११ औं धरान सडक उत्सव शुरु

धरान । ‘घुम्न जाउँ धरान’ भन्ने नाराका साथ तीन दिने ११ औं धरान सडक उत्सव शुरु भएको छ । पर्यटन प्रर्वद्धन गर्ने मुख्य उद्देश्यसहित शुरु भएको उत्सवको पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नपुर्णनन्द दासले उद्घाटन गरेका थिए । होटल एशोसिएशन अफ धरान आयोजक रहेको उत्सव धरान १२ स्थित चतरालाइनमा शुरु भएको हो ।
धरान उपमहानगरपालिका कार्यालयसम्मको करिब ५ सय मिटरसम्म सडकको दाया बाँया करिब सय वटा विभिन्न स्टलहरु राखिएका छन् । उत्सवस्थलका स्टलहरुमा आदिबासी जनजातिको खानाको परिकारसमेत रहेको छ भने विभिन्न घरायसी सामानको सस्तो बजार, हस्तकलाका सामग्री, लघु उद्यमबाट उत्पादन भएका र स्थानीय उत्पादनहरुको पनि स्टल रहेको छ । उत्सवले धरानमा पर्यटकहरुलाई आर्कषित गराउने र पर्यटकीय हबकोरुपमा विकास गराउन मद्दत पुर्याउने आयोजक संस्थाका अध्यक्ष सुवर्ण श्रेष्ठले बताए । ‘उत्सवले धरानमा आन्तरिक र बाह्य पर्यटकलाई तान्नेछ र यहाँको पर्यटनसँगै आर्थिक विकासमा टेवा पुग्ने आशा गरेका छौं’–अध्यक्ष श्रेष्ठले भने ।

होटल व्यावसायी एवं एशोसिएशनका पूर्वअध्यक्ष महेन्द्र प्रधानले पूर्वको पर्यटन प्रर्वद्धन र विकासमा नेपाल पर्यटन बोर्डलगायतले ध्यान दिनुपर्ने बताए । पर्यटन सम्बद्ध संघसंस्थाहरुबीच समन्वय गराउन राज्यका निकायहरुले पहल गर्नुपर्ने उनको भनाई थियो । होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष लिलाराज लावतीले पर्यटन प्रर्वद्धनमा सरोकारवालाहरुबीच सहकार्य हुन जरुरी रहेको बताए । उक्त समारोहमा होटल एशोसिएशन अफ धरानका संस्थापक अध्यक्ष कमलेश श्रेष्ठलाई सम्मान गरिएको थियो । तीन दिने उत्सवमा अढाई लाख बढी आन्तरिक एवं बाह्य पर्यटकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
Comments
Post a Comment