बीपीमा आइसियु वेड र भेन्डिलेटर नपाएर विरामी छटपटिदै


धरान । नुनढाकी ८, संखुवासभाका २८ बर्षीय लाक्पा शेर्पाको सोमबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्द्राको शल्यक्रिया भयो । चिकित्सकले कुहिएको आन्द्रा काटेर गाँसिसकेपछि शल्यक्रिया कक्षबाट सघन उपचार कक्ष(आइसियु)मा पठाउनुपथ्र्यो । तर, शेर्पालाई मध्य राती अप्रेशन थिएटरबाट सिधै सर्जरी वार्डको युनिट २ को १४ नम्बर वेडमा लगियो ।
मध्यरातमा वार्डमा सारिएका शेर्पा मंगलबार दिनभर नै छटपटिरहे । उनलाई तत्काल आइसियु कक्षमा भेण्डिलेटरमा राखिनुपथ्र्यो । तर, आइसियु कक्षमा बेड अभाव भएको भन्दै शेर्पालाई वार्डमा नै राखियो । गम्भीर अवस्थाका शेर्पालाई दिनभर आफन्तले ह्याण्ड पम्प(एम्पुल)बाट कृत्रिम स्वासप्रश्वास दिइरहे । चिकित्सकले अन्यत्र आइसियु खाली भए लैजान भनेपछि शेर्पाका आफन्तहरु दिनभर तनावमा रहनुपर्यो । ‘आइसियु खाली छैन भनेर बेडमै राखिएको छ, के गर्ने भनेर निक्कै चिन्तामा छौं’–शेर्पाका भाई दावा शेर्पाले भने–‘विराटनगरतिर लैजाने भनेर आइसियु खाली छ, छैन भनेर खोज्दैछौं ।’
उपचारमा खटिएका एक नर्सका अनुसार शेर्पालाई तत्काल आइसियु र भेन्डिलेटरको आवश्यकता छ । प्रतिष्ठानमा खाली नभएकोले विरामीलाई अन्यत्र लगेर भएपनि आइसियुमा राख्न आफन्तलाई सुझाइसकेको ती नर्सले बताइन् । ‘यहाँ(बीपीमा) आइसियुमा बेड नै छैन, त्यही भएर अरुतिर खोज्नु भनिसकेका छौं’–ती नर्सले भनिन् ।
आन्द्राको अप्रेशन गरिएका संखुवासभाका शेर्पा एक प्रतिनिधि पात्र मात्रै हुन् । पूर्वमा धेरै विरामी रिफर भएर आउने धरानस्थित बीपी प्रतिष्ठानमा पर्याप्त आइसियु र भेन्डिलेटर नहुदा सर्वसाधारण विरामी एवं तिनका आफन्तले यस्तै सास्ती भोग्नु परिहेको छ । प्रतिष्ठानको आइसियुमा वेड नपाएपछि विरामीहरु विराटनगरस्थित महंगो निजी अस्पतालको आइसियुमा वेड खाली छ छैन भनेर भौतारिनुपर्छ । कतिपय गम्भीर अवस्थाका विरामीको बाटोमा नै मृत्यु हुनपनि सक्छ । बीपीमा दुई हजार पाँच सयमा पाइने आइसियु वेडलाई विरामीले निजी अस्पतालमा ८ देखि १० हजारसम्म तिर्नबाध्य हुनुपर्छ । प्रतिष्ठान सञ्चालन भएको दुई दशक पुग्न लाग्दा पनि आवश्यकता अनुसार आइसियु कक्ष र भेन्टिलेटरको क्षमता विस्तार नहुदा यो अवस्था आएको हो ।
आइसियु र भेन्डिलेटर अभावमा सर्वसाधारण विरामीले भोग्नु परिरहेको सास्तीप्रति अस्पताल प्रशासन जानकार छ । अस्पताल प्रशासनका अनुसार प्रतिष्ठानबाट दैनिक ५ देखि १० जना विरामीलाई आइसियु वेड अभावकै कारण अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ । ‘आइसियुको क्षमता कम छ, त्यही भएर दैनिक ५ देखि १० जना विरामीलाई बाहिर रिफर गर्न हामी बाध्य छौं’–अस्पताल निर्देशक डा.अरविन्द कुमार सिन्हाले भने–‘तर, अब हामी क्षमता विस्तार गर्ने तयारीमा छौं ।’
निर्देशक सिन्हाका अनुसार प्रतिष्ठानमा ३३ वेड क्षमताको आइसियु, सिसियुको लागि छुट्टै भवन बनाउने तयारी भइरहेको छ भने आइसियुमा तत्काल १० वटा भेन्टिलेटर थप्न टेण्डर प्रक्रिया अघि बढिसकेको छ । हाल प्रतिष्ठानमा ११ वेडको आइसियु र ४ वेडको सिसियु कक्ष छ भने बच्चाको एनआइसियु र पिआइसियु तथा गाइनोको एमआइसियु गरि १७ वेड छ । यस्तै, हाल १६ वटा मात्रै भेन्टिलेटर उपलब्ध छ । ‘सेवा विस्तार गर्दा विरामीहरुले सस्तोमा नै यही सेवा पाउछन्, अन्यत्र महंगोमा भौतारिनु पदैन’–सिन्हाले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे