गोर्खा भर्ती २ सय बर्ष पुगेको अवसरमा साइकल यात्रा

हाल ब्रिटिश सेनामा कार्यरत एक बेलायती नागरिकसहित ९ जना गोर्खाली युवाहरु मंगलबार सबेरै धरान १८ स्थित ब्रिटिश गोर्खाज धरानमा भेला भए । विभिन्न युद्धमा ज्यान गुमाएकाहरुको शव राखिएको स्थानमा पुगेर पुष्पमाला र श्रद्धाञ्जली अर्पण गरेपछि उनीहरु ९ दिनको लामो साइकल यात्रामा निस्किए । भारतमा शासन गरिरहेको ब्रिटेनको तत्कालीन इष्ट इष्डिया कम्पनी र नेपालबीच सन् १८१४ देखि १८१६ सम्म पटक पटक युद्ध भएको इतिहास छ । अंग्रेज गोर्खा युद्धको नामले चर्चित ती युद्धमा गोर्खाली सेनाले देखाएको शाहस, बहादुरीपनबाट अंग्रेजहरु प्रभावित भएका थिए । युद्ध अन्त्य गर्ने शान्ति सम्झौता हुँदा गोर्खालीहरु इष्ट इष्डिया कम्पनीको फौजमा रहेर काम गर्न सहमत भए । अंग्रेजको फौजमा सन् १८१५ मार्च महिनादेखि गोर्खालीहरु भर्ती हुन थालेको मानिन्छ । यसैको आधारमा ब्रिटिश सेनामा नेपालीहरु भर्ती भएर सेवा गरेको अवधि सन् २०१५ मा दुई सय बर्षमा प्रवेश गरेको छ ।

गोर्खा वेल्फेयर ट्रष्टको लागि आर्थिक सहयोग संकलन गर्ने साइकल यात्राको अर्को महत्वपुर्ण उद्देश्य हो । दश लाख रुपैया संकलन गर्ने लक्ष्य लिएको यात्रा शुरु हुनुअघि मंगलबार ७जिआर रेजिमेन्ट एशोसिएशसन सुनसरीले १० हजार ब्रटिश गोर्खा धरानले ३ हजार ८ सय रुपैया पनि सहयोग हस्तान्तरण गर्यो । बेलायती सेनामा हाल ३ हजार हाराहारीमा नेपाली युवाहरु कार्यरत छन् । युद्धमा जानुपर्ने जोखिम भएपनि आर्कषक तलब र सपरिवार बेलायत रहन पाउने सुविधाको कारण हिजोआज युवाहरुमा गोर्खा भर्तीप्रति आर्कषण बढ्दो छ । ब्रिटिश सेनामा भर्ती हुन एसएलसी उर्तीण र साढे १७ बर्षदेखि साढे २१ बर्ष उमेर ननाघेको युवा हुनुपर्छ ।
गोर्खा भर्तीको २ शताब्दीको अवसरमा आगामी मार्च २६ मा काठमाण्डौंमा भव्यरुपमा ब्रिगेड भेला हुदैछ भने २८ तारिखमा धरानमा ७जिआरको भेला हुने कार्यक्रम छ । यस्तै, मार्च २८ देखि ३० सम्म पोखरामा २ जिआरको भेला हुनेछ भने सेप्टेम्बर महिनामा धरानमा क्विन्स गोर्खा सिग्नलको भेला हुने ब्रिटिश गोर्खाज नेपालले जानकारी दिएको छ । यस्तै, बेलायतमा जुन र जुलाई महिनामा भव्य कार्यक्रम एवं गतिविधिहरु हुनेछ भने बेलायतबाटै आएको टिमले सगरमाथा आरोहण पनि गर्ने गोर्खा मेजर मोहराले जानकारी दिए । तत्कालीन इष्ट इण्डिया कम्पनीले भारतमा शासन गरिरहदा गोर्खाली सेनाको १० वटा रेजिमेन्ट थियो । दोस्रो विश्वयुद्ध पछि स्वतन्त्रता आन्दोलनको कारण अंग्रेजले भारत छोडेर जादा १० गोर्खा रेजिमेन्टमध्ये दोस्रो, छैटौं, सातौं र दशौं गोर्खा राइफल बेलायत लिएर गएको इतिहास रहेको पूर्वगोर्खा मेजर दलबहादुर राई बताउछन् ।
Comments
Post a Comment