प्रोड्युसर फिल्मले बेलायतमा च्यारिटी शोबाट कमाएको पैसा सहयोग


धरान । ‘चारै सन्तान खाउ खाउ, लाउ लाउ उमेरमा आँखा देख्न छोडे, विस्तारै बोल्न र हिडडुल गर्न पनि छोडेका छन् । अहिले त हामी छौं, हामी पछि के हुने हो भनेर मन साह्रै अतालिन्छ’–इटहरी २, तामाङ टोलका लक्ष्मण तामाङले बुधबार दुःख विसाउदै भने–‘छोराछोरीको यो हालत हुदा केही गर्ने आँटै आउदैन, तर तपाईहरु जस्तो मनकारीको सहयोगले हिजोआज निक्कै आशा, हौसला पाइरहेको छुँ ।’
करिब एक दशक यता आफ्ना चार जना सन्तानको दृष्टि गुमेसँगै विस्तारै बोल्ने र हिडडुल गर्ने क्षमता पनि गुमेपछि निराश लक्ष्मण तामाङ बुधबार धरानमा खुशी देखिए । उनलाई यो खुशीको क्षण नेपाली चलचित्र प्रोड्युसरको टिम र परोपकारी संस्था नेवा च्यारिटी युकेले जुटाइदिएको हो । नेपालका असहाय, अशक्त व्यक्ति एवं संस्थालाई बेलायतबाट सहयोग गर्दै आएको नेवा च्यारिटीसँग मिलेर प्रोड्युसरका निर्माता ज्योतिराज राईले चलचित्रको च्यारिटी शोबाट कमाएको सम्पुर्ण रकम परोपकारी कार्यमा सहयोग गरेका छन् । बेलायतमा भएको च्यारिटी शोबाट उठेको रकममध्ये आधा एक लाख ९८ हजार २ सय ४० रुपैया बुधबार धरानमा तामाङ परिवारलाई हस्तान्तरण गरिएको थियो ।
धरानमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा प्रोड्युसर फिल्मका मुख्य नायक एवं गायक बाबु बोगटी, निर्माता ज्योतिराज राई र नेवा च्यारिटीका संस्थापक अध्यक्ष सन्तोष राईले संयुक्तरुपमा अभिभावक लक्ष्मण तामाङ र भर्खरै दृष्टि गुम्दै गरेको कान्छा छोरा सञ्दिप तामाङलाई चेक हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा बेलायतमा अध्ययनरत विद्यार्थी आङछिरिङ शेर्पाले सहयोग स्वरुप पठाइदिएको दृष्टिविहिनको २ थान सेतो छडि र बोल्ने २ थान घडी पनि हस्तान्तरण गरिएको थियो । सहयोग गरिएको रकम तामाङका चार सन्तानकोलागि स्थापना गरिएको अक्षयकोषमा जम्मा हुनेछ । तामाङ दम्पत्तिका चार सन्तान मध्ये २२ बर्षीय अस्मिता र २१ बर्षीय छोरा सरोज पुरै हिडडुल गर्न, बोल्न र देख्न सक्दैनन् । यस्तै, १५ बर्षीय छोरी सुस्मिता पनि देख्न र बोल्न छोडेकी छन् भने ९ बर्षीय छोरा सञ्दिपले पनि दृष्टि गुमाइसकेका छन् । बुबा लक्ष्मण तामाङका अनुसार ७, ८ बर्षको उमेरमा दृष्टि गुमाउने, १०, ११ बर्षदेखि ढल्ने र १७, १८ बर्षको उमेरदेखि बोली हराउने अनौठो रोगले छोराछोरीलाई गाँजेको छ ।
नेवा च्यारिटीका अध्यक्ष राईका अनुसार प्रोड्युसर फिल्मका निर्माता ज्योतिराजले आफ्नो संस्थाले गर्दै आएको सामाजिक कामबाट प्रभावित भएर गत बर्ष बेलायतमा फिल्मको च्योरिटी शो गर्ने र त्यसबाट भएको सम्पुर्ण आम्दानी सहयोग गर्ने प्रस्ताव गरेका थिए । सोही वमोजिम गएको दशैं अघि इटहरीका तामाङ परिवार र भोजपुरका जन्मदै दुवै हात र खुट्टा नभएका १२ बर्षीय सञ्जिव राईको सहयोगार्थ बेलायतका विभिन्न आधा दर्जन शहरमा फिल्म प्रोड्युसरको च्यारिटी शो गरिएको थियो । जसबाट हल भाडा कटाएर कुल २ हजार ४ सय ७८ पाउण्ड अर्थात ३ लाख ९६ हजार ४ सय ८० रुपैया बचेको थियो । सो रकम दुई भाग गरेर तामाङ परिवार र भोजपुरका राईलाई समानरुपमा वितरण गरिएको हो । भोजपुरका राईलाई शनिबार आयोजना हुने नेवा च्यारिटी ८ के रनको बेला रकम हस्तान्तरण हुने आयोजकले जनाएको छ । उनलाई फिल्म च्यारिटीबाहेक बेलायतमा अध्ययनरत सिम्पल कुँवरले छुट्टै थप ३ सय पाउण्ड अर्थात ४५ हजार ६ सय पनि सहयोग दिएकी छिन् भने मासिक ७० पाउण्ड सहयोग गर्ने वचन दिएको नेवा च्यारिटीका राईले जानकारी दिए ।
प्रोड्युसर फिल्मका निर्माता ज्योतिराज राईले व्यापारलाई थाती राखेर नेवा च्यारिटीका सामाजिक कार्यमा थोरै भएपनि कलाकारहरुकोतर्फबाट योगदान पुर्याएको बताए । समाजसेवामा फिल्म प्रोड्युसरले एउटा इटा थप्ने प्रयास गरेको भन्दै उनले अरु संघसंस्थालाई पनि हातेमालो गर्न आह्वान गरे । नायक एवं गायक बाबु बोगटीले पवित्र कार्यमा सहभागी हुन पाएकोमा आफु भाग्यमानी भएको धारणा राखे । ‘देश विदेशमा फिल्म देखाएर निर्माताले पैसा संकलन गर्नुभएको छ भन्नेसम्म थियो, तर यति राम्रो कार्यको लागि संकलन भएको रहेछ, आजै मात्र थाह पाए । आफ्नो लगानीको वास्ता नगरि सत्कर्ममा लगाउनु भएको छ, ज्यादै खुशी छुँ’–बोगटीले भने ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे