बौद्ध दाहसंस्कारस्थलबाट स्थानीयबाट पीडित
धरान । साँझ पर्न लागेको थियो । धरान ८ दुर्गापथकी भक्तमाया श्रेष्ठलाई सिनो गन्हाए झै खपिनसक्नु भयो । उनी कोठा भित्रबाट झ्वाटै बाहिरिइन् । घरनजिकै कुकुरले पोलेको मान्छेको हात झै कुनै वस्तु खादै थियो । दुर्गन्ध फैलिदै गएपछि वरपरका छरछिमेक पनि भेला भए । प्रहरीलाई खबर गरेर उनीहरुले कुकुरबाट खासेर उक्त वस्तुलाई जेब्रा झोलामा हालेर मानव वस्तीदेखि टाढा पुर्याए ।
सोमबार साँझको यो घटना मानव वस्ती नजिक रहेको वन क्षेत्रमा निर्माण गरिएको शव दाह संस्कारस्थलबाट पीडित स्थानीयबासीको एक प्रतिनिधि उदाहरण मात्रै हो । धार्मिक वनकोरुपमा दर्ता भएको बौद्ध दाह संस्कारस्थलबाट पुरै जलिनसकेको मावन शरीरको टुक्रालाई कुकुरले बोकेर मानव वस्ती एवं घरआँगनसम्मै पुर्याउने गरेको छ । त्यतिमात्रै होइन, शव जलाउदा निस्कने धुवा, धुलो र दुर्गन्धले त्यस क्षेत्रका हजार परिवार पीडित छन् । मानव वस्तीबाट करिब डेढ सय मिटर मात्रै दक्षिण वन क्षेत्रमा शव जलाउन तीन वटा चित्ता(वर्निङ प्वाइन्ट) बनाइएको छ । स्थानीयले त्यसलाई आधुनिकीकरण गर्न एवं अन्यत्र सार्न दाहसंस्कार सञ्चालक समितिसँग पटक पटक वार्ता गरे पनि सुनुवाई नभएको भन्दै आक्रोशित छन् । उनीहरुले मंगलबार पुनः धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय र इलाका वन कार्यालयमा डेलिगेशन गएर दाहसंस्कारस्थललाई मावनस्वास्थ्यमा असर नपर्ने गरि व्यवस्थित गर्न वा अन्यत्र स्थानान्तरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
‘लाश जलाउदा आउने दुर्गन्ध, टायरको धुवा र धुलोले हामी हैरान छौं । अझ लाश पुरै जलिसकेको हुदैन, मलामी र आफन्तहरु छोडेर जान्छन् । त्यसलाई कुकुरहरुले गाउभरि डुलाउछ, सिनो गन्हाएर खपिनसक्नु हुन्छ’–पीडित भक्तमायाले भनिन्–‘मरेको मान्छेको कपडा, औषधीहरु प्नि जथाभावी छोडेर जान्छन्, त्यसलाई पनि साना केटाकेटीले घरतिर नै ल्याउछ ।’ उनका अनुसार आइतबार दिउसो २ बजेतिर ल्याएको शव पुरै नजलाई छोडेर गएको कारण कुकुरले सोमबार साँझ वस्तीसम्म मासुका टुक्राहरु ल्याएको हो । शव जलाउन प्रयोग गर्ने टायरको धुवा, धुलोको कारणले मानव स्वास्थ्यमा गम्भीर असर पुगेको स्थानीयको भनाई छ । अधिकांशमा दम र क्षयरोग देखिन शुरु भएको स्थानीय सुवास श्रेष्ठले बताए । ‘लाश जलाउदाको दुर्गन्धले हामी नरकमा आएर बसेको जस्तो हुन्छ । बोसो मिसिएको टायरको धुवा, धुलोले मानिसहरु विरामी पर्न थालिसकेको छन्’–उनले थपे ।
०५५ सालमा स्थापना भएको दाह संस्कारस्थल पहिला हालको स्थानबाट केही पश्चिम थियो । त्यहाँ हुदा पनि धुवा, धुलोले असर गरेको भन्दै स्थानीयले विरोध गरेपछि कार्य समितिले दाह संस्कारस्थल सार्ने निर्णय गर्यो । तर, पछिल्लो पटक(४ बर्षअघि) पनि स्थानीयले अपेक्षा गरेवमोजिम दाह संस्कारस्थल मानव वस्तीबाट टाढा भएन । स्थानीयले विरोध गरेपछि निर्माणकर्ताहरुले चिम्नीसमेत जडान गरेर धुवा एवं खरानीलाई वस्तीमा आउन नदिने गरि व्यावस्थापन गर्ने भनेपनि कार्यान्वयन गरेन । विवाद बढ्दै गएपछि वन कार्यालयसमेतको सहभागितामा तीन पटक वार्ता भइसकेको छ । वार्तामा वर्निङ प्वाइन्टदेखि मास्तिर विरुवा रोप्ने, वर्निङ प्वाइन्टमा चिम्नी अथवा इलेक्ट्रिक सिस्टम बनाउने वा ठाउँ सार्ने भनेर सहमति भएपनि कुनै पहल नभएको स्थानीयको भनाई छ ।
स्थानीयका अनुसार दाहसंस्कारस्थलमा कुनै बेला सातामा २, ३ वटासम्म शव जलाइन्छ । शव जलाउदा निस्कने धुवा र खरानीले वातावरण प्रदुषित हुने र रुखविरुवालाईसमेत असर पुग्ने भन्दै स्थानीयले वन कार्यालयलाई ध्यानाकर्षण पनि गराएको छ । सहायक वन अधिकृत ज्ञानकुमार लामाले समस्या समाधान गर्न दुवै पक्षबीच पुनः छलफल गर्ने बताए । बौद्ध दाह सँस्कारस्थलका कार्यवाहक अध्यक्ष सेतुमान तामाङले भने बजेटको कारणले तत्काल सार्ने सम्भावना नरहेको बताए । ‘हामीले चौकिदार राखेका छौं, लाश सबै जलिसकेपछि आगो निभाएर सफा गरेर मात्रै छोड्छौं’–उनले भने–‘उहाँहरुले भनेजस्तो लाश बिचैमा छोडिदैन । धुवा, धुलो माथिबाटै उडेर जावोस भनेर चिम्नी थप्छौं तर समय लाग्छ ।’
Comments
Post a Comment