बीपीमा क्याथ ल्याब सेवा सुचारु, ह्ृदयघातको उपचार सहज


धरान  । ह्ृदय घात (हर्ट एट्याक) भएका विरामीहरुको उपचारमा अतिआवश्यक क्याथ ल्याब सेवा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः सुचारु भएको छ । कार्डियोलोजीमा डिएम अध्ययन सकेर दुई जना बिशेषज्ञ चिकित्सकले प्रतिष्ठानमा सेवा शुरु गरेपछि क्याथ ल्याब सेवा पनि सुचारु भएको हो ।
प्रध्यापक डाक्टर सञ्जिव शर्माले भरतपुरबाट कार्डियोलोजीमा डिएम गरेर प्रतिष्ठान फर्किएका थिए भने भर्खरै भारतको एम्सबाट कार्डियोलोजीमा डिएम सकेर डाक्टर प्रशान्त शाहले पनि प्रतिष्ठानमा सेवा दिन थालेका छन् । प्रतिष्ठानका अनुसार गत शुक्रबारदेखि क्याथ ल्याब सञ्चालनमा आएको हो । अहिलेसम्म २ जना मुटू रोगीले क्याथ ल्याबबाट सेवा पाइसकेको प्रतिष्ठानले जनाएको छ ।
‘कार्डियोलोजिष्ट नभएर क्याथ ल्याब बन्द थियो, खुशीको कुरा अहिले हामीसँग २ जना कार्डियोलोजिष्ट छन् र क्याथ ल्याब शुरु भइसकेको छ’–प्रतिष्ठानका उपकुलपति डाक्टर बलभद्रप्रसाद दासले भने–‘एक जना विदामा बस्दा पनि अब क्याथ ल्याब विना अवरोध चलिरहन्छ ।’ उनका अनुसार विशेषज्ञ अभावसँगै क्याथ ल्याबको मेशिन पनि बिग्रिएको थियो । विदेशबाट सामान मगाएर मेशिनलाई पनि मर्मत गरिसकेको उपकुलपति दासले बताए ।
कार्डियोलोजिष्ट(मुटू रोग विशेषज्ञ)को अभावमा करिब डेढ बर्षदेखि प्रतिष्ठानमा क्याथ ल्याब सेवा बन्द थियो । कार्डियोलोजिष्ट डाक्टर निकेश श्रेष्ठले प्रतिष्ठान छोडेर विराटनगरस्थित एक निजी अस्पताल गएपछि यहाँको क्याथ ल्याब सेवा बन्द थियो । प्रतिष्ठानमा सेवा अवरुद्ध हुदा विरामीहरुले महंगोमा उपचार पाउन विराटनगर धाउनु परिरहेको थियो भने हर्ट एट्याक्ट भएका विरामीले समयमै उपचार पाउन सकेका थिएनन् । ‘अब मुटूको भल्व फेर्नको लागि वाइपास र ओपन हर्ट सर्जरी मात्रै यहाँ गर्दैनौं, बाँकी सम्पुर्ण सेवा यही दिन्छौं’–तीन दिनअघिदेखि प्रतिष्ठानमा काम शुरु गरेका डाक्टर प्रशान्त शाहले भने–‘विरामीहरुले क्याथ ल्याब सेवा पाउन अन्यत्र धाइरहनु पदैन, यहाँ सस्तोमा नै सबै सेवा पाउनेछन् ।’
डाक्टर शाहका अनुसार प्रतिष्ठानस्थित क्याथ ल्याबमा एनजिओग्राफी, एनजिओप्लाष्टिक, मुटूको साँघुरिएको भल्व खुलाउने पिटिएमसि, पेस मेकर राख्नेलगायत सेवा पाउनेछन् । यी सेवासँगै सरकारले घोषणा गरेको एक लाख रुपैया पनि उपचार गर्दा छुट पाउने चिकित्सक शाहले बताए । ‘नशा बन्द भएको खुलाउन बाहिर ३ देखि ४ लाख खर्च हुन्छ । तर, यहाँ डेढदेखि २ लाखसम्ममा हुन्छ । त्यसमा पनि एक लाख सरकारले छुट दिएकोले धेरै राहत पुग्छ’–उनले भने । मुटूको भल्व धेरै बिग्रिसकेको अवस्थमा फेर्नुपर्ने भएमा मात्रै बाइपास सर्जरी वा ओपन हर्ट सजरी गर्न विरामी काठमाण्डौं जानुपर्ने उनले बताए । उपकुलपति दासले यसअघि न्युरो सर्जरीको बिशेषज्ञ सेवा पनि शुरु गरिसकेको जानकारी दिदै प्रतिष्ठानमा अन्य बिशेषज्ञ सेवा थप गर्ने लक्ष्य राखिएको बताए । यसको लागि भौतिक पूर्वाधार निर्माणको लागि सरकारसँग पहल भइरहेको पनि उनले खुलाए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे