फागुन ५ गते तेस्रो विजयपुर साँझ हुने


धरान । प्रसिद्ध धार्मिक एवं पुरात्तात्विक सम्पदा रहेको विजयपुर गढी क्षेत्रको पर्यटन प्रर्वद्धन एवं प्रचारप्रसार गर्ने उद्देश्यले स्थानीयबासीले यही फागुन ५ गते तेस्रो विजयपुर साँझ आयोजना गर्ने भएका छन् ।स्थानीयस्तरमा गठन भएको विजयपुर पर्यटन एवं वृहत्तर विकास समितिले शिवरात्रीको अवसर पारेर फागुन ५ गते उक्त सांगीतिक कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।
स्थानीयबासीले विगत तीन बर्षदेखि शिवरात्रीको अवसरमा विजयपुर साँझ गर्दै आएका छन् । पर्यटन प्रर्वद्धनसँगै यो पटक पर्यटकहरुलाई सार्वजनिक सौचालयको सुविधा थप गर्ने सामाजिक उद्देश्य लिएर पनि विजयपुर साँझ गर्न लागेको समितिका अध्यक्ष विनोद कोइरालाले बताए । उनका अनुसार सांगीतिक कार्यक्रमले विजयपुर क्षेत्रका मठमन्दिर, पुरात्तात्विक क्षेत्रको प्रचार र प्रर्वद्धन गर्न मद्दत पुग्छ भने कार्यक्रमबाट बचेको पैसाले कोष खडा गरेर सार्वजनिक सौचालय बनाउने लक्ष्य लिइएको छ ।
‘यो कार्यक्रमले यस क्षेत्रको प्राचिन मठमन्दिरहरु बुढासुब्बा, पिण्डेश्वर बाबाधाम, दन्तकाली, पञ्चकन्या एवं बुद्धिकणको दरबारको भग्नअवशेष, वनभोज खाने ठाउ, झोलुंगे पुल लगायतको राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्रचारप्रसार हुन्छ र यस क्षेत्रमा थप पर्यटकहरु भित्रिनेछन् भन्ने आशा लिएका छौं’–उनले पत्रकार सम्मेलनमा भने–‘ओझेलमा पर्दै गएको ऐतिहासिक गढीको महत्व पनि उजागर हुनेछ । यसबाट बचेको पैसाले पर्यटकलाई सुविधा दिन सार्वजनिक सौचालयन पनि बनाइनेछ ।’ यस क्षेत्रमा दैनिक आउने पर्यटकहरुलाई सौचालयन नहुदा ज्यादै सास्ती हुने गरेको स्थानीयले बताएका छन् ।
सांगीतिक साँझमा चर्चित गायक कमल खत्रीको बिशेष प्रस्तुती रहने छ भने गंगा वरदान, स्थानीय ब्याण्ड वकिङ क्लाउड, ओझेल ब्याण्ड र अन्य कलाकारहरुको पनि मनोरञ्नात्मक प्रस्तुती रहनेछ । प्रवेश निःशुल्क रहने कार्यक्रममा साढे ३ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । सार्वजनिक सौचालयको लागि स्थानीय झलक श्रेष्ठ र राजकुमार डंगोलले साढे ढेड कट्ठा जग्गा उपलब्ध गराइसकेको हुनाले आर्थिक संकलनको अभियान शुरु गरिएको अध्यक्ष कोइरालाले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे