्वोच्च विधा भए पनि नेपालमा प्रकाशन गृहहरुले कविता संग्रह प्रकाशनमा कम चासो दिने गरेकोले मोफसलका कविहरु आफै जुर्मुराउनु परेको सञ्चालकहरुले बताएका छन् । कला, साहित्य र संगीतको क्षेत्रमा नौलो काम गर्ने उद्देश्यले पूर्वको शहर धरान र इटहरीका दर्जन कवि तथा कलाकारहरु मिलेर ०६७ माघमा कलरव गठन गरेका थिए । कलरवले पूर्वमा स्थानीयस्तरदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा सभा, सम्मेलनहरु गर्दै आइरहेको छ ।






Comments
Post a Comment