चतरा पुलमा अख्तियारको चासो,समयै काम सक्न निर्देशन


धरान । ढिलाई भइरहेको चतराघाटस्थित सप्तकोशी नदीमाथि निर्माणाधिन पुलमा चासो दिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । अख्तियारको पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले सोमबार चतराघाटस्थित निर्माणाधिन पुलको स्थलगत निरीक्षण एवं जानकारी लिदै निर्माण कम्पनिलाई तोकिएको समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
तीन लाख भन्दा माथिको विकास निर्माणका योजनाहरुमा हुने ढिलाई, भ्रष्टाचार एवं गुणस्तरहीन कामलाई निरुत्साहित गर्ने नीति वमोजिम पनि अख्तियारले निर्माणाधिन चतरा पुलको निरीक्षण गरेको जनाएको छ । अख्तियारका क्षेत्रीय प्रमुख बस्नेतले चतरा पुल राष्ट्रिय गौरवको योजना भएकोले गम्भीर चासो दिदै हालसम्मको कामको प्रगति विवरण लिएर तोकिएको समयमा निर्माण सक्न निर्देशन दिएको बताए । ‘काम राम्रो होस,भ्रष्टचार नहोस भनेर अख्तियारले तीन लाख बढीको विकास निर्माणको फेहरिस्त मागेका छौं, काम गर्दा कुनै समस्या भए सहयोग पनि गछौं’–अख्तियारका क्षेत्रीय प्रमुख बस्नेतले भने–‘यो पुल राष्ट्रिय गौरवसँग जोडिएको छ, त्यसैले समयमा सम्पन्न होस, गुणस्तरमा कुनै कमीकमजोरी नहोस् भनेर अनुगमन गरिएको हो ।’
सुनसरीको बराहक्षेत्रस्थित चतराघाट र उदयपुरको मैनामैनी जोड्ने यो पुल पूर्वी नेपाललाई पश्चिम र राजधानीसँग जोड्ने एकमात्र कोशी ब्यारेज(पुल)को विकल्पमा बन्दै गरेको हो । २६१.३ मिटर लामो यो पुल चतरा बजारदेखि अढाई किलोमिटर उत्तरमा पर्छ । यो पुल कालिका कन्ट्रक्सन जेभिले ठेक्का पाएको छ । सन् २०११ मा सम्झौता हुँदा सन् २०१४ मार्चभित्र निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा थियो । तर, सम्झौतापछि पुलको डिजाइन परिवर्तन गर्नुपरेकोले निर्माण कार्य र सम्पन्न गर्नुपर्ने समयअवधि पछि सरेको निर्माण कम्पनीको भनाई छ । ‘सन् २०११ म सम्झौता भएपछि काम २०१२ देखि मात्रै शुरु भयो, त्यसैले निर्माण सम्पन्नको समयसिमा पनि थपिएको छ’–कम्पनीको आयोजना प्रमुख छत्रबहादुर अर्यालले भने–‘मे २ सम्म निर्माण कार्य सक्ने र जुन २ भित्रमा हस्तान्तरण गरिसक्ने गरि समयअवधि थपिएको छ ।’
कम्पनीको आयोजना प्रमुख अर्यालले कुनै प्राकृतिक विपत्ति नआए तोकिएको समयसिमाभित्रै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गरे । उनका अनुुसार हालसम्म पुलको भौतिक कार्य ७५ प्रतिशत सम्पन्न भइसकेको छ । चतरा पुल योजनामा नेपाल सरकार र एसियाली विकास बैंकको लगानी छ । पुलको कुल लागत ७९ करोड ३४ लाख रुपैया हो । ‘कुनै विपत्ति आइलागेन भने तोकिएको समयभित्रै पुलको काम सकिन्छ र जुनमा हस्तान्तरण पनि भइसक्छ’–अर्यालले भने ।
०६४ मा सप्तकोशी नदीले पुर्वी तटबन्ध भत्काएर दिशा परिवर्तन गर्दा महेन्द्र राजमार्ग बगेर यातायात ठप्प भएपछि सरकारले चतराघाटमा फेरी सञ्चालन गरेर यातायात सुचारु गरेको थियो । त्यतिबेला कोशी पुलमा बैकल्पिक पुल निर्माण गर्नुपर्ने आवाज चर्कोरुपमा उठेको थियो । चुरेभावरलाई जोड्ने बैकल्पिक बाटो(धरान–चतरा–हेटौडा)को अवधारणापछि कोशी ब्यारेजको विकल्पमा पुल बनाउन थालिएको हो । मधेश आन्दोलनको क्रममा पनि पूर्वपश्चिम राजमार्ग ठप्प हुदा बैकल्पिक मार्गको आवाज उठेको थियो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे