आजदेखि १७ औं बुढासुब्बा रेडबुल गोल्डकप, उद्घाटनमा आयोजक र लिस्नु भिड्दै

धरान । मोफसलको प्रतिष्ठित बुढासुब्बा रेडबुल गोल्डकपको १७ औं सँस्करण आज शनिबारदेखि शुरु हुदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबको टिम र रुपन्देहीको लिस्नु क्लब भिड्दैछन् । फागुन २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १७ औं सँस्करण आइपुग्दासम्म आयोजकले एक पटक पनि उपाधि जित्न सकेको छैन ।
गत सँस्करणमा उपाधि जित्ने लक्ष्यसहित राष्ट्रिय खेलाडीलाई मैदानमा उतारेको आयोजकको यात्रा सेमीफाइनलमा नै टुंगिएको थियो । यो पटक पनि उपाधि उचाल्ने लक्ष्यसहित आयोजक मैदानमा उत्रदैछ । प्रतिद्धन्दी लिस्नु क्लब रुपन्देहीको जिल्ला लिग च्याम्पियन भएपनि ठुलो प्रतियोगिताको अनुभव नभएको फाइदा आयोजकलाई हुनसक्छ । तर, जिल्ला च्याम्पियन भइसकेको र राजधानीको खेलाडीसहित मैदानमा उत्रने लिस्नुलाई कमजोर आँक्नु आयोजकको भुल हुनेछ ।
लामो इतिहास भएपनि राष्ट्रियस्तर(ठुलो) प्रतियोगितामा लिस्नुको यो पहिलो सहभागीता हो । लिस्नुसँग करिब डेढ महिनाअघि जिल्ला लिग च्याम्पियन बनेको हौसला छ भने ३ नाइजेरियन र राजधानीका ए डिभिजन क्लबका खेलाडी पनि छ । लिस्नुका टिम मेनेजर कृष्ण गुरुङका अनुसार भिक्टर, एल्भीस र लावल तीन जना नाइजेरियन क्लबबाट मैदानमा उत्रदैछन् भने थ्री स्टारका पूर्व राष्ट्रिय खेलाडी अनिल ओझा, जावलाखेल क्लबका कप्तान जग्गुनाथ खड्का, सुरज थिङ र राजु योगीजस्ता खेलाडीको साथ मैदानमा हुनेछ । ‘हामी पहिलो पटक सहभागी हुदैछौं, यति ठुलो प्रतियोगितामा खेल्न पाउनु नै उपलब्धी पनि हो’–क्लबका प्रशिक्षक यम आले भन्छन्–‘हाम्रो सबै राम्रा खेलाडी छन्, लक्ष्य खेल जित्ने नै हो ।’
मैदानमा ४–३–३ को फर्मेटमा उत्रने क्लबले विपक्षीको खेल अनुसार परिवर्तन गर्नेछ । रक्षात्मकबाट आक्रमक शैलीमा टोली प्रस्तुत हुनसक्ने मेनेजर गुरुङले बताए । ‘शुरुमा रक्षात्मक खेल्छौं, नयाँ ठाउँमा विपक्षीको खेलस्तर र रणनीति हरेर हाम्रो खेल परिवर्तन हुन्छ’–उनले भने । लिस्नु क्लब अस्तित्वमा आउनुअघि रुपन्देहीमा ०३६ सालमा सनराइज युवा क्लबको नाममा युवाहरु फुटबल गतिविधिमा थिए । उक्त क्लब सुस्ताएपछि ०५७ सालमा पुनः लिस्नु क्लब स्थापना भएको थियो । यो क्लबले बर्षेनी लिस्नु कपको आयोजना गर्दै आइरहेको छ ।

