विष्णुको रजत जयन्तीमा चार जनालाई सम्मान


धरान । स्थापनाको रजत जयन्तीको अवसरमा धरान ९ स्थित विष्णु मेमोरियल उच्च माविले विभिन्न क्षेत्रमा योगदान पुर्याएका चार जना व्यक्तित्वलाई सम्मान गरेको छ । स्थापनाको २५ औं बर्ष पुगेको अवसरमा आयोजित रजत जयन्तीको सोमबार समापन समारोहमा शिक्षा, समाजसेवा, पत्रकारिता क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
विद्यालयले शिक्षा क्षेत्रबाट प्रा.डा. गोपाल भण्डारी, समाजसेवी सरला कायस्थ, पत्रकार राजकुमार कार्की र अभिभावक टेकबहादुर श्रेष्ठलाई सम्मान गरेको हो । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि एवं सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए । गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालयहरुमा नेपाल सरकारले यो विद्यालयलाई ११ औ स्थानमा घोषणा गरेको छ । रजत जयन्तीको अवसरमा विद्यालयले माघ १४ गतेदेखि विविध कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।
समापन समारोहमा विद्यालयमा एक दशकभन्दा बढी समय कार्यरत १७ जना शिक्षक तथा कर्मचारीहरु पनि सम्मानित भएका थिए । यस्तै, एसएलसी परीक्षामा ईच्छाधिन विषय गणितमा शतप्रतिशत अंक ल्याउन सफल सौरभ वाग्लेलाई नगद ५ हजार रुपैयासहित पुरस्कृत गरिएको थियो भने स्कुल टपर जुनियरतर्फ कक्षा ४ की निर्जरा मार्सेली र सिनियरतर्फ कक्षा ९ का रोमित श्रेष्ठ पनि पुरस्कृत भए । उनीहरुले क्रमशः ९९ दशमलव १८ र ९३ दशमलव ७९ अंक ल्याएको विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक तथा प्रबन्ध निर्देशक श्याम बहादुर कटुवालको अध्यक्षता आयोजित समारोहमा एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याएका विषयगत शिक्षकहरुलाई जनही १० हजार रुपैया नगदसहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने शिक्षकहरुमा २०६८ मा निलम कुमार श्रेष्ठ, २०६९ का लागि पनि श्रेष्ठसहित गोपीकृष्ण खतिवडा र २०७० का लागि नविन शाक्य छन् । विद्यालयमा शतप्रतिशत उपस्थिती रहने शिक्षकद्वय थान कुमार श्रेष्ठ र कमल कुमार क्षेत्रीलाई पनि नगद दुई हजार ५ सयका दरले पुरस्कार दिइएको थियो । कार्यक्रममा शैक्षिक सत्र ७१/७२ का प्राथमिक तह देखि माध्यमिक तह सम्मका उत्कृष्ट तीन भित्र परेका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
समापन समारोहमा रजत जयन्ती स्मारिकाको प्रमुख अतिथी सभासद राई, विद्यालयका संस्थापक तथा प्रबन्ध निर्देशक कटवाल र संस्थापक प्रिन्सिपल बेनिन्द्र कटवालले विमोचन गरेका थिए । कार्यक्रमका कक्षा नर्सरी देखि १२ कक्षा सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटक, फेसन लगायत मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । रजत जयन्तीकै अवसरमा मंगलबार अभिभावक र विद्यार्थीहरुलाइ ट्राफिक सचेतना कार्यक्रम संचालन गरिने मुल कमिटीका सह संयोजक निलम कुमार श्रेष्ठले जानकारी दिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे