मातेर मोटरसाइकल चलाउने प्रहरीलाई मापसे जाँच हुदैन ?

टेम्पो चालक युवराज रिजाल । 
धरान । सोमबार राती करिब एघार बजेतिर को १ ह ४५१ नम्बरको टेम्पो छाताचोकबाट भानुचौकतिर जादै थियो । नविल बैंकनिर पुगेपछि विपरीत दिशाबाट हुइकिदै मोटरसाइकल आएर टेम्पोमा ठोक्कियो । मोटरसाइकल चालकले मादकपदार्थ सेवान गरेको रहेछ, ह्वास्सै गन्हाउथ्यो ।
दुर्घटनामा टेम्पो चालकको कुनै गल्ती थिएन, तर प्रहरीले उल्टै टेम्पो र चालक युवराज रिजाललाई नियन्त्रणमा लियो । मोटरसाइकल चालक कोशी अञ्चल प्रहरी गुल्मका प्रहरी जवान कृष्णकुमार श्रेष्ठ रहेछन् । घाइते श्रेष्ठलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याइएको थियो । टेम्पो चालक रिजालले आफ्नो कुनै गल्ती नभएको भन्दै आफु र मोटरसाइकल चालकको मादक पदार्थ सेवन गरे नगरेको मेडिकल जाँच गर्न माग गरे । प्रहरीले उनको मागलाई धेरैबेरसम्म बेवास्ता गरिरह्यो । लामो प्रतिवादपछि बल्ल जाँच भयो, तर बीपीका आकस्मिक कक्षका डाक्टरहरुले कुनै जाँच नगरि आँखाले हेरेको भरमा मापसे नगरेको रिपोर्ट दिए । त्यसपछि निक्कैबेर डाक्टर, प्रहरी र टेम्पो चालक पक्षधरका मानिसहरुबीच चर्काचर्की र विवाद चल्यो । केहीबेर प्रहरी र टेम्पो चालकहरुबीच ठेलमठेलसमेत भयो ।
‘मेरो कुनै गल्ती थिएन, टेम्पो आफ्नो साइडमा लैजादै थिए । मोटरसाइकल नै हुइकिदै आएर ठक्कर दिएको हो’–मंगलबार टेम्पो चालक रिजालले दुःखेसो पोख्दै भने–‘मोटरसाइकल चलाउने पुलिस रहेछ, रक्सी खाएको ह्वासै गन्हाउथ्यो । मैले राम्रोसँग मेडिकल जाँच गरौं भने, तर मापसे गरेको छैन भनेर डाक्टरले रिपोर्ट दिदा साह्रै दुःख लाग्यो ।’ दुर्घटना हुदाको समय सोमबार राती उनी समापन भएको धरान सडक उत्सवको स्टलबाट सामान ओर्सार्दै थिए । टेम्पोलाई ठक्कर दिएपछि आफुले रोकेर भाईहरुले के गरेको भनेर कुरा गर्दा मोटरसाइकलको पछाडि बस्ने अर्को व्यक्तिले भने केही भएको छैन दाई, तपाई जानुस् भनेको रिजालको भनाई छ । बीपीको प्रहरी विटमा रहेको प्रहरीले पनि मादक पदार्थ सेवन गरेर धम्की दिएकोले आफुहरुले उनको पनि मापसे जाँच गर्न माग गरेपनि सुन्दै नसुनेको उनले बताए ।
बीपीमा रगत जाँच गर्न नमानेको मोटरसाइकल चालकको रगत देखाउदै टेम्पो चालकका आफन्तजन ।
टेम्पो चालकहरुले भने बीपीको आकस्मिक कक्षमा प्रहरीको विट रहेको र त्यहाँका प्रहरीको दबाबमा डाक्टरले कुनै जाँच नगरी मापसे नगरेको रिपोर्ट दिएको आरोप लगाएको छ । चालक, सर्वसाधारणले मापसे गरेर सवारी चलाउदा, दुर्घटना गराउदा मेडिकल जाँच गराएर जरीवाना र कारबाही गराउने प्रहरीले आफ्नो संगठनको मान्छेले गल्ती गर्दा भने जोगाएको भन्दै उनीहरु रुष्ट छन् । ‘डाक्टरले यसो हेरेकै भरमा मापसे गरेको छैन भन्यो । हामीले रगत जाँच गर्नुस् न भन्दा मेशिन बिग्रिएको छ भने’–टेम्पोको संगठन जनसेवा यातायातका अध्यक्ष विकेस श्रेष्ठले भने–‘हामी चालक र जनतालाई मात्रै मापसे जाँच गर्ने हो ?’ उनका अनुसार टेम्पो चालकहरुले रगत जाँच गर्न दबाब दिएपछि डाक्टरले मोटरसाइकल चालकको रगत तानेको थियो । तर, मेशिन बिग्रिएको छ भन्दै जाँच गर्न मानेनन् । बाहिरको ल्याबबाट जाँच गरेर ल्याउने भनेपनि डाक्टर र प्रहरीले त्यसलाई आधिकारिकता नदिने भनेको उनले बताए ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन भटराईले भने टेम्पो चालक, मोटरसाइकल चालक र उसको पछाडि बस्ने व्यक्तिकोसमेत मेडिकल जाँच गरेको दाबी गर्दै कसैले पनि मापसे सेवन गरेको रिपोर्टमा नदेखिएको बताए । ‘जाँच गरेकै हो, अस्पतालले के उपकरणले जाँच गर्छ त्यसमा हामीलाई सरोकार हुदैन । तर, मापसे कसैले पनि नगरेको रिपोर्ट दिएको छ’–उनले भने । मोटरसाइकल चालक घाइते भएकोले उनको उपचार पछि क्षतिपुर्तिलगायत बिषयमा छलफल गर्ने सहमति भएको उनले बताए ।
टेम्पो चालकहरुले दुर्घटनाको सत्य, तथ्य छानबिन हुनुपर्ने भन्दै रातभर र मंगलबार बिहान पनि प्रहरीलाई दबाब दिएपछि वडा प्रहरी कार्यालयको टोली दुघटनास्थलमा मुचुल्का उठाउन पुगेको थियो । साथै, चालकहरुले टेम्पोमा पनि क्षति पुगेको भन्दै क्षतिपुर्तिको माग पनि गरेका थिए । इलाका प्रहरी कार्यालयमा भएको वार्तामा मोटरसाइकल चालक घाइते भएकोले उनको उपचार पछि पुनः छलफल गर्ने सहमतिमा चालक र टेम्पो छोडेको छ । तर, टेम्पोको ब्लु बुक भने प्रहरीले नदिएको चालक रिजालले बतए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे