मालपोत र नापी कार्यालय धरानमा ल्याउन बजार बन्द, दबाब समिति गठन
धरान । मालपोत र नापी कार्यलय धरानमा स्थापना गर्ने सरकारको निर्णय कार्यान्वयन गरिनुपर्ने माग गर्दै धरानबासी पनि आन्दोलित भएका छन् । नागरिक सञ्जालको अगुवाईमा बिहान धरानमा वृहत र्याली तथा प्रर्दशन भएको थियो । र्यालीमा नागरिक समाज, उद्योग वाणिज्य संघ, व्यावसायीहरु, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणहरु स्वतस्फुर्त सहभागी भए । उनीहरुले सरकारको निर्णय कार्यान्वयन गर, मालपोत र नापी कार्यालय धरानमा स्थापना गर भन्ने नारा पनि लगाए ।
मालपोत र नापीको सेवा धरानबाट पनि शुरु गर्ने सरकारको निर्णयविरुद्ध इनरुवामा आन्दोलन भएपछि प्रमुख जिल्ला अधिकारीबाट तत्कालको लागि प्रक्रिया स्थगित गर्ने सहमति भएलगत्तै धरानबासी निर्णय कार्यान्वयनको माग गर्दै आन्दोलित भएका हुन् । नागरिक समाज सञ्जाल धरानको आह्वानमा शुक्रबार एक दिन धरान बजार, उद्योग कलकारखाना र शैक्षिक संस्थाहरु पनि बन्द भए ।
भानुचौकमा आयोजित सभामा वक्ताहरुले शुक्रबार सांकेतिकरुपमा बजार मात्रै बन्द गरेको उल्लेख गर्दै निर्णय कार्यान्वयन नगरे अझ कडारुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरुले नेपाल सरकारको निर्णयलाई लागु गराउनुपर्नेमा उल्टै स्थगन गरेको भन्दै प्रजिअको कार्यक्षमता र नीयतमाथि पनि प्रश्न उठाएका छन् ।
सरकारको निर्णयविरुद्ध लेखापढी व्यावसायीको चलखेलमा उद्योग वाणिज्य संघ इनरुवाको नेतृत्वमा इनरुवा बचाउ भन्दै आन्दोलन भएपछि बुधबार प्रजिअले मालपोत र नापीको सेवा विस्तार प्रक्रिया रोकेका थिए । सञ्जालका संयोजक एवं पूर्वमेयर मनोजकुमार मेन्योङ्बोले संघीयता, विकेन्द्रीकरण र शक्ति पृथकीकरणको मुद्दा उठाउने राजनीतिक पार्टीका जिल्ला नेताहरु नै सदरमुकाम केन्द्रीत कार्यालय र सेवालाई जनताको घरआँगनमा पुर्याउन अवरोध गरेर अराजनैतिक चरित्र देखाएको बताए ।

सर्वदलीय दबाब समिति गठन

समितिको सदस्यमा सम्पुर्ण राजनीतिक दलका प्रमुखहरु रहने सर्वदलीय वैठकले निर्णय गरेको छ । समितिको बैठकले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्ने, शनिबार पत्रकार सम्मेलन गर्ने र निर्णय कार्यान्वयनको माग गर्दै प्रजिअलाई ज्ञापन पत्र बुझाउन निर्णय गरेको छ ।
Comments
Post a Comment