धरान र इटहरी उपमहानगरबीच सिमा विवाद

धरान । नेपाल सरकारले उपमहानगरपालिका घोषणा गरेसँगै पूर्वका दुई धरान र इटहरी उपमहानगरबीच सिमा क्षेत्रबारे विवाद सृर्जना भएको छ । छिमेकी गाविसलाई गाभेर उपमहानगरपालिका घोषणा भएलगत्तै इटहरीले सिमाक्षेत्र भन्दै सेउती पुल नजिक स्वागत बोर्ड राखेपछि विवाद निम्तिएको हो ।
 धरान उपमहानगरले आफ्नो सिमाक्षेत्र अतिक्रमण हुने गरि इटहरीले बोर्ड राखेको भन्दै औपचारिकरुपमा नै इटहरीसँग असन्तुष्टी जनाइसकेको छ । सिमाक्षेत्रबारे कार्यकारी अधिकृतस्तरमा टेलिफोन कुराकानी भएपनि इटहरीले बोर्ड नहटाएपछि धरान उपमहानगरले पत्र पठाएर नै आफ्नो सिमाक्षेत्रमा बोर्ड राख्न आग्रह गरेको जनाएको छ । ‘हाँसपोशा गाविस इटहरीमा मिसियो भनेर सेउतीमा इटहरीले स्वागत बोर्ड राखेपछि विवाद बढेको हो’–धरान उपमहानगरका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने–‘यसबारेमा कार्यकारी अधिकृतस्तरमा कुराकानी भयो । पछि, पत्र पठाएर नै जिआइएस अनुसार आफ्नो सिमाक्षेत्र यकिन गरेर बोर्ड राख्न भनेका छौं ।’
सुचना शाखाका अनुसार विगतमा नगरपालिका हुदा नै जिआइएस अनुसार र मन्त्रालय,राष्ट्रिय तथ्यांक विभागलगायत निकायको प्रकाशनमा धरान नगरपालिकाको क्षेत्रफल १०३.३८ वर्गकिलोमिटर थियो । त्यसअनुसार धरानको क्षेत्रफल कोशी राजमार्गको पश्चिमपटि हासपोशा गाविसको पानीपिया र पूर्वमा चारकोशे जंगल बीचको फायरलाइनसम्म थियो । तर, यसबिषयमा भने स्वयम धरान नगरपालिका नै अनभिज्ञ थियो । तत्कालीन हासपोशा गाविस र धरानले सेउती पुललाई नै सिमाना मान्दै आएको थियो । सरकारले जनसंख्या, एमसिपिएम मुल्यांकनसँगै क्षेत्रफलको आधारमा पनि अनुदान पठाउने गरेको जानकारी पाएपछि मात्रै धरान नगरपालिकाले आफ्नो वास्तविक क्षेत्रफल र सिमानाबारे प्रष्ट भएको थियो । ‘पहिला बसोबास भएको आवादी क्षेत्रफल २१.१२ वर्गकिलोमिटर मात्रै धरान हो भन्थ्यौं, तर मन्त्रालय, तथ्यांक विभागका प्रकाशन र जिआइएसमा धरानको क्षेत्रफल ४ गुणा बढी भएको थाह पायौं’–सुचना अधिकृत भक्तिराज शर्माले भने–‘यसहिसाबले अहिले इटहरीले बोर्ड राखेको भन्दा धेरै तल(दक्षिणतर्फ) धरानको क्षेत्रफल पुग्छ ।’ धरानमा पाँचकन्या र विष्णुपादुका गाविस पनि गाभिएर अहिले १९२.५० वर्गकिलोमिटर क्षेत्रफल पुगेको छ ।
इटहरी उपमहानगरपालिकाले भने साविक हाँसपोशा गाविस गाभिएको कारण पुरानै सिमानाको आधारमा बोर्ड राखिएको जनाएको छ । इटहरीका कार्यकारी अधिकृत पशुपति खतिवडाले सिमाना मिचिएको धरानको पत्र प्राप्त भएको र त्यसबारेमा साविक हाँसपोशाका प्रतिनिधिहरुसहि त छलफल गरिने बताए । ‘सेउतीको पुरानो पुलमा हाँसपोशा गाविसको बोर्ड थियो, गाविस गाभिएपछि इटहरीले त्यसैको आधारमा बोर्ड राखेको हो’–कार्यकारी अधिकृत खतिवडाले भने–‘धरानबाट पत्र आएको छ, त्यसबारेमा हाँसपोशासहित छलफल गर्नुपर्छ ।’
धरानले भने यसअघि जिविस परिषदले पनि सरकार एवं जिआइएस सिमांकनको आधारमा सिमाक्षेत्र मान्ने निर्णय गरिसकेकोले विवाद सृर्जना गर्न नहुन जनाएको छ । धरानको खानेपानी परियोजनाको लागि डिजाइन सर्वेको क्रममा पनि हाँसपोशाबाट बक्लौरी जाने बाटो उत्तर ५० घर धरान क्षेत्रमा पर्ने नयाँ तथ्य भेटिएको थियो । तर, त्यतिबेला विवाद बढ्नसक्ने भएकोले त्यसरी बोर्ड नराखिएको धरानका प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडाले बताए । ‘हामीले के मात्रै भनेका हौं भने सरकारले गरेको सिमांकनको आधारमा आफ्नो क्षेत्र यकिन गरेर बोर्ड राख्नुपर्छ’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे