नेवार एकताको रक्तदानमा ५५८ पिन्ट रगत संकलन
धरान । धरानलाई रक्तदाताहरुको शहर बनाउने उद्देश्यले शनिबार धरानको भानुचौकमा वृहत रक्तदान कार्यक्रम भएको छ । नेवार एकता समाजको तेस्रो बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ५ सय ५८ पिन्ट रगत संकलन भएको थियो ।
पूर्वको सबै जिल्लाबाट विरामी रिफर भएर आउने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभावले विरामी अकालमा मृत्युवरण गर्न नपरोस् भनेर वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कार्यक्रममा एक हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको थियो । ‘स्थापनाकालदेखि नै संस्थाले रक्तदान कार्यक्रम गर्दै आइरहेका छौं, धरानमा उपचार गराउन आउने विरामीहरुलाई रगत अभावले छटपटिनु नपरोस् भनेर यसपाली वृहतरुपमा गरेका हौं’–समाजकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक शिला बज्रचार्यले भनिन् ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति उमेश थापका अनुसार सुनसरीमा मात्रै बाषर््िाक १५ हजार पिन्ट रगतको माग छ । नेवार एकता समाज, बराह ज्वेलर्स, बीपी प्रतिष्ठानका विद्यार्थीहरुको कमिटिलगायत अन्य संघसंस्थाहरुको सहकार्यले नै रगत अभावमा विरामीले अकालमा मर्न नपरेको उनले बताए । ‘हाम्रो संस्थाले पनि धरान, सुनसरीलाई नै रक्तदाताको जिल्ला बनाउने अभियान चलाएका छौं, उक्त अभियानमा यस्ता संघसंस्थाहरुको ठुलो भुमिका रहन्छ’–उनले भने–‘४५ बर्ष उमेर पुगेका निरोगी व्यक्ति सबैले रगत दिनमिल्छ, त्यसैले सबैलाई मेरो आग्रह छ, रक्तदान गरेर जीवन दान गरौं ।’ पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआइजी माधवप्रसाद जोशी प्रमुख अतिथि रहेको कार्यक्रममा एसएसपी ज्ञानबिक्रम शाह, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।
Comments
Post a Comment