शिक्षक, विद्यार्थी र अभिभावकलाई ट्राफिक जनचेतना कार्यक्रम


धरान । सयौं विद्यार्थी, शिक्षक एवं अभिभावकहरु उपस्थित भेलामा पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब निरीक्षक होमराज दाहालले प्रश्न गरे, ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउदा कति जरीवाना हुन्छ ?’ विद्यार्थीदीर्घबाट झटपट जवाफ आयो,–‘एक हजार रुपैया ।’
मंगलबार धरान ९ स्थित विष्णु मेमोरियल उच्चमाविको प्राङ्गण करिब डेढ घण्टा यस्तै प्रश्नोत्तरमा बित्यो । सवारी दुर्घटना न्युनिकरण गर्न कलेजका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको ट्राफिक सचेतना कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो । हाजिरीजवाफ मा अधिकांश सवारी एवं ट्राफिक जनचेतनासम्बन्धी प्रश्नहरु राखिएको थियो । सवारी साधनको चाप बढी हुने क्षेत्रको पहिचान गरेर सचेतना कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अञ्चल कमिटिले संयुक्तरुपमा ट्राफिक सचेतना अभियान चलाएको छ । धनुकटाको हिले, सुनसरीको धरान,इटहरी र मोरङ्गको विराटनगरमा बढी सवारी चाप देखिएकोले ती क्षेत्रमा सचेतना कार्यक्रम गर्दै आइरहेको ट्राफिक प्रहरी र संगठनले जनाएको छ । हाजिरीजवाफसँगै ट्राफिक प्रहरीले विद्यार्थी, शिक्षक र अभिभावकलाई दुर्घटनाका भयावह तस्बिरहरु देखाउदै लापरवाहीले सवारी चलाउदा हुने असरबारे सचेत गराएका थिए ।

हाजिरीजवाफमा सैनिक आवासिय उच्चमाविले एक सय अंकका साथ प्रथम स्थान हासिल गर्यो भने ९५ अंकका साथ विष्णु मेमोरियल उच्चमावि दोस्रो र ९० अंकका साथ डिपोट उच्चमावि तेस्रो भयो । प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई न्यु कोशी सुपर प्रालिका अध्यक्ष कुमार बरालले क्रमशः नगद ३ हजार, ३ हजार र एक हजार रुपैया प्रदान गरे । ‘कलेज पढ्ने विद्यार्थीहरुले मोटरसाइकल, स्कुटी चलाउदा ३ जना चढ्ने, हेल्मेट नलगाउने, हेल्मेटको बेल्ट नबाध्ने गरेर ट्राफिक नियम उल्लंघन गरेको देखिन्छ, त्यसैले विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम गरेका हौं’–संगठनका कोशी अञ्चल कमिटि सचिव लक्ष्मी बाँनियाले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे