धरानमा मालपोत र नापी कार्यालय माग गर्दै प्रशासन घेराउ

धरान । मालपोत र नापी कार्यालय धरानमा स्थापना गर्ने निर्णय कार्यान्वयन गर्न १० दिने अल्टिमेटम दिएको सर्वदलीय दबाब समितिले सोमबार धरानस्थित इलाका प्रशासन कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाएक छ । दबाब समितिले सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै इलाका प्रशासन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको हो । सर्वसाधारणसहित राजनीतिक दल, नागरिक समाज सम्मिलित दबाब समितिले अल्टिमेटमको अवधिभरमा निर्णय कार्यान्वयन नभए थप सशक्त आन्दोलनको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ ।
यसैगरि, सोमबार नै राजधानीमा रहेका तीन जना सभासदको टोलीले पनि सरकारको निर्णय कार्यान्वयन गर्न माग गर्दै भुमिसुधार मन्त्रालयमा ज्ञापनपत्र बुझाएको दबाब समितिले जनाएको छ । ‘जनताको चाहनाअनुरुप सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छौं, उक्त निर्णय १० दिनभित्र निर्विवाद कार्यान्वयन नभए आम धरानबासीको अधिकारमाथि कुठाराघात भएको हुनेछ र थप सशक्त आन्दोलनको कार्यक्रम सञ्चालन गर्नेछौं’–एमाले उपाध्यक्ष एवं दबाब समितिका सदस्य नारायण सुवेदीले भने–‘आजै राजधानीमा रहेका तीन सभासद ज्युहरुमार्फत पनि भुमिसुधार मन्त्रालयमा निर्णय कार्यान्वयनको माग गर्दै ज्ञापन पत्र बुझाएका छौं ।’
दबाब समितिका अनुसार उप संयोजक रहेका धरान क्षेत्रका समानुपातिक सभासदहरु अनिता परियार,मिन विश्वकर्मा र आर.के.खम्बूले मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । धरानमा भने दबाब समिति संयोजक एवं सुनसरी क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सभासद कृष्णकुमार राईले इलाका प्रशासनका प्रमुख सिताराम कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउनुअघि नाराबाजी गर्दै पुगेको टोलीले केहीबेर प्रशासन कार्यालय परिसरमा घेराऊ गरे । उनीहरुले धरानमा मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन गर भन्ने नारा लगाएका थिए । ज्ञापन पत्र बुझाईसकेपछि प्रशासन कार्यालयअघिको सडकमा कोणसभा गर्दै केहीबेर बन्द पनि गराएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै संयोजक एवं सभासद राईले जनतालाई घरदैलोमा सहजरुपमा सेवा पुर्याउने सरकारको निर्णयलाई कुनै पनि क्षेत्रले आफ्नो भाग खोसेको जस्तो नठान्न आग्रह गरे । लोकतन्त्रमा सहजरुपमा सरकारी सेवा पाउनु जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले सदरमुकाम केन्द्रीत कार्यालयलाई धरान र जिल्ला उत्तरी क्षेत्रको जनताको हित हुने गरि सरकारले निर्णय गरेको बताए ।
..............................

                  निर्णय कार्यान्वयन गर्न कांग्रेस क्षेत्रीय समितिको माग

धरान उपमहानरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने सरकारको निर्णय हुबहु लागु गर्न नेपाली कांग्रेस क्षेत्र नम्बर १ सुनसरीले माग गरेको छ । क्षेत्रीय समितिका कार्यवाहक सभापति सुरेशमान श्रेष्ठ र सचिव सुजेन्द्र तामाङले सोमबार एक विज्ञप्ति जारी गरी धरानमा सेवा शुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको अवस्थामा इनरुवाका केही विचौलिया, व्यवसायी, लेखन्दास तथा संर्किण विचार बोकेका राजनीतिकर्मीको फोहोरी खेलले अवरुद्ध भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारको निर्णय स्थगन गर्न दबाब दिनेहरु विकास विरोधी भएको उल्लेख गर्दै विज्ञप्तीमा धरानबासीहरुको मागलाई वेवास्ता गरिरहे सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । संघीयतामार्फत सिंगो मुलुक विकेन्द्रिकरणतर्फ लम्किरहेको अवस्थामा आफनो ठाउँमा मात्रै सम्पूर्ण सेवा, सुविधा र विकास हुनुपर्छ भन्नु दरिद्र र केन्द्रिकृत सोच भएको विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच, क्षेत्रीय समितिको एक प्रतिनिधि मण्डलले कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य डा. शशांक कोइरालासँग भेट गरेर नेपाल सरकारको गत साउन ९ गतेको निर्णय बमोजिम धरानमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय तत्काल कार्यान्वय गराउन माग गरको छन् । यसको लागि प्रधानमन्त्री एवम् पार्टी सभापति शुसील कोइरालाको ध्यानाकर्षण गराउन नेता कोइरालालाई आग्रह गरेको क्षेत्रीय सचिव सुजेन्द्र तामाङले जानकारी दिए ।
नेता कोइराला सोमबार सुनसरीको हरिनगरास्थित नेपाल जुनियर रेडक्रसको स्वर्ण जयन्तीको अवसरमा रेडक्रसको जिल्ला शाखाद्धारा आयोजित वृहत स्वास्थ्य शिविरमा आएका थिए । उक्त शिविरमा कांग्रेस १ नम्बर क्षेत्रीय सचिव सुजेन्द्र तामाङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेता कोइरालासँग भेट गरेको थियो । नेता कोइरालाले निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय एवम् निकायलाई निर्देशन दिन प्रधानमन्त्रीलाई भेट गरेर आग्रह गर्ने बताएको सचिव तामाङले जनाएका छन् । प्रतिनिधि मण्डलमा महाधिवेशन प्रतिनिधि उमेश थापा, क्षेत्रीय सदस्यहरु मुरारीप्रसाद भट्टराई, सागर प्रसाई, प्रेमकुमार राई, १६ नं. नगरवडा सभापति गोविन्द बस्नेत लगायत थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे