कराते खेलाडी विमलालाई धरानमा राष्ट्रिय सम्मान

धरान । गएको असोजमा दक्षिण कोरियाको इन्चोन शहरमा सम्पन्न १७ औं एसियाडमा नेपाललाई एक मात्र कास्य पदक दिलाएकी खेलाडी विमला तामाङ धरानमा दोस्रो राष्ट्रिय सम्मान २०७१ बाट सम्मानित भएकी छिन् । धरान नगर खेलकुद विकास समितिले आइतबार साँझ धरान १० स्थित कवर्ड हलमा एक समारोहबीच तामाङलाई राष्ट्रिय सम्मान गरेको हो ।
उनलाई सम्पुर्ण खेलकुदकर्मी र धरानबासीकोतर्फबाट उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले सम्मानपत्र प्रदान गरेका थिए । साथै, उनलाई आयोजक समितिका अध्यक्ष विक्की राईले नगद ५ हजार रुपैया पनि प्रदान गरेका थिए । पहिलो राष्ट्रिय सम्मान बक्सिङ खेलाडी दिपक मर्हजनलाई दिइएको थियो । सोही कार्यक्रममा नेपाल तामाङ घेदुङ सुनसरी र धरान नगर समितीले पनि संयुक्त रुपमा नगद ७ हजार ७ सय ७७ रुपैयासहित सम्मान पत्र प्रदान गरेको थियो ।
यसैगरि, मेहर्स कलेक्सनका प्रोपाईटर मेहरलाल श्रेष्ठले पनि उनलाई नगद २ हजारसहित उपहार प्रदान गरे भने योङगर कलेक्सनका प्रोपाईटर संदिप श्रेष्ठले पनि उपहार प्रदान गरेका थिए । उनलाई खेलकुद सम्बद्ध विभिन्न संघसंस्थाहरुले पनि सोही कार्यक्रममा सम्मान गरेको थियो । शनिबार पनि नेवा च्यारिटी ८ के रनको क्रममा उनलाई आयोजकले चर्चित धावक वैकुण्ठ मानन्धरसँगै सम्मान गरेको थियो । सम्मानित खेलाडी तामाङले गत असोज १७ मा सम्पन्न एसियाडमा करातेको एकल कातामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । उक्त प्रतियोगितामा उनले जितेको पदक नेपालको लागि एक मात्र थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे