धरानमा टक्स माउण्टेन बाइक शो रुमको उद्घाटन


धरान । युवा पुस्तामा साइक्लिङप्रति मोह बढ्दै गएपछि माउण्टेन बाइक शो रुम खुल्ने क्रम पनि बढेको छ । साइक्लिङमार्फत स्वास्थ्य र वातावरणप्रति सचेतना जगाउदै हिड्ने दुई युवाले धरान १० स्थित सैनिक चोकमा टक्स माउण्टेन बाइक शो रुम सञ्चालनमा ल्याएका छन् ।
आइतबार एक समारोहबीच विश्व साइकलयात्री पुष्कर शाहले उक्त शो रुमको उद्घाटन गरे । यो शो रुम साइकलप्रेमी डा.समिर चौधरी र कृष्ण केसीको लागानीमा खुलेको हो । नवउद्घाटित शो रुम ट्रेक ब्राण्डको माउण्टेन बाइकको पूर्वाञ्चलको लागि आधिकारिक बिक्रेता रहेको सञ्चालकको भनाई छ । यस्तै, साइकल पार्टपुर्जाको उत्पादक सिमानुको पनि बिक्रेता रहेको शो रुमका निर्देशक केसीको भनाई छ । ‘हामीले दश लाख लगानी गरेका छौं । साइकल पर्यटनको नारासँगै स्वास्थ्य र वातावरणको अभियानलाई सार्थक बनाउन शो रुम खोलेका हौं’–केसीले भने ।
शोरुममा हाल न्युनतम ३० हजारदेखि ७८ हजारसम्मका माउण्टेन बाइक उपलब्ध छ । साइकल भएका व्यक्तिहरुलाई प्रत्येक सोमबा र शनिबार फन राइड गराउर्दै साइक्लिङ गर्दाको फाइदाबारे जानकारी गराउनेलगायतका गतिविधिहरु गर्ने टक्सले जनाएको  छ । हरेक महिनामा ३ पटक कोशी टप्पु, बराहक्षेत्र, भेडेटार–नाम्जे र जंगल सफारीमा लैजाने निर्देशक केसीले बताए । ‘माउण्टेन बाइक नै हुनुपर्छ भन्ने छैन । जे जस्तो साइकल छ, उहाँहरुलाई उत्प्रेरित गर्न फन राइडमा लैजान्छौं’–उनले थपे ।
शो रुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै विश्व साइकलयात्री शाहले युवा पुस्तामा साइक्लिङप्रति मोह बढेकोमा खुशी व्यक्त गर्दै वातावरण, स्वास्थ्य र मुलुकको आर्थिक टेवा पुग्ने बताए ।
साइकल चढ्दा दिनमा एक लिटर पेट्रोलको पैसा बचत हुने र वातावरण पनि प्रदुषण नहुने भन्दै शाहले आफ्ना सन्तानलाई मोटरसाइकल, स्कुटी भन्दा माउण्टेनबााइक खरीद गरिदिन अभिभावकहरुलाई आग्रह गरे । ‘साइकल चढ्दा दिनमा एक लिटर पेट्रोल बराबर एक सय ३० रुपैया जोगिन्छ भने महिनामा २ वटा ग्याँस सिलिण्डर किन्ने पैसा वचत हुन्छ’–उनले भने–‘मोटरसाइकल किनिदेऊ भन्नेलाई ५० हजारको माउण्टेन बाइक किनिदिनुस् र २ लाख रुपैया उसैको खातामा वचत गरिदिनुस् । यसले तपाईका छोराछोरी पनि खुशी हुन्छन्, स्वास्थ्य र वातावरणमा पनि फाइदा पुग्छ ।’ साइकललाई उपयोग गर्दै उनले जीवनको पाटो बनाउन आग्रह पनि गरे ।
 


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे