धरानमा बाँदर आतंक, घरभित्रै पुगेर आक्रमण हुनथाल्यो


धरान । शनिबार दिउँसो करिब ४ बजे धरान ९ गौतमपथकी ६४ बर्षीय सरिता ल्वागुन घरभित्र थिइन् । त्यहिबेला बाँदरको एक हुल उनको घरतर्फ आउदै गरेको थियो । झटपट उनले लाठी लिएर ती बाँदरहरुलाई धपाइन् । बाँदर धपाईसकेर घरको भर्याङमा यसो बसेकी मात्र के थिइन्, उनलाई पछाडिबाट एउटा बाँदरले टोकिहाल्यो ।
वृद्धा ल्वागुनले तत्कालै टिटानसको सुई हानिन् भने आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएर रेबिजको पनि सुई लगाइन् । अहिले पनि उनको घर वरिपरी बाँदर हुल बाँधेर डुलिरहन्छ । यो घटना पछि उनलाई बाँदर देख्दा निक्कै डर लाग्न थालेको छ । ‘लाठीले खेदाएपछि सबै भाग्यो होला भनेर भर्याङमा बसेको त पछाडिबाट टोकिहाल्यो’–घाउ देखाउदै ल्वागुनले भनिन्–‘शुरुमा त पोलेर झण्डै मरे ।’
वृद्धा ल्वागुन बाँदरबाट पीडित भएको यो पहिलो घटना भने होइन । यसअघि पनि आक्रमणको प्रयास भएको थियो । बाँदरबाट पीडित उनी एक्ली पनि होइनन् । धरानको धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक विजयपुर गढी क्षेत्रस्थित जंगलमा रहेका बाँदरहरु पछिल्लो समय हिंस्रक हुदै गएका छन् । हुल बाँधेर मावन वस्तीमा आउने बाँदरले घरको खाद्यान्न मात्रै नष्ट गरिदिदैन, पछिल्लो समय मानिसलाई नै आक्रमण नै गर्न थालेपछि बजारबासी आजित छन् । बाटोमा हिडडुल गर्न र घरमा बस्न पनि बाँदर पसेर आक्रमण गर्न थालेको पीडितहरुको गुनासो छ । बाँदरको टोकाईले रोग फैलाउन सक्ने खतरा पनि उतिकै छ । ‘घरमा झ्याल ढोका एक छिन मात्रै खुला भयो कि घरभित्र पसेर सबै विगार गरिदिन्छ, केटाकेटीलाई चिर्थोने, टोक्ने थुप्रै घटना भएको छ’–पीडित एवं बाँदर व्यावस्थापन संघर्ष समितिका सह संयोजक राजिव हलवाईले भने–‘हामीले यी बाँदरहरुलाई व्यवस्थापन गर्नुपर्यो भनेर नेपाल सरकार, विभिन्न मन्त्रालय, धरान उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाईसकेका छौं, तर समस्या समाधान भएको छैन ।’
उनका अनुसार बाँदरको ह्रिसंक व्यवहारले गर्दा विजयपुर क्षेत्रको बाटोमा हिड्डुल गर्न पनि नसकिने अवस्था छ । छोरीमान्छे र केटाकेटीमाथि बाँदरले बढी आक्रमणको प्रयास गर्ने गरेको गृहणीहरुको गुनासो छ । बाँदर आतंकले धरानको सबैभन्दा बढी वडा नम्बर १, २, ३, ४, ५, ६, १३ र १४ का बासिन्दाहरु पीडित छन् । विजयपुरबाट हात्तिसार क्याम्पस हुदै रेडक्रस झर्ने बाटो, दुई धारे बाटो हुदै सिंहदेवी चौक झर्ने पैदल यात्री तीर्थालु भक्तजन एवं सर्वसाधारणहरुलाई टोक्ने, चिर्थोर्ने गर्दा हिजोआज यो बाटो सुनसान हुन थालेको स्थानीयबासीको भनाई छ ।