आयोजक भने चार पटकसम्म फाइनल पुगेपनि उपाधिविहिन हुनपरेको इतिहासलाई मेटाउने गरि मैदानमा उत्रदैछ । थ्री स्टारका विष्णु सुनार, निराजन खड्का, सरोज दाहाल, प्रकाश बुढाथोकी, विजय धिमाल र हाल मोरंग फुटबल संघबाट राष्ट्रिय लिग खेलिरहेका मनिष घले आयोजकबाट खेल्दैछन् । यसबाहेक नेपाली फुटबलमा अनुभवी अफ्रिकन खेलाडी आबा, पिटर र गोही पनि टिममा भएकोले आयोजकमा उपाधि जित्ने महत्वकांक्षा छ । गत सँस्करणमा जुनियर टिम धरान एकेडेमीबाट खेलेका शशीचन्द्र र्रा र असित तामाङले सिनियरबाट डेब्यु गर्नेछन् । ‘रुपन्देही पनि राम्रो टिम छ, लिग खेल्दै गरेको र अफ्रिकन खेलाडी पनि भएकोले हामीले कमजोर आँकेको छैनौं’–आयोजकका प्रशिक्षक सुभाष केसीले भने । प्रशिक्षक केसीका अनुसार ४–५–१ को फर्मेटमा टिम मैदानमा उत्रनेछ । शुरुवाती आधा घण्टाभित्र गोल भएन भने रणनीति परिवर्तन हुनेछ ।
स्ट्राइकरको जिम्मा गोहीलाई हुनेछ भने मिडफिल्डमा निराजन, पिटर, आबा, शशीचन्द्र र प्रकाशले सम्हाल्नेछन् भने डिफेन्समा मनिष, विष्णु, सरोज र विजय खेल्नेछन् । आयोजकले एक महिनादेखि कडा प्रशिक्षण गराईरहे पनि थ्रि स्टारका खेलाडीहरु शनिबार सिधै मैदानमा देखिने हुनाले तालमेल नमिल्ने हो कि भन्ने चिन्ता आयोजकलाई छ । चर्चित राष्ट्रिय खेलाडी समावेश भएपनि गत सँस्करणमा सेमीफाइनलमा यात्रा टुंगिएकोले त्यही नियति दोहोरिने आकांका पनि छ । बुढासुब्बामा आयोजक ०५५ को पहिलो सँस्करण, ०५६ को दोस्रो सँस्करण, ०५८ को चौथो सँस्करण र ०६२ को आठौं सँस्करणमा फाइनल खेलेपनि उपाधिबाट बञ्चित हुदा घरेलु दर्शक निराश छन् ।
प्रतियोगितामा भारत कलकत्ताको बेलगरिया स्पोर्टिङ क्लबसहित विभिन्न ८ वटा टिमले सहभागीता जनाएको छ । सहभागी टिममा आयोजक, रुपन्देहीको लिस्नु क्लब, त्रिभुवन आर्मी क्लब, पोखरा ११ कास्की, सशस्त्र प्रहरीको एपिएफ, झापाको मुनाल क्लब र मनाङ मस्र्याङ्दी क्लब रहेको छ । पहुना टोली बेलगरिया पहिलो सँस्करणको विजेता हो भने झापाको मुनाल, पोखरा ११ र रुपन्देहीको लस्नु क्लबले बुढासुब्बामा पहिलो पटक सहभागीता जनाएको हो । फागुन २३ मा हुने फाइनलको विजेताले नगद ३ लाख ६० हजार र उपविजेताले नगद १ लाख ८० हजार पाउनेछ । उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल दिइनेछ ।
....................
                                                 

                                          क्लबलाई जर्सी हस्तान्तरण


धरान ९, पुतलीलाइनस्थित मेहर्स कलेक्सनले बुढासुब्बा रेडबुल गोल्डकपको आयोजक टिमलाई २० थान जर्सी र स्टकिङ प्रदान गरेको छ । आयोजक क्लबले शुक्रबार आयोजना गरेको अन्तिम पत्रकार सम्मेलनमा मेहर्स कलेक्सनका प्रबन्ध निर्देशक मेहरलाल श्रेष्ठले क्लबका अध्यक्ष राईलाई जर्सी हस्तान्तरण गरेका थिए । धेरै अघिदेखि नै क्लबलाई सहयोग गर्दै आएका श्रेष्ठले गत सँस्करणदेखि भने धरानको जर्सी बिक्री हुदा एउटा जर्सी वापत एक सय रुपैया फुटबल क्लबलाई दिने घोषणा गरेका थिए । यसपाली २ सय वटा जर्सी तयार गरेको जानकारी दिदै श्रेष्ठले बिक्री भएपछि रकम क्लबलाई दिने बताए । एउटा जर्सीको ६ सय रुपैया पर्छ ।
सोही अवसरमा श्रेष्ठले खेलकुद क्षेत्रमा रिपोर्टिङ गरिरहेका १५ जना पत्रकारहरुलाई पनि एक एक थान जर्सी प्रदान गरेका थिए । क्लबका अध्यक्ष राईले बुढासुब्बालाई निरन्तरता दिलाउन मेहर्स कलेक्सनको पनि ठुलो भुमिका रहेको बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे