सय बर्षमा पनि छमछमी नाचिन् कृष्णकुमारी
धरान । ‘आमा कति सालमा जन्मिनु भएको ?’ पत्रकारले प्रश्न सोध्नुबित्तिकै जवाफ आयो–‘७१ सालमा ।’ कति बर्ष पुग्नु भयो ? कुनै अलमल बिना नै पुनः उस्तै गरि जवाफ आयो ‘सय बर्ष ।’ सुन्दा अचम्म लाग्छ, धरान १६, स्वामी चोककी कृष्णकुमारी बस्नेतले सय बर्ष अर्थात एक शतान्ब्दी बाँचेकी छिन् ।
यो उमेरमा पनि उनी आफै हिडडुल गर्छिन्, अरुले बोलेको सुन्छिन् र जवाफ पनि फर्काउन सक्छिन् । आइतबार उनको जन्म शताब्दी मनाउन घरमा आयोजित जन्मोत्सवमा आफ्ना सन्तान, आफन्तजनलाई आर्शिवाद मात्रै दिइनन्, भजनमा ठमठमी नाचेर सबैलाई छक्क पारिन् । सय बर्ष बाच्छु भन्ने आफु स्वयमलाई पत्यार नलागेको वृद्धा बस्नेतले बताइन् । ‘आज सय बर्ष पुगे, यतिका बर्ष बाँच्छु भन्ने लागेको थिएन’–नागरिकसँग उनले भनिन् ।
धनकुटा भिरगाउ पूख्यौली घर भएकी बस्नेतको माइतीघर तेह्रथुमको हमरजंग हो । उनको १९७८ सालमा भिरगाउका कर्णेल भक्तबहादुर बस्नेतसँग विहे भएको थियो । हाल उनी आफ्नी २ छोरीमध्ये कान्छी छोरी विमला थापाको साथमा धरान १६ मा बस्छिन् । श्रीमान्को मृत्यु ७ बर्ष अघि ९४ बर्षको उमेरमा भएको उनले बताइन् । स्वर्गीय भक्तबहादुरले धनकुटा क्याम्पसलाई झापाको वैगुनधारा गाविसमा सय विघा जमिन दान गरेका थिए । स्वर्गीय बस्नेत समाजसेवासँगै राजनीतिमा पनि थिए । पञ्चायतकालमा उनी संसादसमेत भएको नातिनि ज्वाई एवं अख्तियारको क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिए ।
कान्छी छोरी विमलाका अनुसार वृद्ध आमा कृष्णकुमारी आफै नुहाईधुवाई गर्छिन् । कपडा पनि आफै फेर्छिन् । पूजाआजा गर्न पनि उनलाई कसैको साथ चाहिन्न । खाना थोरै खाने वृद्धा बस्नेतलाई भने सुत्नुअघि स्याउ काटेर दिनुपर्ने छोरी विमलाले बताइन् । ‘बेलुका बेलैमा सुत्नुहुन्छ, राती बेला बेला बिउझिनु पनि हुन्छ’–उनले भनिन्–‘सबैसँग बोल्न सक्नुहुन्छ, कान पनि सुन्नुहुन्छ ।’
Comments
Post a Comment