विजयपुर डाँडा र आसपासमा केन्द्रीय प्रविधि क्याम्पस, विजयपुर उच्चमावि, मेरीगोल्ड, पिण्डेश्वर विद्यापिठ, होलिगार्डेन, दन्तकाली माविलगायत शैक्षिक संस्थाहरु छन् । यस्तै, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बालगायत धार्मिकस्थल पनि भएकोले तीथालुहरुको बाक्लै ओहोरदोहोर हुन्छ । बाँदरहरुले नै टेलिभिजन, टेलिफोनको तार चुटाइदिने, विद्युत सर्ट भएर ट्रान्सफरर्मर जलाउनेसम्मका घटनाहरु भएको पीडितहरु बताउछन् । स्थानीयका अनुसार विगतमा वदमाशी मात्रै गर्दै आइरहेका बाँदरहरुले करिब तीन बर्ष यता भने हिंस्रक व्यवहार देखाउन थालेका हुन् । बाँदरको आतंक बढेकै कारण प्रभावित वडामा घरजग्गाको भाउ पनि घट्न थालेको स्थानीयको गुनासो छ भने घरका कोठा पनि भाडामा लाग्न छोडेको छ ।
बाँदर आतंकबाट आजित स्थानीयबासीहरु गत बर्ष संगठित हुदै बाँदर व्यावस्थापन संघर्ष समिति नै गठन गरे । उनीहरुले गत बर्ष माघ १५ गते नेपाल सरकारको विभिन्न मन्त्रालय, सरकारी निकाय, धरानका तीन संविधानसभा सदस्यसमक्ष ज्ञानप पत्र बुझाउदै बाँदर व्यवस्थापन गर्न माग गरेका थिए । तर, आफ्नो मागबारे कुनै सुनुवाई नभएको संघर्ष समितिका संयोजक सकुल श्रेष्ठले बताए । ‘दिर्घकालीन समाधान भनेको यहाँका बाँदरहरुलाई स्थानान्तरण गर्नु नै हो, यहाँबाट बाँदरहरुलाई राष्ट्रिय निकुञ्जमा लैजानुपर्छ । तर, हाम्रो समस्याप्रति स्थानीय निकाय, प्रशासन गम्भीर नै छैन’–उनले भने–‘व्यवस्थापन नभएसम्म बाँदर रक्षक नगर प्रहरीको व्यवस्था गर्न, प्राविधिक टोलीको सहयोगमा खोर, जाली, पासो वा ड्याटिङ(बेहोस पार्ने सुई) वा डार्टगन(बेहोस बनाउने बन्दुक) प्रगोग गरी राष्ट्रिय निकुञ्ज तथा आरक्षण केन्द्रहरुमा स्थानान्तरण गर्नुपर्छ ।’
उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले बजार क्षेत्रमा बाँदरको आतंक बढेको स्वीकार गर्दै व्यवस्थापनको लागि पहल भइरहेको बताए । उनले दुई जना बाँदर रक्षक राखेर धपाउने तयारी भइरहेको पनि बताए । ‘बाँदरको आतंक बढेको छ, यसको व्यवस्थापनको लागि प्रशासनसँग सहकार्य हुदैछ’–उनले भने–‘वन्यजन्तुको व्यवस्थापन वनले गर्ने हो, मार्न पाइदैन । त्यसको लागि समन्वय गर्दैछौं ।’ विजयपुरको जंगलमा सीमित बाँदरहरुको बासस्थानमा मानिसको अतिक्रमण बढ्नु, खाना अभाव हुनुजस्ता कारणले शहरतिर पस्न थालेको अनुमान गरिन्छ । यस्तै, वडा १ र २ तिरका मारवाडी समुदायले हनुमानको रुपमा पुज्ने र मिठो परिकार दिने गरेपछि जंगलबार शहर बजार झर्न थालेको स्थानीयको भनाई छ । अचेल विजयपुर जंगल क्षेत्रमा दुई हजार बढीको संख्यामा बाँदरहरु भएको अनुमान छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे