फागुन ७ देखि १६ गतेसम्म १७ औं बुढासुब्बा गोल्डकप हुने


धरान । अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको १७ औं सँस्करण फागुन पहिलो सातादेखि सञ्चालन हुने भएको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै फागुन ७ गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।
विगतका सँस्करणहरु चैत महिनामा आयोजना हुदै आएको थियो । चैतमा प्रतिकुल मौषमले प्रतियोगितामा असर पुगेको भन्दै आयोजकले १७ औं सँस्करण फागुन पहिलो सातामै आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुनेछ । २०५५ सालदेखि शुरु भएको मोफसलको प्रतिष्ठित बुढासुब्बा गोल्डकप कुनै पनि बर्ष रोकिएको छैन । हालसम्म प्रतियोगितामा सहभागी हुने एक दर्जन क्लबको नाम तय भइसके पनि कम्तीमा १० वटा टिम सहभागी हुने क्लबका अध्यक्ष एवं एन्फाका केन्द्रीय उपाध्यक्ष किसोर राईले बताए । ‘अहिलेसम्म १२ वटा क्लब सहभागी हुने भएको छ, कम्तीमा १० वटा टिम सहभागी हुने निश्चित छ’–उनले भने । आयोजकले प्रतियोगितामा सहभागी हुने भारतको तीन वटा टिमसहित एक दर्जन क्लबको नाम सार्वजनिक गर्दा साविक विजेता अफ्रिकन युनाइटेड र उपविजेता सहारा क्लब पोखराको नाम भने छैन । यस्तै, बुढासुब्बा गोल्डकपको सर्वाधिक चार पटकको विजेता थ्री स्टार क्लब र तीन पटकको विजेता नेपाल पुलिस क्लबले पनि यो सँस्करणमा सहभागीता जनाउने छैन ।
प्रतियोगितामा आमन्त्रित टिमकोरुपमा भारतको जर्ज टेलिग्राफ कलकत्ता, दुर्गापुर कलकत्ता र भाइचुङ भुटियाको सिक्किम ११ ले पहिलो पटक सहभागीता जनाउदैछ भने पहिलो पटक रुपन्देही ११ र कास्की फुटबल संघ, पोखराले पनि पहिलो पटक सहभागी हुदैछ । यसैगरि, फ्रेण्डस् क्लब काठमाण्डौंले दोस्रो पटक सहभागी हुने सँस्करणमा मनाङ मस्र्याङदी क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लबसहित आयोजकको धरान रातो र निलो गरि दुई टिम सहभागी हुने उपाध्यक्ष धनप्रसाद राईले बताए । ‘प्रतियोगितामा नेपाल, भारत र भुटानका क्लबहरुलाई सहभागी गराएर तोकिएको समयभित्रै आयोजना गर्न हामी दृढ छौं । यो सँस्करणमा मेचीदेखि महाकालीसम्मका उत्कृष्ट क्लबहरुलाई सहभागी गराउने नीति लिएका छौं’–उनले भने ।
यो सँस्करणमा विजेता, उपविजेताको पुरस्कार राशीमा वृद्धि गरेर प्रतियोगिताको कुल पुरस्कार राशी ८ लाख २६ हजार पुर्याइएको छ । विजेताले ३ लाख ५० हजारसहित ट्रफी र उपविजेताले नगद १ लाख ७५ हजार पाउनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल हात पार्नेछ । यस्तै, उच्च गोलकर्ताले नगद २१ ह्जार पाउनेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले जनही नगद १० हजार पाउनेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल अनुमानित आय ५० लाख ५१ ह्जार र व्याय ४५ लाख ७१ ह्जार रुपैया रहने अनुमान गरिएको आयोजकको भनाई छ । रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगितामा टुबोर्ग, ताईपाई चाउचाउ र यामाहा मोटरसाइकल सहप्रायोजक रहेको छ ।

......................................................................................

                          एन्फाले प्रतिशोध साधेको आरोप

बुढासुब्बा रेडबुल गोल्डकपको आयोजकले दुई महिना अघिदेखि नै १७ औं सँस्करणको तयारी थालेको थियो । गोल्डकप आयोजनाको मिति सम्बन्धमा अखिल नेपाल फुटबल संघ(एन्फा)लाई समयमा नै जानकारी गराए पनि हालसम्म नियतवश राष्ट्रिय लिगको खेलतालिका उपलब्ध नगराएर अफ्ठ्यारोमा पारेको आयोजक क्लबले आरोप लगाएको छ । एन्फामा भएको भ्रष्टचार तथा अनियमितताबारे सुनसरी जिल्ला र बिशेष गरि क्लबका अध्यक्षसमेत रहेका एन्फा उपाध्यक्ष किसोर राईले आवाज उठाएकोले त्यसैको प्रतिशोध स्वरुप बुढासुब्बा गोल्डकपलाई असहयोग भएको महासचिव प्रताप तामाङले बताए । ‘पछिल्लो समय विभिन्न ठाउँमा भइरहेको प्रतियोगितालाई एन्फाले राष्ट्रिय लिगको खेलतालिका दिएको छ, तर २ महिना अघिदेखि नै तयारी गरेको बुढासुब्बा गोल्डकपलाई भने अहिलेसम्म पनि राष्ट्रिय लिगको खेलतालिका दिइएको छैन’–महासचिव तामाङले भने–‘यो एन्फामा भएको भ्रष्टचार र गणेश थापाको स्वेच्छाचारी प्रवृतिको हामीले विरोध गर्दाको प्रतिशोधकोरुपमा लिएका छौैं ।’
विगतमा एन्फा नेतृत्वबारे गणेश थापा र गिता राणाबीचको विवादमा नेपालमा कुनै प्रतियोगिता हुन नसक्दा मोफसलमा धरानको बुढासुब्बा र पोखराको आहा गोल्डकपले राष्ट्रिय फुटबल धानेको स्मरण गराउदै उनले व्यवहार सच्याउन एन्फा नेतृत्वसँग आग्रह गरेका छन् । एन्फाले राष्ट्रिय लिगको खेल तालिका नपठाउदा ए डिभिजन क्लबहरुको सहभागीतामा असर पुग्नसक्ने भएपनि तोकिएको समयमानै प्रतियोगिता आयोजना गर्ने अध्यक्ष किसोर राईले दाबी गरे । ‘खेल तालिका मात्रै होइन, आयोजना गर्नुस् भनेर स्वीकृति पनि दिएको छैन, तर हामी प्रतियोगिता रोक्दैनौं । आशा छ, एन्फाले राष्ट्रिय लिगको खेल तालिका र स्वीकृति दिनेछ’–उनले भने–‘फुटबलमा योगदान दिएका मोफसलका जिल्ला र टिमलाई पनि सहभागी गराएर भएपनि आयोजना गरिछाड्छौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे