कोशी र मेचीमा सिण्डिकेट कायमै, व्यावसायीकै निर्देशनमा बस तोडफोड


धरान । काकडभिटटबाट यात्रु लिएर तेह्रथुम जादै गरेको एउटा बसलाई धरानस्थित कोशी अञ्चलका यातायात व्यावसायीहरुले तोडफोड गरेको छ । शुक्रबार बिहान करिब साढे १० बजे यात्रुलाई बसबाट ओर्लनसमेत नदिई मेची बस व्यावसायी संघको ना ४ ख ३६२७ नम्बरको बसलाई तोडफोड गरेको हो ।
कोशी अञ्चलका व्यावसायीहरुले मेचीका बसलाई पहाडी जिल्लाबाट सिधै सञ्चालन गर्न नपाउने भन्दै तोडफोड गरेका हुन् । हातमा रड, ढुंगा, इटा, झम्पललगायत हतियारसहित एक दर्जन बढीको संख्यामा आएको समुहले धरान १३, बेस क्याम नजिक बसलाई रोकेर जथाभावी आक्रमण गरेको प्रत्यक्षदर्शी यात्रु एवं चालकहरुले बताएका छन् । तोडफोडको क्रममा ढुंगा लागेर तेह्रथुम पिप्लेकी जानुका खत्रीको देब्रे घुडामा चोट लागेको छ । गाडीको सम्पुर्ण शिशा फुटेको छ भने रड, झम्पलले प्रहार गरेर बसको रेडिएटरलगायत महत्वपुर्ण पार्टपूर्जामा क्षति पुर्याएको छ ।
घाइते यात्रु खत्रीका अनुसार मोटरसाइकलमा आएकाहरुले गाडी रोक भन्दै यात्रुलाई झर्न समेत नदिई आक्रमण शुरु गरेका थिए । ‘गाडी रोक भनेपछि चालकले साइड लगाएको थियो, केही होला भनेर पख पख भन्दै झर्न खोज्दै थियौं । ड्याम्म डुम्म हानिहाले’–खत्रीले भनिन् । मेची संघको बसलाई पहाडी क्षेत्रमा चलाउन नदिने भन्दै कोशीका व्यावसायीहरुबाट नै आक्रमण भएको बसका चालक सुरेन्द्र लिम्बूले बताए । ‘धरानका व्यावसायीहरुले चलाउन नदिने भनेको थियो रे, तर रुट परमिट लिएर नै गाडी सुचारु गरेका हौं । यो त गुण्डागर्दी, ज्यादती भयो’–उनले भने । सवारी धनी शिव खड्काले खुला प्रतिस्पर्धाको मान्यताअनुसार गाडी चलाउन पाउनुपर्ने माग गर्दै क्षतिपूर्ति र दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
सरकारसँग सुरक्षा नभएको भन्दै गुनासो गरिरहने व्यावसायीहरु नै तोडफोडमा उत्रनुको कारण भने कोशी र मेची अञ्चलका यातायात व्यावसायीहरुबीच सिण्डिकेट प्रथा कायम रहनु हो । विभिन्न संघहरुले आफ्नो नामबाट सिण्डिकेट शब्द हटाए पनि सडकमा उनीहरुको एकाधिकार कायमै छ । खुल्ला प्रतिस्पर्धाको आधारमा सवारी सञ्चालन हुनुपर्ने भएपनि कोशी र मेचीका व्यावसायीहरुले सिधै पहाडी क्षेत्रसम्म बस सञ्चालन गर्न अवरोध गर्दै आइरहेका छन् । कोशीका व्यावसायीहरुले आफुहरुको व्यावसायमा असर पुग्ने भन्दै पहाडी क्षेत्रबाट धरानसम्म र धरानबाट पुनः अर्को बस चढेर मात्रै यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था बनाएका छन् । यस्तै, मेचीका व्यावसायीहरुले पनि धरानबाट चल्ने बसहरुलाई इलाम, पाँचथर, ताप्लेजुङसम्म सिधै बस चल्न दिएका छैनन् । यसअघि पनि मेचीको उज्यालो यातायातले तेह्रथुमदेखि काठमाण्डौंको रुटमा बस सञ्चालन गर्न अवरोध पुर्याएका थिए ।
धरानस्ति सप्तकोशी बस व्यावसायी संघका सचिव हरि थापाले बस तोडफोड व्यावसायी, मजदुरहरुले गरेको स्वीकार गर्दै मापदण्ड बनाएर मात्रै पहाडी क्षेत्रमा सवारी चलाउने सहमति लत्याएर मेचीबाट जर्बजस्ती बस सञ्चालनमा आएकोले घटना भएको बताए । ‘हामीलाई पनि पाचथर, ताप्लेजुङ जान दिनुपर्छ, र उहाँहरुलाई कोशीको पहाडी क्षेत्रमा जान पाउने गरि मापदण्ड बनाएर चलाउने भनेका थियौं । तर जर्बजस्ती चलाएर कोशीको व्यावसायी र मजदुरलाई विस्थापित गर्न खोजेपछि आक्रोश पोखिएको हो’–उनले भने । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापाका अनुसार धरानका विभिन्न संघको पदाधिकारीसमेतको संलग्नतामा तोडफोड भएको सुचना प्राप्त भएको र खोजी तीब्र पारिएको बताए । घटनामा संलग्नलाई पक्राउ गरि कानुनअनुसार कारबाही गर्ने उनले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे