शनिबारदेखि शुरु हुने बुढासुब्बा गोल्डकपको तयारी पुरा

धरान । शनिबारदेखि शुरु हुने १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक धरान फुटबल क्लबले शुक्रबार प्रतियोगिताको अन्तिम पत्रकार सम्मेलन गरेर उद्घाटन समारोहको भव्य तयारीमा जुटेको जानकारी दिएको छ । बुढासुब्बा गोल्डकप धरान १७ स्थित एन्फा टेक्निकल खेल मैदानमा फागुन १६ देखि २३ गतेसम्म  सञ्चालन हुदैछ ।
प्रतियोगितालाई भव्यरुपमा सञ्चालन गर्न प्रचार प्रसारलाई तीब्रता दिइएको छ भने मैदान मर्मत, स्वागतद्धार, तुल ब्यानरलगायतको सम्पुर्ण काम सकिएको आयोजक क्लबले जनाएको छ । मैदानमा दर्शकलाई सहजताको लागि १२ वटा बाँसको प्याराफिट निर्माण गरिएको उपाध्यक्ष एवं मैदान व्यावस्थापन समितिका संयोजक धनप्रसाद राईले बताए । ‘प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको छ, छिटपुट केही बाँकी भए त्यसलाई पनि भोली(शुक्रबार) सक्छौं’–उनले भने । उनका अनुसार एउटा बाँसको प्याराफिटमा सय जना दर्शक अट्ने क्षमता रहेको छ । मैदानको पूर्वपटि २ हजार ५ सय क्षमताको पक्की प्याराफिट छ ।
उद्घाटनलाई भव्य बनाउन विभिन्न जातीय संघसंस्थाहरुको झाँकी र र्याली प्रर्दशन गरिनेछ भने विद्यार्थीहरुबाट मार्च पास र जिल्ला खेलकुद विकास समितिअन्र्तगतको विधागत संघसंस्थाहरुबाट प्रर्दशनी खेलहरु पनि देखाइने क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले बताए । ‘तयारी सबै सकिएकोले उद्घाटनलाई कसरी भव्य बनाउने भनेर जुटेका छौं, क्लबहरु पनि भोलीदेखि आउनेक्रम शुरु हुन्छ’–उनले भने–‘यो प्रतियोगिता क्लबको मात्रै नभएर खेलप्रेमी सम्पुर्ण धरानबासी, पूर्वाञ्चलबासीहरुको बनाउन प्रयत्नमा छौं ।’
प्रतियोगितामा शनिबार उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र रुपन्देहीको लिस्नु क्लबबीच हुनेछ । उद्घाटन सुनसरी क्षेत्र नम्बर १ का संविधासभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार राईबाट हुनेछ । उद्घाटन समारोहमा नेपाली तारा सिजन ३ का उत्कृष्ट तीनमा पर्न सफल इटहरीका कलाकार देवेश राईको सांगीतिक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भारत कलकत्ताको बेलगरिया स्पोर्टिङ क्लबसहित विभिन्न ८ वटा टिमले सहभागीता जनाएको छ । सहभागी टिममा आयोजक, रुपन्देहीको लिस्नु क्लब, त्रिभुवन आर्मी क्लब, पोखरा ११ कास्की, सशस्त्र प्रहरीको एपिएफ, झापाको मुनाल क्लब र मनाङ मस्र्याङ्दी क्लब रहेको छ । पहुना टोली बेलगरिया पहिलो सँस्करणको विजेता हो भने झापाको मुनाल, पोखरा ११ र रुपन्देहीको लस्नु क्लबले बुढासुब्बामा पहिलो पटक सहभागीता जनाएको हो । फागुन २३ मा हुने फाइनलको विजेताले नगद ३ लाख ६० हजार र उपविजेताले नगद १ लाख ८० हजार पाउनेछ । उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइनेछ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे