सेउती पुल निर्माणमा ढिलाई, एप्रोज रोड झन् अनिश्चित


धरान । कोशी अञ्चलको पहाडी र तराई क्षेत्रलाई जोड्ने कोशी राजमार्गअन्र्तगत सेउती खोलामा निर्माणाधिन नयाँ पुलको दोस्रो पटक म्याद थपको समय सकिदा पनि निर्माण कार्य सकिएको छैन । दोस्रो पटक म्याद थपको समय गत असार मसान्तमा नै सकिए पनि पुल निर्माणको काम अझै ५ प्रतिशत बाँकी छ । पुलको वारीपारी बनाउनु पर्ने ‘एप्रोच रोड’को काम पनि वन विभागले रुख कटानको निर्णय नगर्दा थाती छ ।
निर्माण कम्पनी शर्मा मैनाचुली, नेपाल प्रगति जेभीका अनुसार पुलको काम ९५ प्रतिशत सकिएको र दुवैतर्फ स्लाभ बनाउने काम अन्तिम चरणमा पुगेको छ । त्यसपछि पुलको बेसमा ग्याबिङको काम मात्रै बाँकी रहेकोले चाडै काम सकिनेछ । निर्माण कम्पनीका साइड सुपरभाइजर रुद्र गिरीका अनुसार एप्रोच रोडको क्षेत्रभित्र धेरै रुखहरु रहेको र ती कटान गर्ने निर्णय वन विभागबाट नभएसम्म पुरा हुदैन । ‘एप्रोच रोडको एलाइन्मेन्ट(रोडको क्षेत्रफल)को दायाँया धेरै रुखहरु छ, त्यसलाई नहटाएसम्म रोड बनाउन सकिदैन’–गिरीले भने–‘इलाका वन, सेक्टर वन कार्यालयले निरीक्षण गरेर रुख नम्बरीङ पनि गरिसकेको छ, तर वन विभागले स्वीकृत नगर्दा काम अघि बढेको छैन ।’
पुलको वारी र पारी गरेर करिब ३ सय ५० मिटर एप्रोच रोड बनाउनुपर्नेछ । पुलको तरहरा क्षेत्रमा धेरै रुख नपरे पनि धरानतर्फको क्षेत्रमा भने दुई दर्जन जति साना ठुला रुखहरु पर्छन् । सेन्टर प्वाइन्टबाट दुवैतर्फ २५ मिटर क्लियर गरेर मात्रै एप्रोच रोड निर्माण हुन्छ । त्यसो गर्दा साना ठुला गरि करिब २६ वटा जति रुखहरु कटान गर्नुपर्ने गरि सडक विभागको पहलमा वनले नम्बरिङ गरेको पूर्वाञ्चल सडक डिभिजन कार्यालय विराटनगरका सुपरभाईजर गणेश कोइरालाले बताए । ‘रुख कटान गरेर बाटोको क्षेत्र क्लियर नगरेसम्म पिच गर्न सकिदैन । एप्रोच रोडको काम भएन भने पुल सञ्चालनमा आउन समस्या हुन्छ’–उनले थपे ।
सेउती खोलाको पुरानो पुल जीर्ण भएपछि नयाँ बनाउन ०६६ सालमा ५ करोड ६५ लाखमा ठेक्का लागेको थियो । तीन बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि हालसम्म दुई पटक म्याद थप भइसकेको छ । गएको बर्खामा बाढीले क्षति पुर्याएर पुरानो पुल भत्काउने खतरा बढेपछि नयाँ पुलको काम नसकिदै काम चलाउ वाइपास रोड बनाएर यातायात सुचारु गरिएको थियो ।
 पूर्वाञ्चल सडक डिभिजन कार्यालयका प्रमुख रामचन्द्र राउतले भने रुख कटानको निर्णय वन विभागबाट नआएपनि जे जस्तो अवस्था छ, त्यही बाटोमा कालोपत्रे गरेर काम सक्न निर्देशन दिएको बताए । ‘त्यही वहानाले काम नरोकियोस् भनेर जजस्तो अवस्थामा छ, कालोपत्रे गरेर जानुस् भनेका छौं । रुख कटानको निर्णय भयो भने पछि हाम्रो बजेटबाट एप्रोच रोडको काम गर्नसकिन्छ’–राउतले भने ।
इलाका वन कार्यालय धरानका सहायक वन अधिकृत ज्ञानकुमार लामाले नापजाँच गरेर पठाएको जानकारी दिदै वन विभागबाट भने स्वीकृत नभएको बताए । ‘सडक विभागले आफ्नै खर्चमा कटान गरेर जिल्ला वन कार्यालयमा बुझाउनुपर्छ । त्यहाँबाट लिलाम गरेर राष्ट्रिय ढुकुटीमा दाखिला गर्ने व्यवस्था छ’–लामाले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे