नेवा च्यारिटी ८ के रनको तयारी पुरा


धरान । शनिबार आयोजना हुने तेस्रो नेवा च्यारिटी ८ के रन एवं दौड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक नेवा च्यारिटी तथा धरान रनले जनाएको छ । यसपाली संक्रमित बालबालिकाको शिक्षाको लागि आर्थिक स्रोत जुटाउनु प्रतियोगिताको लक्ष्य रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागीहरुले दर्ता वापत बुझाउने सम्पुर्ण रकम नाजुकस्थितिका संक्रमित बालबालिकाहरुको शिक्षा र आधारभुत आवश्यकतामा खर्च गर्ने गरि धरान पोजेटिभ समुहलाई दिइने संस्थापक अध्यक्ष सन्तोष राईले बताए । ‘अहिलेसम्म देशभरबाट एक हजार बढीको रजिष्ट्रेशन भइसकेको छ, यसवापत जे जति रकम संकलन हुन्छ, हामी कही खर्च नगरी बुझाउछौं’–उनले भने ।  प्रतियोगितामा सहभागी हुने धरान रनका नियमित सदस्यले २ सय रुपैयमा मात्रै शुल्क बुझाउनुपर्छ भने नयाँ प्रतियोगीले २ सय ५० रुपैया बुझाउनुपर्छ ।
नेपालका गरिब, असहाय व्यक्ति एवं त्यस क्षेत्रमा काम गर्ने संस्थालाई नेवा च्यारिटीले आर्थिक सहयोग गर्दै आइरहेको छ । प्रतियोगितामा लाग्ने भौतिक एवं आर्थिक खर्च बेलायतमा रहने नेपालीहरुबाट सहयोग जुटाएर शुल्क वापत संकलित रकम सहयोगस्वरुप दिइदै आएको अध्यक्ष राईको भनाई छ । प्रतियोगिताको पहिलो संस्करणबाट संकलित रकमले अशक्त साहित्यकार लक्ष्मी राईलाई सहयोग गरिएको थियो भने दोस्रो संस्करणबाट संकलित रकम दृष्टि नेपालको ह्यापी होमलाई प्रदान गरिएको थियो । यो संस्थाले बुधबार धरानको भानुचौकमा करिब ३ घण्टा रिक्सा चलाएर एचआइभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि २० हजार बढी रकम संकलन गरेको थियो ।
प्रतियोगितामा खुला, महिला, भेट्रान र जुनियर गरि चार क्याटोगोरीमा स्पर्धा हुनेछ । खुला र महिलातर्फको प्रथम हुनेले जनही नगद ३० हजार, दोस्रोले २० हजार तेस्रोले नगद १० हजार पाउनेछन् । यसमा १३ बर्षदेखि ४० बर्ष उमेर समुहकाले स्पर्धा गर्न पाउनेछन् । यस्तै, ४० बर्ष माथिको भेट्रान र १३ बर्ष मुनिका जुनियरतर्फको विजेता जनही नगद ५ हजार, ३ हजार र २ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।

धरानको भानुचौकस्थित लोकतान्त्रिक चौतारीबाट शुरु हुने दौड धरानको विभिन्न चौक हुदै विजयपुर क्षेत्रबाट पुनः देशीलाइनमा आएर टुंगिनेछ । यसको दुरी ८ किलोमिटरको छ । प्रतियोगितामा गएको एसियन च्याम्पियनसिपमा नेपालको लागि एक मात्र पदक विजेता खेलाडी विमला तामाङ प्रमुख अतिथि भएर आउनेछिन् भने गत बर्ष प्रमुख अतिथि भएर आएका चर्चित धावक बैकुण्ठ मानन्धरले पनि प्रतिस्पर्धीकारुपमा सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको लागि डेढ सय स्वयमसेवक खटाइने, ३ वटा एम्बुलेन्स र बीपी प्रतिष्ठानका मेडिकल टिम पनि खटिने आयोजकले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे